६ वर्षअघि विवाह भएकी दाङकी तिलाकुमारी वली न्यौपाने माइतीको शरणमा पुगेको वर्ष दिन भइसक्यो। उनी आफूसँगै दुई नाबालक छोराछोरी पनि बोकेर माइतीमै बसिरहेकी छन्। उनका ५ वर्षीय छोरा शशांकको कम्मरमुनिको भाग चल्दैन, जन्मेदेखि नै। छोरी विपना ३ वर्ष पुगिन्।
बबई गाउँपालिका-६ चौपारीमा उनको माइती घर छ। विवाह भएको घर घोराही उपमहानगरपालिका- १६ सर्रा हो। उनका माइतीको आर्थिक अवस्था विपन्न छ। त्यही भएर बुवा भीमबहादुर वली खाडी मुलुक पुगेका छन्। तिलाका दाइ पनि विदेशमै छन्।
तिलाले ८ वर्षको छँदै आमा गुमाउनुपर्यो। बुवाले कान्छी भित्र्याए। कान्छी आमातर्फका छोराछोरी सानै छन्। उनका एक आफन्तका अनुसार २०७१ चैतमा तिला स्थानीय सरकारी विद्यालयमा पढ्थिन्। त्यतिबेला उनी १६ वर्षकी मात्र थिइन्। गरिबीका कारण उनी आलोपालो आफन्तकहाँ बस्थिन्।
उमेर नपुगे पनि घरपरिवार र आफन्तले उनको विवाह गरिदिन खोजेका थिए। त्यहीबेला घोराही सर्राका सुरज न्यौपाने उनको हात माग्न आए। आफन्तका अनुसार सुरजका बुवा महेन्द्रकुमार न्यौपाने र आमा भूमिसरा न्यौपाने सबैको सहमतिमा तिला र सुरजको बिहे भयो।
तिलाभन्दा सुरजको उमेर झन्डै दोब्बर बढी भए पनि घरपरिवार हुनेखाने भएकाले माइती पक्ष विवाहका लागि राजी भएका थिए। उनीहरूको वैवाहिक जीवन राम्रैसँग चलिरहेको थियो। दुई छोराछोरी जन्मिए। तिलाका दुई नन्दको बिहे भइसकेको थियो। नाति-नतिना पाउँदा महेन्द्र र भूमिसरा खुसी थिए।
श्रीमान सुरजकै नामबाट तिलाले वंशजका आधारमा नागरिकता लिइन्। त्यसपछि भने उनको जीवनमा एउटा यस्तो मोड आयो, जसले तिलाको सुन्दर संसार लथालिंग र भताभुंग पारिदियो।
सुरज न्यौपाने खासमा शेरबहादुर दमाई भएको वास्तविकता* खुल्यो। एक कान दुई कान हुँदै हल्ला मैदान भयो। समातिने डरले सुरज बनेका शेरबहादुर भागे।
त्यसपछि तिलाको घरमा झगडाको बिउ सुरू भयो।
दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार सर्राका महेन्द्र र भूमिसराका एक्ला छोरा सुरज २०५७ सालमा १५ वर्षको उमेरमा घरबाटै भागेर बेपत्ता भएका थिए। उनी भारत गएको हल्ला थियो तर कसैले फेला पार्न सकेका थिएनन्।
२०७१ जेठमा सुरज फेला परेको चर्चा भयो।
‘तपाईंको हराएको छोरा सुरज मै हुँ भन्दै एक युवा घरमै आएछन्,’ प्रजिअ पौडेलले न्यौपाने दम्पतीको भनाइ उद्धृत गर्दे भने, ‘अनुहार मिल्दैन नि भन्दा म दुर्घटनामा परेको हुँदा अनुहार सर्जरी गरेको हुँ भनेर झुक्याए छन्।’
१५ वर्षदेखि हराएको छोरो टुप्लुक्क घरमा आएको ठानेर न्यौपाने दम्पतीले धेरै केरकार गरेनन्।
न्यौपाने दम्पतीलाई विश्वासमा पारेपछि उनीहरूले नै सुरजको वंशजका आधारमा नागरिकता बनाइदिए। २०७१ मंसिर १५ गते जिल्ला प्रशासन कार्यालय दाङबाट सुरज न्यौपानेको नाममा ५२–०१–०७१–०३७६२ नम्बरको नागरिकता जारी भयो।
सुरज न्यौपाने बनेर नागरिकता लिएका शेरबहादुरले त्यसअघि २०६८ चैत ३० गते नै अर्को नागरिकता लिइसकेका रहेछन्। ५२०१६८/००७९१ नम्बरको उक्त नागरिकतामा उनको नाम शेरबहादुर दमाई छ। उनी घोराही-११ झुम्केटारीका भोटे दमाईका छोरा रहेछन्।
भोटे दमाईका दुई श्रीमती थिए। तीमध्ये कान्छी झुपुतर्फबाट माइला सन्तानका रूपमा शेरबहादुर जन्मिएका रहेछन्। पोहोर साल शेरबहादुरकी आमा झुपुको मृत्यु भयो। त्यसपछि भाइहरूबीच अंशबन्डाको कुरा चल्यो। दाजुभाइले शेरबहादुरलाई पनि अंशबन्डाका लागि आउन सुटुक्क खबर गरे।
आफ्नो भाइ शेरबहादुर सर्रामा सुरज न्यौपाने बनेर बसिरहेको कुरा उनीहरू सबैलाई जानकारी थियो। धनीको घरमा बसिरहेकाले उनीहरू चुपचाप थिए। आमाको मृत्युपछि पोहोर चैतमा दाजुभाइको सल्लाहअनुसार शेरबहादुर सुटुक्क जिल्ला मालपोत कार्यालय घोराही पुगे। मालपोत कार्यालय पुग्नु पहिला पुगेका उनका दाजुभाइले अंशबन्डा तयारीका लागि (लेखनदास) छनोट गरिसकेका थिए। शेरबहादुरसँगको सल्लाहअनुसार उनीहरूले व्यहोरा पनि लेखाइसकेका थिए।
शेरबहादुर पुगेर 'मैले आमाको जिउनी पहिले नै बुझिसकेको हुँ। अब सम्पत्तिमा मेरो हक छैन। दाजुभाइलाई दिन सहमत छु' भन्ने कागजमा सही छाप गरिदिए।
संयोग कस्तो पर्यो भने महेन्द्रकै छिमेकी लेखनदासले त्यो सबै लेखिरहेका थिए। उनले शेरबहादुरलाई राम्रोसँग चिन्थे। सुरज भनिने व्यक्ति शेरबहादुर रहेको थाहा पाउने उनी पहिलो व्यक्ति थिए। उनले अचम्म मान्दै शेरबहादुरको नामबाट लिएको नागरिकताको सुटुक्क मोबाइलबाट फोटो खिचे।
उनले यो कुरा परिवारमा गरे। परिवारले छिमेकमा। हुँदाहुँदै कुरा न्यौपाने दम्पतीसम्म पुगिहाल्यो। महेन्द्र र भूमिसरा न्यौपाने छाँगाबाट खसेझैं भए। त्यतिञ्जेल उनीहरूले छोरा ठानेका शेरबहादुर फरार भइसकेका थिए।
२०७७ असोज १३ मा भूमिसराले जिल्ला प्रशासन कार्यालयमा पुगेर उजुरी गरिन्। आफूहरूलाई विश्वासमा पारी छोरा बनेर सुरज न्यौपानेको नामबाट प्रदान गरेको नागरिकता बदर गरिपाऊँ भनेर निवेदन दिएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए।
‘भूमिसरा न्यौपानेले प्रशासनमा आएर यो मेरो छोरा हैन रहेछ। हामीलाई विश्वासमा पारेर उसले झुक्याएर नागरिकता लग्यो, नागरिकता बदर गरिपाऊँ भनेर निवेदन दिनुभएको छ,’ प्रजिअ पौडेलले भने, ‘हामीले अभियुक्तको खोजी गरिरहेका छौं।’
कुरा यत्तिमा सीमित रहेन। महेन्द्र र भूमिसरा न्यौपानेलाई अब सम्पत्ति शेरबहादुरले खाइदेला भनेर चिन्ता थपियो। त्यसैले उनीहरू विवाह गरी गइसकेका दुई छोरीका नाममा सुटुक्क सम्पत्ति नामसारी गरे।
न्यौपाने दम्पतीले आफ्नो नामको ३० कठ्ठा जग्गामध्ये दुई छोरीका नाममा ७ कठ्ठा जग्गा नामसारी गरिसकेपछि बुहारी तिलाले सुइँको पाइन्। अनि तिला दाङ देउखुरी जिल्ला अदालतमा गएर अंश मुद्दा हालिन्। मालपोत कार्यालयमा गएर जग्गा रोक्का गरिन्।
त्यसपछि न्यौपाने परिवारले तिलाप्रति फरक व्यवहार प्रर्दशन गर्न थाले।
‘आफ्नो बुहारी पनि होइन भन्न थाले, नाति-नतिना हाम्रा हैनन् भनेर वचन लगाए,’ तिलाका एक आफन्तले भने, ‘गाली बेइज्जत गर्न थाले। तलाईं अंश पनि दिँदैनौं, तँ हाम्रो घरमा किन बस्छेस् भनेर निकालिदिए।’
त्यसपछि तिला माइतीको शरणमा जान बाध्य भइन्। माइतीमै बसेर उनले न्यौपाने परिवारविरूद्ध अदालतमा गाली बेइज्जति मुद्दा हालिन्। तिलाका ससुरा दुर्घटनामा परेपछि अहिले अपांगता भएको छ। भूमिसराले अदालत पुगेर मुद्दामा जवाफ दिइन्। अहिले अंशबन्डा र गाली बेइज्जतिसम्बन्धी दुबै मुद्दा जिल्ला अदालतमा विचाराधीन छन्।
प्रजिअ पौडेलले शेरबहादुर भागेर भारतमा लुकिछिपी बस्ने गरेको भन्ने सूचना पाएको बताए। तिलाका माइती पक्षले भने स्थानीय प्रशासनले शेरबहादुर भारतमा भएको थाहा पाएर पनि उनलाई पक्राउ गरी ल्याउन चासो नदेखाएको आरोप लगाएका छन्।
‘शेरबहादुरलाई कि प्रहरी प्रशासनले भारत गएर छोपेर ल्याउनुपर्यो, हैन भने हामीलाई जिम्मा दिइयोस्। हामी समातेर प्रहरीको जिम्मा लगाउन सक्छौं,’ एक आफन्तले भने, ‘एक महिलामाथि यतिसम्मको अत्याचार हुँदा पनि प्रहरी प्रशासन चुप लागेर बस्नु दुर्भाग्य हो।’
तिलाका माइती गरिब भएकाले, बाबु र दाजु खाडी मुलुकमा हुनाले तिलालाई अन्टीहरूले पालैपालो घरमा आश्रय दिँदै आएका छन्।
‘न्यौपाने दम्पती हामी झुक्कियौं भन्नुहुन्छ। तर अब हामी उसको नागरिकता खारेज गर्छौं,’ प्रजिअ पौडेलले भने, ‘न्यौपाने दम्पतीले जानीजानी तिलाको बिहे गरिदिएका हुन भने उहाँहरूलाई पनि कानुनअनुसार कारबाही हुनेछ। झुक्किएको हो भन्ने पुष्टि भए त्यहीअनुसार हुनेछ।’
प्रजिअ पौडेलले पनि तिलाका बारे अब के हुन्छ? भन्न सक्ने अवस्था नरहेको बताए।
‘बिचरा उहाँको जीवन त बर्बाद नै हुने अवस्था देखिन थालेको छ,’ उनले भने, ‘अब क्षतिपूर्तिका लागि उहाँ अदालत जानु उचित होला।’
तिलाका आफन्त भने एउटा महिलालाई यति धेरै यातना हुँदा राज्य चुप लागेर बस्न नमिल्ने दाबी गर्छन्।
‘तिलामाथि छल भएको छ र घोर अत्याचार भएको छ भन्ने जान्दाजान्दै राज्यले आफैं अग्रसर भएर केही गर्नु पर्ने होइन,’ उनका एक आफन्तले भने, ‘अहिले पनि शेरबहादुरले म्यासेन्जरमा सम्पर्क गरी ज्यानको धम्की दिने गरेको छ। तर प्रहरी प्रशासन मौन छ।’
उनले तत्काल शेरबहादुरलाई पक्राउ गरी न्यौपाने परिवारबाट अंशबन्डा गराई राज्यले तिलालाई न्याय दिनुपर्ने बताए।
*सच्याइएको