गत वर्षको भ्यालेन्टाइन्स दिनका राति (फागुन २ गते) हत्या गरिएकी सल्यानकी १६ वर्षीया किशोरी कविता बोहोराको हत्या उनकै छिमेकी १६ वर्षीय किशोरले गरेको खुलेको छ।
जिल्ला प्रहरी कार्यालय, सल्यानले कविता हत्याको एक वर्षपछि मंगलबार पत्रकार सम्मेलन गरि हत्या गर्ने छिमेकी १६ वर्षीय किशोरलाई सार्वजनिक गरेको हो।
जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्द थापाका अनुसार त्रिवेणी गाउँपालिका-१, तल्लो काभ्राकी कविताको २०७६ फागुन २ गते राति धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। प्रहरीले उनको शव श्वासनली काटिएको अवस्थामा घर नजिकै फेला पारेको थियो।
प्रहरीले घटनाको प्रमुख कारण एकोहोरो प्रेमलाई मानेको छ।
प्रहरीका अनुसार स्थानीय जनता मा.वि. काभ्रामा कक्षा ९ मा पढ्ने कविताको सोही स्कुलमा कक्षा दसमा पढ्ने अर्कै किशोरसँग हेलमेल थियो। उनीहरू सँगै हिँडडुल गर्थे। ‘उनीहरूका बीचमा प्रेम छ र अब छिट्टै विवाह गर्छन्’ भन्ने चर्चा गाइँगुँइ चल्यो। यो कुराले कविताको घरभन्दा पाँच मिटर टाढाका सोही विद्यालयको कक्षा दसमा अध्ययनरत छिमेकी किशोरलाई साह्रै जलन भयो।
विगत दुई वर्षदेखि कवितालाई पछ्याउँदै आएका ती किशोरले अझैसम्म आफ्नो कुरा कवितालाई व्यक्त गर्न सकेका थिएनन्। तर चिठ्ठी लेखेर सुटुक्क कविताको झोलामा राखिदिन्थे। उनको जवाफ कविताले कहिल्यै फर्काइनन्। कवितालाई इम्प्रेस गर्न उनले अनेकौं प्रयास गर्न थाले।
ती केटाका परिवारले कविताको जग्गा अधिँयामा कमाउने भएकाले दुई घर बीच आउजाउ र सम्बन्ध राम्रै थियो। किशोर कविताको घरै गएर कामसमेत सघाउने गरेका थिए। उनकी दिदीका बच्चालाई चकलेट, चाउचाउलगायत खानेकुरा किनेर दिन्थे। तर कविताले ती किशोरको प्रेमलाई कहिलै स्विकारिनन्। उनलाई आशा थियो, ‘यो भ्यालेन्टाइन्स डेमा अवश्य मेरो प्रस्ताव स्वीकार गर्लिन्। मप्रति माया देखाउलिन्।’
तर भ्यालेन्टाइन्स डेमा कविताले केही भनिनन्।
राति ११ बजेतिर ती किशोर आफ्नो घरमा सुत्न खोजे। तर कविताले आफ्नै कक्षाका अर्को साथीलाई प्रेम गर्ने कुरा थाहा पाएपछि उनको आत्मा भतभति पोल्न थाल्यो। निदाउनै सकेनन्। ‘कविता मेरी हुन्न भने अरू कसैको पनि हुन दिन्नँ, बरू कविताको हत्या गरिदिन्छु’ भन्ने सोच बनाए।
तल्लो काभ्रामा मोबाइलमा नेटवर्कको समस्या छ। घरभित्र फोन लाग्दैन। मध्यराति भए पनि फोन वा एसएमएस गर्न कविता हरेक दिन घर बाहिर उचो डाँडोमा निस्कने र अरू आनीबानी किशोले थाहा पाएका थिए।
'आज भ्यालेन्टाइन्स डे भएकाले पक्कै कविता घरबाहिरै फोनमा व्यस्त होली' भन्ने सोचेर उनी भान्सा कोठामा राखेको खुकुरी निकालेर बाहिरिए। त्यसपछि घरनजिकै एउटा ढुंगामा खुकुरी उद्याए। खुकुरीसहित कविताको खोजीमा निस्किएका ती किशोरले उनले सोचे अनुरूप कवितालाई घरनजिकै डाँडोमा देखे। उनी बिरालाको चालमा कविता भएको ठाउँमा पुगे। कविता त्यतिबेला एसएमएस गर्न व्यस्त थिइन्।
उनले एकाएक कवितामाथि खुकुरी प्रहार गरे। टाउकोमा उल्टो पट्टीबाट लाग्यो। कविता एकपटक चिच्याइन् र डाँडोबाट तल बारीमा खसिन्। अनि ती किशोर त्यहीँ झरे। कविताको कपाल हातले समाते। अगाडि पट्टी (स्वासनली तर्फ)मा दुई पटक प्रहार गरे।
कविता छटपटाउन थालेपछि उनी खरकट्टीको बाटोहुँदै निस्किए। घर नजिकैको खोलामा पुगेर रगत लागेको खुकुरी पखाले। कपडामा लागेको रगत धोए। खुकुरीलाई पहिलेकै ठाउँमा राखे। रगत पखालेका कपडा घरको कुनामा (कोचेर) लुकाए।
बिहान ६ बजे उनकी आमाले ‘कविताको कसैले हत्या गरेको रहेछ जाऊँ हिँड्’ भनेपछि उनी आमासँगै घटनास्थल पुगे। त्यहाँ उनले केही थाहा नपाएझैं गरे। तर प्रहरीले उनीसहित ४ जनालाई शंका गरी अनुसन्धानका लागि नियन्त्रणमा राख्यो। सोही दिन बेलुका बाँकेबाट घटना अनुसन्धानका लागि कुकुर ल्याइयो। कुकुरले ती युवासहित चार जनालाई सुँघेर खरबारीहुँदै केही पर खोलासम्म पुग्यो। त्यसपछि कुकुर अलमलियो।
कुकुर अलमलिएपछि फेरि उपस्थित गराउने सर्तमा हत्या अभियुक्त किशोरसहित चारै जनालाई प्रहरीले छोड्यो।
त्यो बीचमा प्रहरीले पटक/पटक ती किशोरसहित धेरै जनालाई सोधपुछ गर्यो । तर, केही उपाय चलेन। वर्ष दिन बितिसक्दासमेत हत्यारा पत्ता नलागेपछि पीडित परिवार, अधिकारकर्मी, सञ्चारकर्मीले प्रहरीको अनुसन्धान क्षमतामै प्रश्न उठाउन थाले। प्रहरीलाई थप दबाब भयो।
पछिल्लो समय घटना अनुसन्धानका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखको आदेशमा प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठको कमाण्डमा प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा, प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शर्मासहितको पाँच सदस्य अनुसन्धान टोली गठन भयो।
प्रहरी नायव निरीक्षक नारायणप्रसाद शर्मा, प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शर्मासहितको चार सदस्य टोली फागुन २ गते घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सल्यान पुग्यो। घटना भएकै दिन इलाका प्रहरी कार्यालय, लुहामयाबाट तत्कालीन प्रहरी प्रमुख प्रहरी निरीक्षक जगत दमाई समेतको टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान गरी घटनास्थल तथा शव मुचुल्कासमेत तयार गरेको थियो।
उक्त टोलीले त्यसअघि प्रहरीले गरेका अध्ययन अनुसन्धानका मिसिल सबै अध्ययन गर्यो। त्यो अध्ययनपछि नयाँ ढंगले अनुसन्धान गर्ने रणनीति तयार पार्यो।
प्रहरीले यसरी पत्ता लगायो कविताका हत्या अभियुक्तः
कविताको हत्या भएपछि प्रहरीले असफल प्रेमीले घटना घटाएको हुनसक्ने भन्दै अनुसन्धान सुरू गर्यो। घटनास्थलमा प्रहरीले कविताको मोबाइल मात्र फेला पारेको थियो। प्रहरीका अनुसार कवितालाई मोबाइलमा २४ घण्टा अगाडि तथा २४ घण्टा पछाडि फोन र एसएमएस गरेका चार जना मानिस थिए।
जसमध्ये एकको घटनाको समयमा मध्यरातमा लोकेसन सल्यानको पैंयाचौर देखाएको थियो। त्यो स्थान घटनास्थलबाट चार घण्टाको दुरीमा पर्थ्यो। त्यस्तै अर्का व्यक्तिको लोकेसन रोल्पाको राँक भन्ने स्थानमा देखायो। त्यो झनै टाढा थियो।
अर्का व्यक्तिको लोकेसन सल्यानकै भए पनि पाँच घण्टाको दुरीमा रहेको पाइयो। यसले गर्दा उनीहरूले पैदल हिँडेर कविताको हत्या गर्नसक्ने सम्भव थिएन भन्नेमा प्रहरी स्पष्ट भयो। घटना हुनुको कारण रिसिइवी र प्रेम सम्बन्ध हुनसक्ने निष्कर्षमा अनुसन्धान टोली पुग्यो।
अनुसन्धान टोली घटनास्थल पुगेर गाउँलेसँग सोधपुछ र अनुसन्धान थाल्यो। टोलीले त्यसपछि स्थानीय ४१ जनालाई फागुन ६ गते इलाका प्रहरी कार्यालय, लुहामया बोलायो।
लेख्न नजान्ने १५ जनालाई सोध पुछ गर्यो। लेख्न जान्ने २६ जनालाई प्रश्न दिएर उत्तर लेख्न लगायो।
जसमा कविताको बानी व्यहोरा के कस्तो थियो? मृतकसँग बढी फोन गर्नेसँगै हिँड्डुल गर्ने को-को थिए? मृतकलाई कसले के-कारणले हत्या गरेको हुनसक्छ? हालसम्म घटनाबारे तपाईंलाई के थाहा छ? गाउँघरका मानिसले के भन्छन्? गरी ५ वटा प्रश्न सोधेर उत्तर लेख्न लगाइयो।
त्यसमा सहभागी २६ जनामध्ये अरूले केही थाहा नभएको भनेर लेखे। तर, एक किशोरले कवितालाई रोल्पाका एक व्यक्तिले मारेको भनेर लेखे। ती व्यक्ति कवितालाई सम्पर्क गर्ने चार मोबाइलवालामध्ये एक थिए। किशोरले कारण पनि लेखेका थिए, ‘त्यो व्यक्तिले कवितालाई बारम्बार फोन गर्थ्यो। सँगै हिँड्थ्यो। विवाह गर्छु भन्थ्यो। ऊ अति नै फटाहा र गुन्डा केटो हो।'
प्रहरीले उनलाई दुई पटकसम्म उक्त जवाफ लेख्न लगाउँदा पनि एउटै व्यहोराको लेखे।
त्यसपछि ती किशोर, अरू दुई जनालाई फागुन ७ गते पुनः इलाका प्रहरी कार्यालय लुहामया बोलाइयो। उनीहरूलाई पुनः सोही प्रश्न दिएर लेख्न लगाए। ती किशोरले कविताको घर परिवार र अर्का छिमेकीको घर परिवारसँग पानीको धाराको विषय र बाँस काटेको विषयमा झगडा भई बोलचालसमेत बन्द भएकाले छिमेकीले नै कविताको हत्या गरेको भनेर लेखे।
त्यसपछि प्रहरीलाई किन ती किशोरले विभिन्न केटाको नाम लेखेर अरूलाई आरोपित गरिरहेका छन् भनेर शंका लाग्यो। उनलाई प्रहरी सहायक निरीक्षक प्रेमप्रसाद शर्माले छुट्टै कोठामा लगे। उनको मुटुको धड्कन छामेर हेरे। त्यतिबेला उनको अनुहार विचित्रले अध्याँरो भयो।
प्रहरीले फेरि फागुन ८ गते उनलाई इलाका प्रहरी कार्यालय, सितलपाटी बोलायो। जहाँ प्रनानि नारायणप्रसाद शर्मा र प्रसनि प्रेमप्रसाद शर्माले एक्ला एक्लै विभिन्न प्रश्न सोधे। ती किशोरले घटना स्वीकार गरे।
आफ्नो प्रेमलाई वेवास्ता गरेका कारण आवेशमा आएर एक्लै रातिमा फेला पारी खुकुरी प्रहार गरी हत्या गरेको बयान गरे। एक वर्षसम्म पत्ता नलागेको कविता हत्याका अभियुक्त उनीहरूले तीन दिनमा पहिचान गरे।
त्यसपछि प्रहरीले फागुन ९ गते अभियुक्त किशोरलाई नियन्त्रणमा लियो।
उनीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो। सल्यान जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी फागुन १० गते जिल्ला सरकारी वकिल कार्यालय सल्यानमा प्रतिवेदन पेश गर्यो। अभियुक्त किशोरलाई जिल्ला अदालत सल्यानको चैत १ गतेको फैसला अनुसार पूर्पक्षका लागि बालसुधार गृह बाँकेमा पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख डिएसपी गोविन्द थापाले सेतोपाटीलाई जानकारी दिए।