रूकुम पूर्वमा दुई बालिकालाई आठ दिनसम्म बन्धक बनाई बलात्कार गरेको आरोपमा प्रहरीले अस्पतालका चालकसहित दुई जनालाई पक्राउ गरेको छ।
जिल्लाको भूमे गाउँपालिकाका १४ र १५ वर्षीया बालिकालाई ८ दिनसम्म जिल्ला अस्पतालको पुरानो भवनमा बन्धक बनाएर बलात्कार गरेको आरोपमा अस्पतालकै चालकसहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश श्रेष्ठका अनुसार उक्त अभियोगमा २३ वर्षीय चालक र अर्का १४ वर्षीय बालक पक्राउ परेका छन्।
डिएसपी श्रेष्ठका अनुसार कक्षा ४ र ५ मा अध्यनरत दुई बालिकालाई बन्धक बनाई चालकले ८ दिनसम्म एक जनालाई निरन्तर बलात्कार गरेको प्रारम्भीक बयानबाट खुलेको छ।
श्रेष्ठका अनुसार ती दुई बालिका चैत १ गते परिवारलाई थाँहै नदिएर चालककै सल्लाहमा सदरमुकाम घुम्न जाने भन्दै निस्किएका थिए ।
सदरमुकामदेखि करिब ६ घन्टा टाढा पर्ने ती बालिकाको गाउँमा त्यसभन्दा पहिले पनि चालक र ती बालक गएर उनीहरूलाई सदरमुकाम हेर्न जाउँ भनेर फकाउँदै आएका थिए।
‘हामी तिमीहरूलाई सदरमुकाम लगेर राखेर राम्रो स्कूलमा पढाउँछौं भन्दै फकाउने गरेको भन्ने खुल्न आएको छ,’ डिएसपी श्रेष्ठले सेतोपाटीसँग भने, ‘त्यसैले ती बालिकाहरू सदरमुकाम हेर्न जाने लालचमा घर परिवारलाई नै खवर नगरी सुटुक्क निस्किएको खुल्न आएको छ।’
चैत १ गते घरबाट निस्किएपछि ती दुई बालिकालाई सदरमुकामसम्म ल्याउन आरोपित युवाले सघाएको डिएसपी श्रेष्ठले बताए ।
‘गाडी मोटर नचल्ने हुँदा उनीहरू पैदल नै हिडेर आएको देखिन्छ,’ डिएसपी श्रेष्ठले भने, ‘ थप अनुसन्धान हुन बाँकी नै छ।’
चैत १ गतेदेखि गाउँबाट एकाएक हराएका बालिकाहरू आफन्तकोमा गएको हुनसक्ने भन्दै परिवारले सामान्य सोधखोज मात्रै गरेका थिए। ‘आफन्तको घरमा गएको हुनसक्ने र फर्केर आउलान् भन्ने ठानेर ५-६ दिनसम्म परिवारले सामान्य खोजी गरे पनि गम्भीर रूपमा लिएनन्’, डिएसपी श्रेष्ठले भने,‘आठौं दिनसम्म पनि आफ्ना छोरीहरू सम्पर्कमा नआएपछि उनीहरूका अभिभावक जिल्ला प्रहरी कार्यालय रूकुम पुगेर खोजी गरिदिन आग्रह गरेका हुन्।’
उनीहरूले दिएको सूचनाको आधारमा प्रहरीले तत्कालै खोजी कार्य अगाडि बढाएको थियो। प्रहरीले अभिभावकले दिएको सूचनाका आधारमा चालकसहित दुबै जनालाई अस्पतालको क्वाटरबाट नियन्त्रणमा लिएको हो।
‘सोधपुछ र हल्ला खल्ला गरे उनीहरूले बालिकालाई अन्यत्रै सार्न सक्छन् भन्ने ठानेर मैले कुनै जानकारी बिना नै प्रहरी चालकको कोठामा पठाएको थिएँ,’ डिएसपी श्रेष्ठले भने, ‘जाँदा चालकको कोठामा बाहिरबाट ताल्चा लगाएको देखेपछि झनै आशंका भयो र खोलेर हेर्दा दुई बालिका त्यही फेला परे।’
बालिका कोठा भित्रै फेला पारेपछि तत्काल उद्धार गरेर चालकलाई पक्राउ गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए।
डिएसपी श्रेष्ठका अनुसार चालकले १४ वर्षीय सहयोगीमार्फत ती बालिकालाई फकाएर सदरमुकामसम्म ल्याएर बन्धक बनाएको देखिएको छ।
‘बालिका जस्तै समान उमेरका बालकलाई साथी बनाएर उसले ती बालिकालाई फकाउन र फुल्याउँदै सदरमुकाम लैजाने जाल बिच्छाएको देखिन आएको छ,’ श्रेष्ठले भने, ‘१४ वर्षीय बालकको त्यो बाहेक बालात्करजन्य कुरामा संलग्नता रहेको हालसम्मको अनुसन्धानबाट पुष्टि हुन सकेको छैन।’
एउटै कोठामा दुबै बालिकालाई बन्धक बनाए पनि चालकले एक बालिकालाई मात्रै निरन्तर बलात्कार गर्दै आएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
‘दुई बालिकामध्ये एक जनासँग मोबाईल फोन पनि रहेछ, तर त्यो चालकले प्रयोग गर्न दिइएको रहेनछ,’ डिएसपी श्रेष्ठले भने, ‘ दिनभरी बाहिरबाट ताल्चा लगाएर थुन्दोरहेछ र बिहान सबेरै र राति अवेर मात्रै शौंचका लागि लगेर फेरि थुन्दो रहेछ।’
चालकले ती बालिकालाई बोल्न, चिच्याउन वा ढोका हान्ने जस्ता गतिबिधि नगर्न मानसिक रूपमा डर त्रास धम्कि दिएर बन्देज लगाएको देखिन आएको प्रहरीले बताएको छ ।
बलात्कारजन्य कुरामा चालक मात्रै संलग्न रहेको देखिएकाले उनी बिरूद्ध मात्रै पीडित बालिकाले जाहेरी दिएको र सँगै रहेका बालकलाई थप अनुसन्धान गर्न नियन्त्रणमा लिएको डिएसपी श्रेष्ठले बताए ।