शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीबारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एक सिङ्गे गैंडा गणना कार्य सुरू भएको छ।
गैंडा गणनाका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ।
निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन वटा ब्लकमा गैंडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए।
‘गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी सुरू गरेका छौं’, उनले भने, ‘गणनाको कार्यसँगै गैंडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ।’
प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैंडा गणनाको कार्य हुँदै आएको छ। निकुञ्जमा १७ वटा गैंडा संरक्षित रहेका छन्। तीमध्ये १० वटा भाले, पाँचवटा पोथी र दुइटा केटाकेटी संरक्षित रहेका छन्।
गैंडाको बासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैंडाको सङ्ख्या बढ्दै गएको छ।
पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारवटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो। त्यसपछि सन् २०१७ मा पाँचवटा गैंडा निकुञ्जमा ल्याइएको थियो। स्थानान्तरण भएको दुई दशकपछि गैंडाको सङ्ख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ।रासस