शुक्रबार अपरान्ह सवा ४ बजे। मौसम धुम्म छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ बिजौरीस्थित ‘असहाय बाल विकास नेपाल’ अनाथालय परिसरमा नेपाल प्रहरी लगायत अन्य केही गाडी र मोटरसाइकल पनि छन् ।
अनाथालयको आधा गेट खुल्लै छ। स्थानीय भने पर्खालबाट भित्र चिहाइरहेका छन्।
प्रहरी प्रशासनका यस्ता गाडी स्थानीयले यो भन्दा पहिला पनि यहाँ नदेखेका होइनन्। जसको उद्घाटन नै पूर्वसभामुख ओनसरी घर्तीले गरेकी थिइन्।
विभिन्न अवसर, उत्सव र पर्वमा गाडीमा मानिसहरू यहाँ आइरहन्थे।
उनीहरू आउँदा केही न केही कोसेली ल्याएर आएका हुन्थे। बाहिर आँगनमै कार्यक्रम हुन्थ्यो। उनीहरूको स्वागतमा बालबालिकाले ताली बजाउथे। अबिर मालाले स्वागत हुने गर्दथ्यो।
तर, यसपटक भने उनीहरू यहाँ फरक दृश्य देख्दै थिए। आँगनमा बस्ने मानिसहरू चुपचाप थिए।
घरभित्र स्थानीय जनप्रतिनिधि, न्यायिक समितिका व्यक्ति, महिला अधिकारकर्मी, प्रहरी अधिकारी बालबालिकासँग कुरा गरिरहेका थिए।
स्थानीयले पनि यसका सञ्चालकबारे सार्वजनिक सञ्चार माध्यमबाट थाहा पाएका थिए।
यसका सञ्चालक विष्णु चौधरीविरूद्ध प्रहरीमा असहाय केन्द्रमै बस्दै आएकी जुम्लाकी एक १४ वर्षीया बालिकाले विगत ६ महिनादेखि आफूमाथि पटक/पटक बलात्कार गरेको भनेर उजुरी दिएकी थिइन्।
एक घन्टापछि बल्ल जनप्रतिनिधि अधिकारकर्मी बाहिर निस्किए।
तुलसीपुर १८ का वडाध्यक्ष माधव वलीले जिल्ला प्रहरी कार्यालयमा सञ्चालकविरूद्ध उजुरीपछि बालबालिकाको मनस्थिति बुझ्न आएको र बालबालिकाले त्यहाँबाट अन्यत्र जाने इच्छा व्यक्त गरेको हुँदा उनीहरूलाई सार्न आफूहरू आएको बताएपछि स्थानीयको खुलदुली मेटिएको थियो।
‘बालबालिकाकै इच्छा अनुसार आज हामी उनीहरूलाई पहिलो चरणको उद्दार गर्दैछौं,’ वडाध्यक्ष वलीले भने, ‘त्यसपछि हामी थप छलफल गरेर बालबालिकाको उचित व्यवस्थापन गर्नेछौं।’
बालबालिको सुरक्षा स्थानीय सरकारको पहिलो दायित्व हुन आउने भन्दै असहाय केन्द्रमा बस्ने अन्य बालबालिका थप जोखिममा नपरून् भन्ने उद्धेश्यले उनीहरूको उद्धार गरिएको बताए।
उनले बालबालिकाको पढाइमा तत्काल कुनै पनि असर नहोस् भनेर तत्काल उद्धार गर्नुपरेको तर्क गरे।
उपमहानगरपालिकाकी न्यायिक समितिकी सदस्य जानुका रेग्मीले विगत ६ महिनादेखि एक बालिकामाथि अत्याचार भइरहेको कुरा सार्वजनिक भएपछि थप अन्य बालिकामाथि त्यस्तो हुन नपाओस् भनेर असहाय केन्द्र खाली गरी बालबालिकाको उद्धार गरी बाहिर सुरक्षित ठाउँमा लैजानु परेको बताइन्।
‘असहायक केन्द्रका सञ्चालककी श्रीमती काठमाडौं बस्ने हुँदा सञ्चालकले बालबालिकामाथि यौन शोषण गर्ने गरेको भन्ने अनुसन्धानबाट खुलेको छ,’ रेग्मीले भनिन्, ‘यहाँ १६ बालबालिकालाई अहिले बोझको रूपमा लिने गरेको समेत कुराकानीका क्रममा हामीले पत्ता लगायौं। त्यसैले बालबालिकाको उद्धार जरूरी थियो।’
बालबालिकाको उद्दारका लागि पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिवबहादुर सिंहले समयमै उद्दार नभए बालबालिकामाथि जोखिम रहेको हुँदा जति हुन्छ छिटो त्यहाँबाट उद्दार गर्नुपरेको बताए।
तुलसीपुरकी महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले असहाय केन्द्र सञ्चालक चौधरीले केन्द्र सञ्चालन गर्दा राज्यले निर्धारण गरेका धेरै सूचकहरू पूरा नगरेको पाइएको बताइन्।
संस्थाको दर्ता, नविकरणका कागजात, विधान, अडिट, साधारण सभा गराएकाजस्ता कागजात समेत सञ्चालले उपलब्ध गराउन नसकेको उनले बताइन्।
संस्थाका बोर्ड सदस्य विजय चौधरीले संस्था दर्ता लगाएतका विभिन्न कागजात रहेको भनेर दाबी भने गरेको उनले बताइन्।
श्रेष्ठले भनिन्,‘न संस्थाको साइन बोर्ड छ, न बालबालिकाको लागि छुट्टाछुट्टै शौचालय। छुट्टाछुट्टै सुत्ने कोठा, खेल्ने र रमाउने ठाउँ, मनोरञ्जनका साधन केही पनि यहाँ फेला परेनन्।’
उनले तत्काल त्यहाँका बालबालिकालाई अभिभावकत्व ग्रहण गरी उद्दार गरी सुरक्षित ठाउँमा राख्ने र भविष्यमा ती बालबालिकाका आफन्त तथा नजिकका नातेदार खोजेर सकभर घर परिवारमै पुनर्स्थापनाको प्रयास गरिने बताइन्।
यति प्रक्रिया पूरा गरेपछि बल्ल असहाय केन्द्रका बालबालिका आफ्ना झोला र गुन्टाहरूसहित बाहिर निस्किन सुरू गरेका थिए।
अगाडि बालिकाहरू निस्के। आफ्ना झोला, ब्यागहरू उठाएका उनीहरू हाँसीखुसी देखिन्थे। उनीहरूको अनुहारमा छुट्टै किसिमको चमकता थियो।
उनीहरू आफू आफ्ना झोला बोकेर उत्साहका साथ गाडीमा राखे। बालिका जति छुट्टै गाडीमा बसे र बालकहरू छुट्टै गाडीमा। किनकी उनीहरूलाई छुट्टाछुट्टै स्थानमा लगिँदै थियो।
यी सबै नियालिरहेका स्थानीय जेष्ट चौधरी र केही महिलाका आँखा आँसुले भरिएका थिए।
कतिले बालबालिकालाई सुम्सुमाए। अंकमाल गरे।
बालबालिका गाडी चढेपछि हात हल्लाउँदै स्थानीयले बाईबाई गरे। बालबालिकाहरूले पनि गाडीभित्रबाट उनीहरू पनि त्यसैगरी माया दर्शाएको देखिन्थ्यो।
सम्बन्धित समाचार:
अनाथालय सञ्चालकविरूद्ध बलात्कार उजुरी परेपछि त्यहाँ भएका १६ बालबालिकालाई गरियो उद्दार
आफूलाई बलात्कार गरेको भन्दै अनाथालय सञ्चालकविरूद्ध अनाथालयकै १४ वर्षीया बालिकाले दिइन् उजुरी
विजौरी सामूहिक बलात्कार काण्ड : १० वर्षपछि मुख्य दोषी पक्राउ,यसरी भएको थियो घटना
बिजौरी बलात्कारका अभियुक्त विष्णु चौधरीलाई जमानतमा छोड्न सर्वोच्चको आदेश