दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवाका मनिराम योगी मोटरसाइकल मर्मत कसरी गर्ने भनेर सीप सिकिरहेका छन्।
उनी विदेशबाट फर्केपछि मोटरसाइकल मर्मतसम्बन्धी तालिम लिइरहेका छन्।
तुलसीपुर १२ हरिपौरीका माधव नेपाली हाल कपाल काट्ने तालिम लिइरहेका छन्। उनले पनि विदेशबाट फर्केर तालिम लिइरहेका हुन्।
तुलसीपुर १० की ३२ वर्षीया मौसमी चौधरी प्लम्बिङसम्बन्धी तालिम लिइरहेकी छन्।
तुलसीपुर १२ की १८ वर्षीया अनिता विक पनि कपाल काट्ने, फेसियल लगायतका सीप सिकिरहेकी छन्। गरिबीका कारण उनले स्कुले शिक्षा पनि बीचमै छोड्नु पर्यो।
तुलसीपुर १ भमकेका मेघराज कँडेलले पनि मोटरसाइकल मर्मतसम्बन्धी तालिम लिइरहेका छन्।
उनीहरूले ती तालिम लिन थालेको महिना दिन भन्दा बढी भइसकेको छ।
वैदेशिक रोजगारबाट फर्किएका र कुनै पनि रोजगार नपाएर बसेका युवाहरूलाई लक्षित गरी नि:शुल्क सीपमूलक तालिम सञ्चालन गरिएको हुँदा त्यसका लाभ उनीहरूले उठाइरहेका छन्।
‘अध्ययन र सीप नहुँदा विदेशमा कत्तिको दुःख हुन्छ भोगेपछि थाहा हुँदो रहेछ,’ नेपालीले भने,‘काम ठूलो सानो हुँदो रहेनछ, सीप सिके जीवन चलाउन सहज हुनेछ भन्ने बुझेर मैले यो तालिम लिन थालेको हुँ।’
उनी आज आफ्नै ठाउँमा नि:शुल्क सीपमूलक तालिम पाउँदा मख्ख छन्।
यो अवसर 'तुलसीपुर मेट्रो कलेज'ले जुटाइदिएको हो। जसले विगत डेढ महिनादेखि लुम्बिनी प्रदेश अन्तर्गत मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विभिन्न तालिम सञ्चालन गरिरहेको छ।
त्यसैले युवायुवती आज आफ्नो रुचि अनुसार मेट्रो कलेजमा कपाल काट्ने, मोटरसाइकल मर्मत गर्ने र प्लम्बिङको तालिम लिइरहेका छन्।
रोजगार कार्यक्रम संयोजक श्रीधर राजभण्डारीले विदेशबाट फर्किएका युवा तथा रोजगार नभएका युवाहरूलाई लक्षित गरेर सीपमूलक तालिमको आयोजना गरिएको र सीप सिकेर सकेपछि रोजगारीका लागि पनि सहजीकरण गर्ने बताए।
सीप सिकेका युवायुवतीले भविष्यमा सोही अनुरूपको पसल सञ्चालन गर्न चाहेमा आवश्यक सामग्रीको समेत सहयोग प्रदान गर्ने मेट्रो कलेजका प्रमुख बसन्त आचार्यले बताए।
‘विदेशबाट आएपछि अब के गर्ने भन्ने अन्यौलमा थिएँ। तालिमपछि बल्ल अब यो पेशा गर्छु भन्ने आँट आयो,’ माधव नेपालीले भने, ‘अब म कम लगानीमै हुने कपाल काट्ने काम गरेर जीविकापार्जन गर्नेछु।’
उनले काम ठूलो सानो नहुने र आफ्नो परिश्रम गरी सहज रूपमा जीवनयापन गर्ने बाटो अवलम्बन गर्ने योजना सुनाए।
नेपाली जस्तै तुलसीपुर १ भमकेका मेघराज कँडेल, तुलसीपुर १० की मौसमी चौधरी, तुलसीपुर १२ की अनिता विकले आफूले सिकेको सीप अनुसार भविष्यमा पसल सञ्चालन गर्ने योजना सुनाए।
‘अब कसैकोमा जागिर खोज्न जाँदिनँ,’ अनिताले भनिन्, ‘म आफैंले सिकेको सीप अनुसारको सानो भए पनि पसल सञ्चालन गर्नेछु।’
उनले कम लगानीमा कपाल काट्ने पसल सञ्चालन गर्न सकिने र कमाइ पनि राम्रै हुने हुँदा त्यसैलाई अब जीवनयापनको माध्यम बनाउने बताइन्।