इजिप्टको स्वेज नहरमा फसेको मालवाहक पानीजहाज निकाल्न हप्तौं लाग्न सक्ने भएको छ।
मंगलबार बिहान चीनबाट नेदरल्याण्ड जान लागेको एभर गिभन नामक पानीजहाज नियन्त्रण गुमाएर किनारमा फसेको थियो। १९३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागर र रेड सीलाई जोड्छ।
अहिले नहरको दुबैतिर १६० वटा जहाज जाममा फसेका छन्। एभर गिभनले स्वेज नहर बन्द भएपछि अहिले दैनिक झन्डै १० अर्ब डलरको व्यापार रोकिएको छ।
यो नहरबाट विश्व व्यापारको झन्डै १२ प्रतिशत व्यापार हुने गर्छ।
४ सय मिटर लामो र ५९ मिटर जहाज निकाल्ने प्रयास भइरहेको छ। पानीजहाज निकाल्न नेदरल्याण्ड र जापानका दुई कम्पनीका अधिकारीहरू लागिरहेका छन्। उनीहरूले डोजरले बालुवा खनेर जहाजलाई तैराउने प्रयास गरेका छन्। केही दिनपछि नहरमा पानीको सतह बढ्ने र त्यसले जहाज तैरिन सजिलो हुने अनुमान गरिएको छ।
नहरमा फसेको पानीजहाज पनामा दर्ता भएको छ। सन् २०१८ मा बनेको यो जहाज ताइवानी कम्पनी एभरग्रिन मरिनले सञ्चालन गर्दै आएको छ।
एभरग्रिनले अचानक तीव्र गतिमा चलेको हावाका कारण नेभिगेसनमा समस्या हुँदा जहाज फसेको हुन सक्ने बताएको छ।
अमेरिकाका समुद्री इतिहासकार डाक्टर साल मर्कोग्लियानोले यति ठूलो जहाज फस्ने घटना दुर्लभ भएको र यसले विश्व व्यापारमा ठूलो असर पार्ने बताएका छन्। उनले स्वेज नहरमा फस्ने सबैभन्दा ठूलो जहाज हो।
जहाजलाई तत्काल निकाल्न नसकिए त्यसमा रहेको सामान तत्काल निकाल्नु पर्ने उनको भनाइ छ।
सन् २०१७ मा पनि एक जापानी जहाज स्वेज नहरमा फसेको थियो। तर उक्त जहाजलाई अधिकारीहरूले केही घन्टामै हटाएका थिए।