दाङको घोराही उपमहानगरपालिका-११ झुम्केटारीका केशव बस्नेतले आफ्नो घरअगाडिको सडकमा दिनहुँ राम-रमाइलो होला भनेर कहिल्यै सोचेका थिएनन्।
उनको घरअगाडि कालोपत्रे नागबेली सडकबाहेक अरू खासै केही छैन। न कुनै मन्दिर छ, न चर्चित पर्यटकीय स्थल नै छ।
दुईमहिना अघिसम्म सुनसान हुने यो ठाउँ अचेल भीडभाड हुन थालेको छ। किनभने भर्खरै कालोपत्रे गरेको त्यही नागबेली सडक हेर्न मानिसहरूको भीड लाग्छ।
हापुरखोला रोड भनेर स्थानीयले दिएको नाम अचेल फेरिएर 'भाइरल रोड' भएको छ। भाइरल भएपछि यो सडकको चर्चा दूरदूरमम्म भइरहेको छ। मानिसहरू अटो, बाइक र गाडी चढेरै यहाँ आउँछन्।
गएको शनिबार यो सडकमा बुटवल बुद्धनगरका रविन कार्की 'बिबोइङ' गरिरहेका थिए। त्यसपछि उनले फूर्तिसाथ उल्टोसुल्टो जिम्नाष्टिक हाने। उनका एक साथीले मोबाइलमा भिडिओ खिचिरहेका थिए।
रोडमै भइरहेको कार्कीको त्यो प्रर्दशन टिकटकमा भिडिओ पोष्टिनका लागि थियो।
‘मलाई पनि यो रोडजस्तै भाइरल हुन मन छ,’ कार्कीले सेतोपाटीसँग भने।
टिकटकलगायत सामाजिक सञ्जालमा सयौंले यो सडकको भिडिओ र तस्बिर पोष्ट गरेको देखेर कार्की साथीसहित यहाँ आएका रहेछन्।
कार्कीलाई त्यो ठाउँ पनि मन पर्यो रे।
‘यो त छुट्टीको समयमा मनोरञ्जन गर्ने गज्जबको ठाउँ रहेछ,’ उनले भने ‘गाउँ भए पनि यस्तो राम्रो विकास र बाटो देख्दा मलाई सारै मन पर्यो।’
तुलसीपुरका दीपक र कमला वली लोक दोहरी गीतमा सँगै नाचिरहेका थिए। उनीहरू श्रीमान-श्रीमती हुन्। उनीहरू पनि सामाजिक सञ्जालमा ‘भाइरल रोड’बारे पोष्टहरू देखेपछि त्यहाँ पुगेका रहेछन्।
वली दम्पतीले सामाजिक सञ्जालमा देखेको भन्दा रोड राम्रो लागेको बताए।
'आफैंले नदेख्दासम्म कस्तो होला भन्ने खुलदुली थियो,’ दीपकले भने ‘बिदाको मौका छोपेर हामी बुढाबुढी यहाँ आएका हौं, ठाउँ निकै मन पर्यो।’
दीपकले नजिकै व्यवसायिक तरकारी खेती, खुल्ला ठाउँ, खेत, गाउँले परिवेशका घर, ठिक्कको हावापानी र चिटिक्क परेको नागबेली सडक देखेर निकै खुसी लागेको बताए। कमलाले पनि नागबेली सडक मन परेको बताइन्।
स्नातक अध्ययनरत घोराही-१८ की अञ्जली वली र उनकी साथी सनामी रसाइली पनि भाइरल रोड हेर्न आएका थिए। रोडको चर्चा सुनेपछि अटो चढेर त्यहाँ आइपुगेको उनीहरूले बताए।
‘भाइरल रोड हेर्ने साह्रै रहर थियो,’ अञ्जलीले भनिन् ‘यहाँ त सयौं मानिस आउने रहेछन्। कस्तो रमाइलो। मेला आएजस्तै फिल भयो।’
शनिबार रंगीबिरङ्गी कपडामा सजिएका मानिसहरूले भाइरल सडक फूलबारी जस्तै देखिएको थियो। तीमध्ये कोही सडकमै नाचीरहेका थिए। कोही अभिनय गरिरहेका, कोही पोज दिएर फोटो खिचिरहेका, केही अंगालोमा बेरिएका!
त्यहाँ टिनएजर मात्रै हैन, दूधे बालक च्यापेर पुगेका आमाहरू पनि थिए, अधबैंसे र केही त वृद्धवृद्धा थिए। यस्तै रमाइला दृष्यले त्यो ठाउँ मेलाभन्दा कम्ता थिएन।
नारायणपुर-हापुर-नारेबाङ सडक भाइरल भएपछि स्थानीय पनि दंग छन्।
‘गाउँघरका मानिसहरू के भयो यस्तो? भनेर आश्चर्य व्यक्त गर्छन,’ बस्नेतले भने।
यो सडक तुलसीपुर-घोराही सडक खण्डको नारायणपुर बजारदेखि सुरू हुन्छ र उत्तरमा टिकरी नारेबाङसम्म जोडिएको छ।
उक्त सडक खण्ड रमन केएस जेभी सुदुरपश्चिम महेन्द्रनगरले निर्माण गरेको हो। कम्पनीका सवइञ्जिनियर गोकुल साउदका अनुसार पुसमा सडक कालोपत्रेको काम सकिएको छ तर अरू काम अझै सकिएको छैन।
‘अब नालामाथि स्ल्याब हाल्न बाँकी छ। यही चैतभित्रै पुरा गर्ने लक्ष्य राखेका छौं,’ साउदले भने।
सडकको काम पूरा नभएको हुँदा हस्तान्तरण पनि भइसकेको छैन। यो सडक भाइरल भएको देखेर आफूहरू खुसी भएको उनले बताए।
सडक यसरी भयो भाइरल
बस्नेतका अनुसार झन्डै दुई महिना पहिले त्यो गाउँमा दुई युवती स्कुटर लिएर पुगेका थिए। काम विशेषले बाहिरी जिल्लाबाट आएका उनीहरूले फोटो र भिडिओ खिचे। सामाजिक सञ्जालमा पोष्ट गरे। नागबेली सडकको बीचमा स्कुटरमा बसी उनीहरूले खिचेको फोटो भिडिओ धेरैले रूचाए।
बिस्तारै युवायुवतीको आउने क्रम सुरू भयो।
'एकाएक एक शनिबार ५ सयको हाराहारीमा युवायुवती आए,’ बस्नेतले भने ‘त्यसपछिको शनिबार त अझै बढे। आजकल बिदाको दिनमा यो सडक हेर्न आउनेको भीड लाग्छ।’
सडक व्यापार चम्किदै
भीडभाड बढेसँगै यो सडकमा व्यापारिक गतिविधि पनि बढेका छन्।
आइसक्रिम, चाट, पानीपुरी, चटपटे, पानी र चिसो पेय पदार्थ बेच्न दर्जनौं ठेला व्यापारी त्यहाँ आउन थालेका छन्। जसबाट स्थानीयले पनि रोजगारीको अवसर पाएका छन्।
हापुर खोला पुलको नजिकै बायाँतर्फ खैरी गाउँका अञ्जली ठकुरी र अमृता चलाउने चटपटेको पसल थापेर बसिरहेका थिए।
उनीहरू यहाँ यसरी चटपटेको पसल थापेर बस्न थालेको यो तेस्रो शनिबार हो। अघिपछि उनीहरू घर घरायसी काम गर्छन्।
शनिबार बच्चाहरूको विद्यालय छुट्टी हुने हुँदा व्यापार गर्न फुर्सद पाउने ठकुरीले बताइन्।
ठकुरीले तीन जना गाउँका महिलाहरू मिलेर उक्त चटपटे पसल सुरू गरेको बताइन्।
'रोड भाइरल भएपछि हामीले व्यापार कसरी गर्ने भन्ने कुरा सिक्ने अवसर पाएका छौं,’ ठकुरीले भनिन् ‘हामीले यसरी व्यापार कहिल्यै गरेका थिएनौं, केही सिक्दै छौं र सडक हेरेर रमाइलो पनि लिइरहेका छौं।’
यो बीचमा आफूहरूले आवश्यक सामान कहाँबाट किन्ने, ग्राहकलाई कस्तो व्यवहार गर्ने र कतिमा सामान बेच्ने भन्नेजस्ता कुराहरू सिक्दै गएको उनले बताइन्।
भनिन्, ‘दैनिक आए पनि ६/७ सयसम्म बिक्री हुन्छ। शनिबारको दिनमा कम्तिमा तीन हजार पच्चीस सयको व्यापार हुन्छ।’
चलाउनेका अनुसार चटपटे बेचेर दैनिक एक जनालाई दुई-अढाई सयदेखि ५ सयसम्म फाइदा हुने गर्छ।
राम्रो चल्दै गयो भने एक्लाएक्लै पसल थाप्ने योजना उनीहरूले बनाएका छन्।
त्यसैले रोड भाइरल भएकोमा उनीहरूले पनि खुसी छन्।
‘भाइरल सडकमा रमाइलो हेर्न पाइन्छ, टाइम पास हुन्छ,’ चलाउनेले भनिन् ‘अर्कातर्फ व्यापार पनि भइरहेको छ। हामीले दुई-चार पैसा कमाउने अवसर पनि मिलेको छ।’
ठकुरीले आफूले सडक कालोपत्रे गरेपछि यसरी भाइरल होला र यति धेरै मानिसहरू यहाँ आउलान् भनेर कहिल्यै चिताएकी थिइनन्।
‘हामी त यहाँ आसपासमा दिनहुँ गाइबाख्रा चराउन आउँछौं,’ उनले भनिन् ‘आज अवस्था फरक भएपछि आज हामी यहाँ पसल थाप्न आएका छौं।’
चलाउनेले भाइरल रोडमा पुराना साथीहरूसँग पनि बर्सौं पछि भेटघाट गर्ने अवसर जुरेको बताइन्।
फोहर र दुर्घटनाको जोखिम बढ्दै
मानिसहरूको आवतजावत बढेसँगै यो ठाउँमा प्लाष्टिकजन्य फोहोर बढ्न थालेको छ। फोहर बढेपछि स्थानीयले घोराही उपमहानगरपालिका र वडा कार्यालयसँग ठाउँ-ठाउँमा डष्टबिन राखिदिन आग्रह गरेका छन्।
त्यतिमात्र होइन खुल्ला दिसापिसाबको समस्या पनि बढ्न थालेको छ। त्यो समस्या समाधानका लागि घुम्ती शौचालय भए पनि व्यवस्थापन गरिदिन घोराही उपमहानगरपालिकासँग स्थानीयले माग गरेको टोल विकास संस्थाका अध्यक्ष समेत रहेका बस्नेतले बताए।
'वडाध्यक्षदेखि घोराहीका मेयरलाई समेत आग्रह गरिसेकका छौं,’ बस्नेतले भने ‘उहाँहरूले यो भीडभाड थोरै समयको लागि मात्रै हुन सक्छ भन्नुहुन्छ। तर पनि उहाँहरूले सहयोगको आश्वासन दिनु भएको छ।’
पहिले-पहिले यहाँ पानीको समस्या थिएन। पछिल्ला वर्षमा बढ्दै गएको छ।
भाइरल रोड हेर्न आउने पाहुनाहरूका लागि पिउने पानीको प्रबन्ध कसरी गर्न सकिन्छ? भनेर स्थानीय गाउँले छलफलमा जुटेको बस्नेत बताउँछन्।
फोहोर र पानीमात्र होइन सुरक्षाको पनि चिन्ता स्थानीयलाई छ। उनीहरूले सुरक्षाको लागि प्रहरीलाई गुहारे। शनिबार प्रहरी भ्यानसहित भाइरल रोडमा भइरहेका गतिविधि निरीक्षण गर्न पुगेको थियो। ट्राफिक प्रहरीले पनि मोटरसाइकल गस्ती गरिरहेको छ।
ट्राफिक प्रहरी मिनबहादुर क्षेत्रीले रमाइलोका लागि आउने कतिपय मानिसहरूमा समस्या देखिएको बताए।
‘यो भाइरल रोडमा हेलमेट नै नलगाई मोटरसाइकल कुदाउने, मदिरा सेवन गरेका, लाइसेन्स नभएका मोटरसाइकल चालक पनि हामीले नियन्त्रणमा लिएका छौं,’ क्षेत्रीले भने ‘यो लापरबाही समयमै नियन्त्रण नभए यहाँ दुर्घटनाको उच्च जोखिम रहन सक्छ।'
सबै तस्बिरहरू: नारायण खड्का/सेतोपाटी