प्रतिकूल मौसमका कारण पाँच दिनदेखि हवाई उड्डयन क्षेत्र प्रभावित भएको छ।
खराब मौसमको सबभन्दा बढी मार हवाई क्षेत्रले व्यहोर्नु परेको छ। मौसम खराबीले ‘भिजिबिलिटी’ कम हुँदा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिकतर्फका अधिकांश उडान प्रभावित भए। आज पनि कतिपय गन्तव्यको उडान सञ्चालनमा कठिनाइ भएको विमानस्थलले जनाएको छ।
विशेषगरी हेलिकप्टर कम्पनीको व्यापार बढी प्रभावित भएको छ।
तीन दिनका लागि बुकिङ भएका विभिन्न कम्पनीका दैनिक ७० जना यात्रु उडाउने उडान तालिका रहे पनि चार दिनसम्म उडान भएन।
यो अवधिमा करिब ४० उडान रद्द भए।
यस्तै, १२ भन्दा बढी उद्दार उडान रद्द भएको वायुसेवा सञ्चालक संघ नेपालले जनाएको छ।
गोसाइँकुण्डको मात्रै ४० उडान रद्द भएको छ। संघका प्रवक्ता योगराज कँडेल शर्माले प्रतिकूल मौसमका कारण हवाई क्षेत्रको उडान प्रभावित भएको र सबभन्दा बढी असर हेलिकप्टर कम्पनीमा परेको बताए।
काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा शुक्रबारदेखि अचानक देखिएको तुवाँलो र बढेको वायु प्रदूषणले देशभरको जनजीवन प्रभावित भएको छ। वायु प्रदूषणले मानवस्वास्थ्यमा पनि असर गर्ने विज्ञहरूले बताएका छन्।
बसन्तयामको मुख्य आरोहणको मौसममा हेलिकप्टरको व्यापार राम्रो हुन्छ।
अघिल्लो वर्ष कोभिड-१९ महामारीका कारण आरोहण नभएपछि प्रभावित बनेको यो व्यवसाय कोभिडपछि विस्तारै गति लिँदै गरेकामा केही दिनदेखिको मौसम खराबीको थप चपेटामा परेको छ।
हेलिकप्टरका ११ कम्पनी रहे पनि १० कम्पनीका ३६ हेलिकप्टरले सेवा दिँदै आएका छन्। भिजिबिलिटी नहुँदा हेलिकप्टरमात्र हैन जहाजको उडान पनि प्रभावित भएको छ।
प्रवक्ता शर्माका अनुसार हवाईजहाजतर्फ पनि चार दिनसम्म अधिकांश उडान रद्द भए।
सोमबारसम्मको तथ्यांकमा ट्रङक रूटमा बुद्ध एयरको ६५, यती एयरलाइन्सको ४५, श्री एयरलाइन्सको २२, सौर्य एयरलाइन्सको १४ र अन्य एयरलाइन्सको आठ उडान रद्द भएका छन्।
यस्तै, स्टल रूटमा पनि करिब ४० उडान रद्द भएको संघका प्रवक्ता शर्माले जानकारी दिए। अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ नियमित उडानमा ४०० उडान हुने गरेका छन्। हवाईजहाजतर्फ नौ कम्पनीका ५० जहाज छन्।
पछिल्लो चार दिनमा आन्तरिकतर्फ सयौं उडान रद्द भएका छन्। प्रतिकूल मौसमकैबीच विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रियतर्फ यान्त्रिक पद्धति (आइएफआर) उडान सञ्चालन गरिरहेको छ। अन्तर्राष्ट्रिय उडानतर्फ पनि केही उडान प्रभावित भएका छन्। थोरै उडान डाइभर्ट भएका थिए।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
अहिले पनि नेपालको आकाशमा बाक्लो तुवाँलो लागेको छ।
विभागका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले केही दिनदेखि वायुमण्डलमा देखिएको धुलो र धुवाँका साथै नेपाल तथा भारतका विभिन्न स्थानमा लागेको डढेलोको धुवाँले मौसम बिग्रिएको जानकारी दिए। अर्का मौसमविद् मञ्जु बासीले डढेलोका कारण वायुमण्डलमा असर परेको र बाक्लो तुवाँलो लागेको बताइन्।
अहिले काठमाडौं उपत्यका पूरै तुवाँलोले ढाकेको र भिजिबिलिटी कम रहेको उनले जानकारी दिए। वन तथा वातावरण मन्त्रालय, वातावरण विभागले यस्तो अवस्थामा सावधानी अपनाउन आग्रह गरेको छ। रासस