भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित घरनजिकै विस्फोटक पदार्थले भरिएको गाडी राखेको घटनामा एक प्रहरी पक्राउ परेका छन्।
नेशनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए) ले शनिबार १२ घन्टा सोधपुछ गरेपछि मुम्बई प्रहरीका अधिकारी सचिन वेजलाई पक्राउ गरेको इन्डिया टिभी न्युजले जनाएको छ।
एनआइएका प्रवक्ताका अनुसार वेजलाई दक्षिण मुम्बइको चुम्बाला हिलबाट राति पौने १२ बजे नियन्त्रणमा लिइएको हो। गत फेब्रुअरी २५ मा अम्बानीको घरनजिकै जिलाटिन स्टिकले भरिएको एक गाडी फेला परेको थियो। उक्त गाडीमा धम्कीसहितको पत्र पनि भेटिएको थियो।
विस्फोटक पदार्थले भरिएको गाडी राखेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको एनआइएका प्रवक्ताले बताए।
अम्बानीको घरअगाडि भेटिएको गाडी हराएको भन्दै मन्सुख हिरन नामका व्यक्तिले प्रहरीमा उजुरी दिएका थिए। उनी मार्च ५ मा मृत फेला परेपछि यसको अनुसन्धान एनआइएले गर्न थालेको थियो।
मृतक हिरनकी श्रीमतीले उक्त गाडी गत नोभेम्बरमा वेजलाई दिएको बताएकी थिइन्।