दंगीशरण गाउँपालिका, गोलटाकुरीका छविलाल नेपालीलाई करिब २० वर्ष पुरानो घटनाले बेलाबेला झस्काइरहन्छ। आङ सिरिङ्ग हुन्छ। हातखुट्टा चिसा हुन्छन्। मुटु ढुक्क फुल्छ।
हलो बनाउने काठ काट्न वन गएका बेला उनी नेपाली सेनाको निसानामा परेका थिए।
यो २०५९ साल, साउन १६ गतेको कुरा हो।
साउनको महिना भए पनि त्यो दिन गोलटाकुरीको उक्त टोलमा धान रोप्ने सुरसार थिएन। मध्य साउनसम्म खडेरी नै थियो। खेतमा काम थिएन। स्थानीय फुर्सदिला थिए। बरू हलो-जुवा बनाउने काठ काट्न तिलकन्या सामुदायिक वन जाने भनेर छविलालका आफन्त तथा गाउँलेका बीच सल्लाह भयो।
बेलुकै उनीहरूले भोलिका लागि खाजा, रोटी पकाए। बिहान घाम नउदाउँदै छविलालसहित १३ जनाले रूख काट्न चाहिने घरेलु हतियार खुकुरी, बञ्चरो भिरे। खाजाको पोको बोकेर जंगलतिर लागे।
गोल्टाकुरी गाउँ पहाडको ठीक मुन्तिर छ। सम्मुख दक्षिणमा अजंगको चुरे पर्वत शृंखला। सबभन्दा अग्लो भाग राजाकोट टावर हो। उनीहरू आफ्नै सुरमा जंगलमा सुखदुःखका कुरा गर्दै हिँडिरहेका थिए। सिधै उकालो चढिरहँदा थकाइ लागेर एकछिन सुस्ताउन बसे।
जंगलको बीच भागमा पुग्दा बिहानको करिब सात बजेको थियो।
अकस्मात त्यहाँ चार जना सुरक्षाकर्मी हतियार सोझ्याउँदै आए। उनीहरू राजाकोट टावर सुरक्षाका लागि खटिएका रहेछन्। पहाड उक्लिरहेका गाउँलेलाई देखेपछि उनीहरू गौंडा ढुकेर बसेका रहेछन्। गाउँलेलाई सुरक्षाकर्मीले घेरा हाले। निहत्था र निर्दोष गाउँले कसैले भाग्ने प्रयास गरेनन्। अलमल्ल परे।
'सुरूमा त हामी डराएका पनि थिएनौं। किनभने हामी माओवादी थिएनौं नि त,' अहिले भने त्यो समय सम्झिँदा ५० वर्षीय छविलालको अनुहारमा अलिअलि डरका रेखा अझै देखिन्छ।
माओवादीले चलाएको सशस्त्र द्वन्द्वको समय थियो। माओवादीले टावर खोजीखोजी हमला गर्थे। उनीहरू राज्यको सञ्चारसंयन्त्र ध्वस्त पार्दै हिँडेका थिए।
'सेनाले हामी दाउरा काट्न गएका गाउँलेलाई घेरामा पारे,' छविलालले भने, 'हामी १३ जनालाई पहाडको टुप्पोमा रहेको टावरतिर लैजान थाले।'
बन्दुकको अगाडि कसको के लाग्छ?
छविलाल र उनका साथी सुरक्षाकर्मीले सोधपुछ गरेर छाड्लान् भन्ने आश गरेर खुरूखुरू हिँडे। हिँड्दै सुरक्षाकर्मीलाई उनीहरूले आफूहरूको परिचयसहित जंगल पस्नुको उद्देश्य स्पष्ट पारे। उनीहरू सबै ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्नेहरू थिए। आफ्नो गरिबी, आफ्नो बाध्यताका कथा पनि सुनाए।
'तर सुरक्षाकर्मीले तिमीहरू माओवादी हौ, दिनभर डुल्छौ र राति घर फोर्छौ भन्ने आरोप लगाउन थाले,' छविलालले सम्झिए।
उनका अनुसार सेनाले राजाकोट टावरभन्दा करिब दुई किलोमिटर पूर्वतिरबाट टावरको फेदमा उनीहरूलाई पुर्याए। त्यसपछि उत्तर र पूर्वका गौंडामा दुई जना सेन्ट्री बसे। केही माथि बसेका दुई जना सुरक्षाकर्मीले टावरबाट थप सहयोग मागे।
'लौ यहाँ आतंककारीहरू टावर हान्न आएका छन्, छिट्टो यहाँ आऊ भन्दै अरू सुरक्षाकर्मीलाई बोलाए,' उनले भने। टावरबाट थप सहयोग आउन थाल्यो।
छविलाल र उनका साथी त्यो सबै सुनिरहेका थिए। मनमा अब चाहिँ अलिअलि चिसो पस्न थाल्यो। उनीहरू आफूहरू आतंककारी नभएको भनिरहे। काठ लिन वन आएको सुनाइरहे।
तर, सुरक्षाकर्मीले उनीहरूको अनुनय-विनय सुनेर पनि नसुनेझैं गरे। बरू लाइनमा उभिन लगाए। दुई जनामध्ये एकले उनीहरूका कपडा खोल्न लगाए। अनि उनीहरूकै सर्टले धमाधम आँखामा पट्टी बाँध्न थाले। अर्का एक सेनाले नाम, ठेगाना सोध्दै टिप्न थाले।
६/७ जनालाई पट्टी बाँधिसकेपछि सर्ट फुकाल्ने पालो छविलालको आयो। उनले पनि अरूले झैं खुरूखुरू आदेश पालना गरे। सर्टको एकएक टाँक कामेका हातले विस्तारै खोल्दै थिए। सर्टका टाँकसँगै उनको दिमाग पनि फनफनी घुम्यो।
'मेरो मन बिरंगै भयो। सबैतिर अन्धकारै थियो,' छविलालले सम्झिए।
पसिनाले निथ्रुक्क भइसकेका उनले आफूहरू उभिएभन्दा ५/६ हातअघि एउटा खोला देखे। कसैले केही सोच्नै नभ्याइ छविलालले एकाएक त्यही खोलामा हाम फाले।
'पश्चिमतर्फ सेन्ट्री बसेकाले ए भाग्यो, गोली हान भन्यो,' उनले भने, 'पूर्वतिरबाट गोली चल्यो।'
दुई फायर उनको ज्यानलाई तर्साउँदै वरिपरिबाट गए। उनलाई लागेन। उनी खोलामा छातीले टेक्दै ढुंगासँगै घस्रिँदै झरे। चप्पल त हाम्फाल्ने ठाउँमै छोडिए। खोलैखोला घिस्रिँदै, लुडिबुडी गर्दै तलतिर झर्ने क्रममा सर्ट कता खस्यो, उनलाई पत्तै भएन। जिउमा एउटा गन्जी र कट्टू मात्रै थियो।
छाँगो छहरा, पहरामा ठोक्किएर रक्ताम्मे भएका छविलाल खोलैखोला अलि तल आइपुगे। त्यही जंगलमा खेल्दै हुर्केबढेका उनलाई नौलो लागेन। एउटा गोरेटो फेला परे पनि बाटोमा पस्न डराए। खोलो नछाडी हिँडेका उनी कलम खोला आइपुगे। त्यो खोला तरेर पश्चिमको रातो डाँडो पुगे जो बबई नदी नजिकै थियो। त्यहाँदेखि गोलटाकुरी प्रहरीचौकी नजिकैको मधरया गाउँ पुगे। त्यसपछि बबई नदी किनार।
यहाँसम्म आइपुग्न उनलाई झन्डै एक घन्टा लाग्यो। छविलालका अनुसार त्यतिखेर बढीमा करिब बिहानको साढे ८ बजेको थियो।
त्यही बेला उनले माथि पहाडमा लगातार बन्दुक पड्केको सुने। उनले लामो सास फेरे।
'भट्टे बन्दुकको आवाज सुनेपछि सबैलाई मार्यो भन्ने लाग्यो,' छविलालले सुनाए।
साथीहरूले ज्यान गुमाएको सम्झिँदै छविलाल आत्तिए। गोलटाकुरीस्थित उनको टोल जान थप पूर्व जानु पर्थ्यो। उनी ढकना गाउँ पुग्दा उनले चिनजानका मानिस भेटे। आफन्त भेटिए। अनि सबै घटना विस्तार लाए।
छविलाल होस-हवास उडेझैं भइसकेका थिए। उनीभन्दा पहिल्यै गाउँमा खबर पुगिसकेको रहेछ। आफन्तहरू आँखामा झिनो आशा बोकेर रोइरहेका थिए।
तर साँझ पाँच बजे यो आशा पनि आँशुसँगै बगेर गयो। रेडियोले सामाचार भन्यो, 'राजकोट टावरमा घरेलु हातहतियारसहित आक्रमण गर्न आएका १२ जना आतंककारी मारिए।'
२०५९ साल, साउन १६ गते नेपाली सेनाले गोलटाकुरीका १२ निहत्था नागरिकलाई गोली हानेर मारेको थियो।
ज्यान गुमाउनेमा ३८ वर्षीय भूपाल, २२ वर्षीय रमेश, १९ वर्षीय मंगल, १७ वर्षीय जोगबहादुर, ४० वर्षीय रामप्रसाद, २८ वर्षीय रमेश र उनीहरूकै दाजुभाइ खलकका अर्का एक युवा थिए। यी सात जना एउटै दाजुभाइका छोरा थिए। भूपाल, मंगल र रमेश त सहोदर दाजुभाइ नै भएको उनीहरूका कान्छा भाइ सुरेस नेपालीले बताए।
त्यस्तै त्यो दिन सेनाबाट मारिने अरू पाँच जना, २४ वर्षीय सोमराज, ४६ वर्षीय निपबहादुर, ४४ वर्षीय रामला र देवीराम नेपाली र तुलसीपुर फूलबारीका ५० वर्षीय लखन कामी थिए। लखन आफन्तको घर गएका बेला वनमा जाने कुरा भएपछि सँगै गएका थिए।
यो भयानक मृत्युको मुखबाट छविलाल उम्किएका थिए। यो घटनाको चार दिनसम्म उनी घरभित्रै लुकेर बसे। उनको अवस्था यस्तो थियो, न निदाउन सक्थे, न खान।
त्यहीबीच छविलाललाई खोज्दै सुरक्षाकर्मी गाउँ र घरमै आउन थाले।
'खै छविलाल' भन्दै अनाहकमा केही गाउँलेलाई सुरक्षाकर्मीले निर्घात कुटपिट गरे। बन्दुकका नाल कञ्चटमा राखेर धेरैलाई आतंकित बनाए। कतिलाई छविलाल देखा भन्दै ज्यान मार्ने धम्की दिए। सेनाकै डरले एक जनाले गाँवै छाडेर गए।
सेना-प्रहरीबाट जोगाउन त्यतिखेर गाउँकै मानिसले छविलाललाई शरण दिएका थिए।
'उहाँको तत्कालीन अवस्था अर्धचेतजस्तै थियो,' एक गाउँलेले भने, 'उहाँ रातभर झ्यालमा बसेर सेना-प्रहरी आउँछ कि भनेर हेर्नुहुन्थ्यो।'
घटनाको पाँचौं दिन उनी फूलबारीको पहरूवास्थित आफन्तको घरमा शरण लिन पुगे। त्यसको एक महिनापछि छिमेकी देश भारत पुगे। त्रासकै कारण चार वर्ष उतै बसे।
२०६३ सालतिर नेपालमा शान्ति प्रक्रिया लगभग सुरू भइसकेको थियो। छविलाल घर फर्किए। आइपुगेको खबर पाउनासाथ सेना र प्रहरी उनलाई खोज्दै घरै आए। उनीसँग सामान्य सोधपुछ गरे, फर्किए।
छविलालले चार वर्षमा बल्ल निर्धक्क सास फरे।
'अहिले बोनसको जीवन बाँचिरहेको छु जस्तो लाग्छ,' उनी भन्छन्।
त्यो दिन वनमा हत्या गरिएका १२ जना सबै उनका आफन्त थिए। सपना-विपनामा त्यो घटनाले अहिले पनि बेलाबखत तर्साउँछ। छविलाल चाहेर पनि त्यो दिन बिर्सिन नसक्ने बताउँछन्।
योभन्दा बढी उनलाई आफन्तले लगाउने अरोपले पोल्छ।
'उहाँहरू आज पनि मलाई तँ भागिस् र हाम्रा छोराहरू मारिए, तँ नभागेको भए कोही मर्ने थिएनन् भन्नुहुन्छ,' छविलालले भने, 'म नभागेको भए म पनि मारिने थिएँ। बरू मजस्तै अरू पनि भाग्न सकेको भए बाँच्थे होला।'
सामूहिक हत्यापछि १२ जनाको शव सुरक्षाकर्मीले जंगलमै गाडिदिएका थिए। घर परिवारले शव पाएनन्, त्रासले काजकिरिया गर्न सकेनन्। द्वन्द्व थामिएपछि उनीहरूका परिवारले क्षतिपूर्ति भने पाएको घटनामा मारिएका तीन जना युवाका भाइ सुरेस बताउँछन्।
'शान्ति प्रक्रियाका बेला क्षतिपूर्ति पाएका थियौं। किस्ता-किस्तामा १० लाख जति पायौं होला,' सुरेसले भने।
छविलालको भने एकपटक पुनः घटनास्थल पुग्ने चाहना छ। मारिएका आफन्तको यादमा बह पोख्न चाहन्छन्। उसो त उनको छाती दुःखले पोल्दैन मात्र, सेनाको घेराबाट बच्न खोलामा हाम फाल्दा बजारिएको पनि थियो। बीस वर्षदेखि यसको दुखाइ पनि झेलिरहेका छन्। उच्च रक्तचापको औषधि पनि खान थालेका छन्।
छविलाल गाउँघरमै मजदुरी गरेर जीवन चलाउँछन्, झ्याल-ढोकादेखि कच्ची माटोका घर बनाउने काम गर्छन्। खेतबारीको उत्पादनले परिवारलाई तीन महिनाजति मात्रै खान पुग्छ। पाँच छोरी र एक छोरामध्ये दुई छोरीको बिहे भइसक्यो, अरू सानै छन्।
जीवन धान्न कठिन भए पनि त्रासमा बाँच्नु नपर्दा उनी खुसी छन्।
'अब गाउँमै श्रम गरेर बिताउने हो। शान्तिपूर्वक यहीँ ढुक्क साथ दुःख गरेर बाँच्ने,' उनले भने, 'फेरि त्यस्ता दिन कहिल्यै नआऊन्।'