दुल्लु ठाटिकाँध गाउँपालिका-६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको छ। सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको हो।
मृत्यु हुनेमा शेरबहादुर रोकायकी श्रीमती ३२ वर्षीया हस्तना थापा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
बुधबार स्थानीय ठाटिकाँध बजार गएर साँझ फर्केपछि बच्चा र श्रीमान शेरबहादुर सँगै सुतेका र बिहान हेर्दा हस्तनाको मृत्यु भएको देखिएको प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए।
प्रहरीका अनुसार हस्तनाको मृत्यु शंकास्पद देखिएकाले थप अनुसन्धानका लागि श्रीमान शेरबहादुरलाई नियन्त्रणमा राखिएको छ। मृतक हस्तनाका यसअघि तीन छोरी छन्।
नवजात शिशुको अवस्था सामान्य रहेको आफन्तले जनाएका छन्। मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरी प्रमुख श्रेष्ठले बताए।रासस