बाजुराको बूढीगङ्गा नगरपालिका-१ डुङ्ग्रीमा पर्ने धुरालसैन माध्यमिक विद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थी लगातार चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेपछि विद्यालय नै बन्द हुने अवस्थामा पुगेको छ।
विद्यालयमा अध्ययनरत छात्रछात्रा विद्यालय आएपछि धमाधम बिरामी पर्दै घर जान थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको विद्यालयका प्रधानाध्यापक महासिं थापाले बताए।
उक्त विद्यालयमा अध्ययनरत करिब एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन्।
विद्यार्थीमा रूघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले जानकारी दिए। तीन दिनयता विद्यार्थी बिरामी हुन थालेको उनले बताए।
दैनिक रूपमा २० जना बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताए। बिरामी भएका विद्यार्थी घरबाट नआउने भएपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रअ थापाको भनाइ छ। रासस