काठमाडौं महानगरपालिकाले ल्याण्डफिल साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि उपत्यकाको फोहर शुक्रबार (आज) देखि उठ्ने भएको छ।
नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत १३ गतेदेखि फोहर विसर्जनमा अवरोध गर्दै आएका थिए।
शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि भने फोहर विसर्जनमा गरिएको अवरोध हटेको छ।
काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलबासीले राखेको शिक्षा र स्वास्थ्यसम्बन्धी मागहरू महानगरपालिकाले पूरा गर्ने सहमति भएको बताए।
यस्तै, रोजगारी, विकास निर्माण लगायतका मागहरू सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको पनि उनले बताए।
ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयका लागि ४६ जना र धुनिबेंसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ।
करार सेवामा नियुक्त हुने शिक्षकहरूको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात काठमाडौं महानगरपालिकाले शिक्षक पारिश्रमिक बापत उपलब्ध गराउने रकम स्थगन गर्ने सहमति पनि भएको छ।
यस्तै, स्वास्थ्य उपचारको दीगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिन भित्रमा निष्कर्षमा पुग्ने सहमति पनि भएको छ।
बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहरमैला विसर्जन सुरू भएपछि हालको सिसडोल ल्याण्डफिल साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौं महानगरपालिकाले तत्काल सुरू गर्ने सहमति पनि भएको छ।
यस्तै, फोहरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरूलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेंशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८/०७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ट तीन/तीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ।
फोहरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरूको स्वास्थ्य सेवा सहजताको लागि सहयोग गर्ने क्रममा धुनीवेंशी नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने भएको छ।
उपत्यकाको फोहर व्यवस्थापनमा भएको अवरोध हटाई आजैका मितिबाट फोहर व्यवस्थापन सुचारू गर्ने सहमति पनि भएको छ। रासस