एक साताअघि स्वेज नहरमा फसेको पानीजहाज फेरि तैरिएको छ। अधिकारीहरू सोमबार बिहान एभर गिभन नामक उक्त बडेमानको पानी जहाजलाई फेरि नहरमा तैराउन सफल भएका हुन्।
अहिले जहाजको चेकजाँच गर्ने काम भइरहेको छ। चेकजाँचपछि गत मंगलबारदेखि बन्द भएको स्वेज नहर कहिलेबाट सुचारू हुन्छ भन्ने टुंगो लाग्नेछ।
गत मंगलबार बिहान चीनबाट नेदरल्याण्ड जान लागेको एभर गिभन नामक पानीजहाज नियन्त्रण गुमाएर किनारमा फसेको थियो। १९३ किलोमिटर लामो स्वेज नहरले भूमध्यसागर र रेड सीलाई जोड्छ।
अहिले नहरको दुबैतिर १६० वटा जहाज जाममा फसेका छन्। एभर गिभनले स्वेज नहर बन्द भएपछि अहिले दैनिक झन्डै १० अर्ब डलरको व्यापार रोकिएको थियो।
यो नहरबाट विश्व व्यापारको झन्डै १२ प्रतिशत व्यापार हुने गर्छ।
४ सय मिटर लामो र ५९ मिटर जहाज निकाल्न निकाल्न नेदरल्याण्ड र जापानका दुई कम्पनीका अधिकारीहरू लागिरहेका थिए।
उनीहरूले डोजरले बालुवा खनेर जहाजलाई तैराउने प्रयास गरेका थिए।
नहरमा फसेको पानीजहाज पनामा दर्ता भएको छ। सन् २०१८ मा बनेको यो जहाज ताइवानी कम्पनी एभरग्रिन मरिनले सञ्चालन गर्दै आएको छ।