विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ।
तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।
उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदूषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई तुवाँलो देखिएको हो।
तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ।
‘भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ’,उनले भनिन्।
यसले हावाको वेग बढ्नुका साथै फाटफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ।
दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू-भागका एक, दुर्ई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ।
त्यस्तै, आज सबभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
चैत १६ गते (सोमबार)
दिउँसो : प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही, बाँकी भू-भागहरूमा आंशिक बदली रहने छ।देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति : प्रदेश १ लगायत देशको पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
चैत १७ गते (मंगलबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
चैत १८ गते (बुधबार)
दिउँसो : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।
राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १,बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। (राससको सहयोग)