बीसीसीका म्यानमारस्थित संवाददाता पक्राउ परेका छन्। म्यान्मारमा सुरक्षा फौज तथा सैन्य शासनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूबीच झडपहरू भइरहँदा समाचार संकलनका लागि पुगेका बीबीसी बर्मिज सेवाका पत्रकार आङ् थुरा पक्राउ परेको बीसीसीले जनाएको छ।
राजधानी नेपिद्अमा एउटा अदालतबाहिरबाट उनलाई सादा पोशाकमा आएका पुरूषहरूले शुक्रबार नियन्त्रणमा लिएका हुन्।
उनलाई पक्राउ गरिएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अधिकारीहरूलाई उनको खोजीमा सहयोग गर्न बीबीसीले आग्रह गरेको छ।
'म्यानमारस्थित हाम्रा समाचारदाता अउङ थुराको अवस्थाका बारेमा हामीलाई गहिरो चिन्ता लागेको छ, उहाँलाई अपरिचित व्यक्तिहरूले बेपत्ता पारेका छन्,' बीबीसीले भनेको छ,‘बीबीसीले म्यान्मारस्थित आफ्ना सबै कर्मचारीको सुरक्षालाई गम्भीरताका साथ लिएको छ र आङ् थुरालाई खोज्न हरसम्भव प्रयास गरिरहेको छ।’
बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता छन्। उनलाई पनि अपहरण गरिएको सो संस्थाले जनाएको छ।
म्यानमारमा गत फेब्रुअरी १ देखि सेनाले सत्ता कब्जा गरेपछि राजनीतिक आन्दोलन चलिरहेको छ। आन्दोलनका क्रममा दर्जनौंको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।
म्यान्मारमा फेब्रुअरीमा सेनाले कू गरेयता ४० जना पत्रकारहरू पक्राउ परिसकेका छन्।
१६ जना पत्रकार अझै हिरासतमा रहेका छन् भने सेनाले पाँचवटा सञ्चार कम्पनीको अनुमतिपत्र खारेज गरिदिएको छ।
यसबीच शुक्रवार सुरक्षा फौजको गोली लागी आङ्गबान शहरमा आठजनाको ज्यान गएको छ।