मंगलबार बिहान बाँके राष्ट्रिय निकुञ्जस्थित टाइगर हेल्पिङ सेन्टरको खोरको एंगल बंगाएर जंगल पसेको बाघ निकुञ्ज क्षेत्रमै रहेको पाइएको छ।
निकुञ्जका वार्डेन श्यामकुमार शाहले आफूहरू निरन्तर अनुगमनमै रहेको भन्दै उक्त बाघ आफूहरूको नियन्त्रणमै रहेको तथा निकुञ्ज क्षेत्रमै रहेको सेतोपाटीलाई बताए।
‘बाघ हाम्रो निकुञ्जभित्रै छ र सुरक्षित छ,’ शाहले भने, ‘बाघ निकुञ्जभन्दा बाहिर निस्किएको छैन।’
उनले बाघ खोरबाट निस्किएर निकुञ्जको उत्तरतर्फ लागेको पाइला देखिएको र आफूहरू त्यो पछ्याउँदै जाँदा बाघ निकुञ्ज क्षेत्रभित्रै सुरक्षित रहेको उनले जानकारी दिए।
‘निकुञ्जको उत्तर क्षेत्रको निकुञ्ज क्षेत्र दक्षिणको भन्दा अन डिस्टर्व क्षेत्र हो, त्यहाँ कुनै पनि मानवीय गतिविधि रहँदैन, घाँस दाउरा गर्न जाने मानिसहरू त्यहाँ पुग्दैनन्,’ वार्डेन शाहले भने, ‘त्यसैले बाघ त्यही एरियामा सुरक्षित बसिरहेको छ।’
निकुञ्ज क्षेत्रको दक्षिण भेगमा मानिसहरूको बस्ती हुनु, मानिसहरू घाँस, दाउराका लागि वन जंगल छिरिरहनु र मानिससँग बाघको जम्काभेट भइरहने हुँदा मानिसमाथि आक्रमणका दुःखद घटनाहरू दोहोरिने गरेको शाहले तर्क गरे।
आफूहरू पूर्वपश्चिम राजमार्गअन्तरगत निकुञ्ज अन्तर्गतका विभिन्न चेकपोष्ट र चेक प्वाइन्ट खटिएको उनले बताए। यसैगरी उनले गाडीलाई वन जंगलको बीचमा रोक्न प्रतिबन्ध लगाइएको जानकारी दिए।
मंगलबार बिहानै बाघ खोरको एंगल बंगाई निस्किएर गएपछि निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना, राजमार्ग क्षेत्रमा रहेका प्रहरीले साना सवारी साधन सञ्चालन नगर्न आग्रह गरेका थिए।
पैदल नहिँड्न, साइकल, मोटरसाइकल, अटोरिक्सा, टेम्पो जस्ता साना सवारी साधन नचलाउन निकुञ्जले सार्वजनिक सूचनामार्फत् आग्रह गरिसकेको छ।