दाङ तुलसीपुरको पर्सेनीस्थित कालोखोलामा विगतमा शिवरात्रिका अवसरमा सालिन्दा ठूलो मेला लाग्थ्यो। जसलाई भोटे मेला भनिन्थ्यो।
हिमाली भेग हुम्ला, जुम्लासम्मका मानिसहरू (भोटेहरू) घोडा लिएर मेलामा आउँथे।
उनीहरू जाडो छल्न पुस माघमा दाङमा आउँथे। महिनौं लगाएर उनीहरू यो सफर पूरा गर्थे। कालोखोलाको भोटे मेलाका भोटेहरू घोडा दौडाउँथे।
सबभन्दा राम्रो दौडने घोडा खरिद गर्न साहु महाजन र जमिन्दारबीचमा हानथाप चल्थ्यो।
हिमाली भेगका मानिसहरू (जुम्ली, भोटेहरू) राडी, पाखीदेखि औषधीय गुण भएका जडिबुटीहरू ल्याएर बेच्ने गर्थे। भोटे मेला हिमाल, पहाड र तराईको संगम स्थल थियो। वर्षदिनपछि बिछोडिएका मानिसहरू यही बेलामा भेटिन्थे।
छिमेकी देश भारतको तुलसीपुरबाट व्यापारीहरू मेलामा सरसामान बेच्न आउँथे। मुख्यगरी उनीहरू नुन, तेल, मट्टीतेलको व्यापार गर्थे। भेली (गुरू) मिठाइको पनि उत्तिकै व्यापार हुन्थ्यो। जेरी समोसा खुबै खपत हुन्थ्यो।
दंगाली र आसपासका पहाडी जिल्लाहरू रोल्पा, सल्यान, रुकुमका मानिसहरू कृषि उपजहरू बेच्थे।
ऐतिहासिक भोटे मेला पछिल्लो समय माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुग्दै गर्दा बन्द हुन पुग्यो। स्थानीय प्रहरी प्रशासनले नै सुरक्षाको कारण देखाउँदै २०५६ सालदेखि भोटे मेलामा प्रतिबन्ध लगायो। त्यसपछि फेरि गत वर्षदेखि भोटे मेला ब्युँताउने प्रयास थालिएका छन्।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को वडा कार्यालयले स्थानीय संघ/संस्था र क्लबहरूको आयोजनामा मेला लगाउन सुरू भएको छ।
मेलाको उद्घाटन गर्दै नेपाली कांग्रेसका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य डिल्ली बहादुर चौधरीले पनि भोटे मेलालाई हिमाल, पहाड र तराईका जनतालाई विगतमा जोड्ने संगमस्थलको संज्ञा दिए।
उनले विगतमा आफू भोटे मेला आउँदा २५ पैसा लिएर आउने गरेको बताए।
‘त्यो पच्चिस पैसा पनि सस्तो हुन्थ्यो,’ उनले भने।
भोटे मेला ब्युँताउने प्रयास स्वरूप स्थानीय किसानले सामान ढुवानीका लागि प्रयोग गरिने घोडाहरू जम्मा गरी दौडाउने प्रयास पनि जारी छ।
यो वर्ष पनि बुधबार मेला सुरू भएको दिनमै त्यो प्रयास गरियो।
तर, पहिलेको भोटे मेला र अहिलेको ब्युँताउन खोजिएको मेलाका बीचमा धेरै भिन्नता देखिएका छन्।
विगतमा लाग्ने भोटे मेलामा प्रवेश गर्न कसैलाई रोकटोक थिएन। नि:शुल्क र खुला प्रवेश हुन्थ्यो। व्यापार गर्न आउनेहरू कसैलाई पनि रोकटोक थिएन।
खुलारूपमा आफूले छानेको ठाउँमा पसलहरू थाप्थे। खुला प्रतिस्पर्धाका आधारमा सामान बेच्थे।
उखु, बदाम, चुक, तरुल, सकरखण्ड, कागती, अमिलाजस्ता कृषि उपज पनि मेलामा किनबेच हुन्थ्यो।
आज मेलास्थल वरिपरि जस्तापाताले घेरिएको छ। स्टलहरू राखिएका छन्। प्रत्येक पसल सञ्चालकबाट हजारौं शुल्क असुलिन्छ।
मेला भनिए पनि सर्वसाधारण आफूखुसी आवातजावात गर्न पाउँदैनन्। सर्वसाधारणको लागि प्रवेश शुल्क तोकिएको छ। पहिला मेलास्थलमा लिंगे र रोटे पिङहरू हुन्थे। तर, आज भारतबाट ल्याइएका मौतका कुवा र विभिन्न खाले पिङहरू छन्।
केटाकेटीका बीचमा खुला रूपमा नाचगान र दोहोरी गीतहरू चल्थे। त्यो दिनरात पनि चल्थ्यो। त्यसमा हिमाल, पहाड र तराईका लोक भाका घन्किन्थे। सफलता, पीडा र भोगाइहरू छल्किन्थे।
आज ब्युँताउन खोजिएको भोटे मेलामा चर्को स्वरमा डिजे घन्किरहेका छन्। ठूला–ठूला माइकहरुले चौतर्फ चर्को ध्वनी प्रदूषण गरिरहेका छन्। चलेका भनिएका भाडामा ल्याएर कलाकारहरू गीत तथा नृत्य प्रदर्शन गर्छन्।
उतिबेला मेलास्थल विशाल थियो। आज अतिक्रमणको चपेटामा परेर बगरमा सीमित छ।
पुरानो मेला लाग्ने स्थलमा आज व्यक्ति विशेषका निजी र कंक्रिट संरचना ठडिएका छन्।
मेला लाग्ने मुख्य ठाउँमै शवदाह स्थल निर्माण गरिएको छ। त्यसैले मेला आयोजकहरूले मेला अवधिभर कसैको मृत्यु भए पनि त्यहाँ अन्त्येष्टिका लागि नल्याउन खबरदारी गरिसकेका छन्।
मेला लगाउनकै लागि सामुदायिक विद्यालय अमर मावि कालोखोला ६ दिनसम्मका लागि बन्द गरिएको छ। अर्को एउटा बोर्डिङ स्कुलले कोलाहलका कारण विद्यालय सञ्चालन गर्न नसक्ने भएपछि बिहान भर परीक्षा सञ्चालन गरिरहेको छ।
स्थानीय पुराना मानिसहरू पनि भोटे मेला ब्युँताउनुपर्छ भनिरहेका छन्।
‘तर, यस्तो रूपमा हैन, कम्तिमा पहिलेझैं भोटे मेलाको मर्म त झल्किनु पर्यो नि,’ स्थानीय रामु वादीले भने, ‘यो माइकहरू लगाएर भइरहेको हल्ला खल्ला र मेलामा प्रवेशको प्रतिबन्ध लगाउनु गलत हो।’
डिल्लीबहादुर चौधरी पनि कालोखोला भोटे मेलामा देशभरिका घोडाहरू ल्याएर दौड प्रतियोगिता गर्न सके त्यसले पर्यटन प्रवर्द्धनमा ठूलो टेवा पुग्ने तर्क गरे।