दाइजोको निहुँमा बुहारीलाई मट्टितेल छर्केर जलाएर फरार भएका ससुरा सात वर्षपछि पक्राउ परेका छन्।
दाइजोमा मोटरसाइकल नल्याएको तथा मागे जति नगद रकम नल्याएको भन्दै बुहारीलाई सुतेकै स्थानामा मट्टितेल छर्केर आगो लगाई ज्यान लिन खोजेको आरोप खेपेका ७५ वर्षीय ससुरा हनिफ शेष ढपाली सात वर्षपछि पक्राउ परेका हुन्।
साविक लक्ष्मीपुर गाविस वडा नं. ८ र हालको नरैनापुर गाउँपालिका वडा नं. २ का ससुरा, सासू सजहाद खाँ र छोरा फरिद शेष ढपाली मिलेर २३ वर्षीया रिहान शेष ढपालीलाई मट्टितेल छर्किएर आगो लगाएर ज्यान लिने खोजेका थिए।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त प्रमुख प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार बाबु, आमा र छोरा मिलेर दाइजो नल्याएको निहुँमा २०७० साल चैत २ गते राति सुतेकै स्थानमा मट्टितेल छर्केर ज्यान लिन खोजेका थिए। त्यसपछि बुहारी बाँच्न सफल भएपछि उनीहरूले कसैलाई थाहै नदिई घाइते बुहारीलाई बिरामी भएको भन्दै छिमेकी देश भारतमा उपचारका लागि लगेका थिए।
उपचारपछि केही सन्चो भएपछि मात्रै उनीहरूले रिहानलाई घर ल्याएर माइती पक्षलाई खबर गरेका थिए। उनीहरूले रिहानले आत्महत्या प्रयास गरेको दाबी गरेका थिए। त्यसपछि मात्रै माइती पक्षले रिहानलाई श्रीमान, सासू र ससुरा समेत मिलेर मट्टितेल छर्केर जलाई हत्या गर्न खोजेको भन्ने सूचना प्रहरीलाई दिएका थिए।
अनि मात्रै घाइते रिहानाको उद्धार गरी भेरी अस्पताल नेपालगञ्जमा उपचारका लागि पुर्याइएको थियो। त्यसपछि बल्ल विभिन्न संघ संस्थाले आर्थिक सहायता गरेपछि काठमाडौंमा पुर्याई रिहानको उपचार भएको निमित्त प्रहरी प्रमुख डिएसपी खड्काले जानकारी दिए।
घटना सार्वजनिक भएपछि आरोपीहरू रिहानका श्रीमान, सासू र ससुरा फरार थिए। जसमध्ये अझै पनि रिहानका श्रीमान फरिद शेष ढपाली र उनकी आमा सजहाद खाँ फरार छन्।
फरार आरोपीमध्ये ७५ वर्षीय रिहानका ससुरा हनिफ शेष ढपाली जिल्लाको नरैनापुर गाउँपालिका वडा नं. १ सुइँयास्थित गाउँमा लुकिछिपी बसेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरी निरीक्षक बसन्त गौतमको कमाण्डमा खटिएको टोलीले पक्राउ गरेको डिएसपी खड्काले जानकारी दिए।