गत महिना मारवा सुलेहदोरले अनौठो कुरा देखिन्। २९ वर्षकी उनी इजिप्टकी पहिलो महिला पानीजहाज कप्तान हुन्।
एभर गिभन नामक विशाल कन्टेनर पानीजहाज स्वेज नहरमा फस्यो भन्ने समाचार बाहिरिएको थियो। जसकारण विश्वकै सबैभन्दा व्यस्त रहने व्यापारिक मार्ग बन्द भयो। उक्त पानीजहाज मार्च २३ गते बिहान फसेको थियो।
पानीजहाज फसेपछि मारवाले आफ्नो फोन हेरिन्। त्यसपछि त उनलाई झट्का नै लाग्यो। किनकी त्यसको दोष उनीमाथि थोपरिएको रहेछ। समाचारहरूमा स्वेज नहरमा पानीजहाज फस्नुको कारण उनी रहेको बताइएको थियो।
मारवा भन्छिन्,'यो खबर देखेर मलाई झट्का लाग्यो।'
स्वेज नहरमा पानीजहाज फस्दा मारवा सयौं माइल टाढा एलेक्जेन्ड्रियामा थिइन्। उनी आएडा-फोर नामक पानीजहाजको कमान्ड गरिरहेकी थिइन्।
सामाजिक सञ्जालमा एभर गिभन जहाज स्वेज नहरमा फस्नुमा मारवाको भूमिका भन्दै एउटा स्क्रिन सट सेयर भइरहेको थियो। बिबिसीका अनुसार त्यसबारे समाचार अरब न्युज नामक एक वेबसाइटमा छापिएको थियो।
अरब न्युजले २२ मार्चमा इजिप्टकी पहिलो महिला पानीजहाज कप्तान भन्दै छापेको फोटोको स्क्रिन सटलाई एडिट गरेर सेयर गरिएको थियो। एडिट गरिएको त्यो तस्वीर सयौं मानिसले फेसबुक र ट्विटरमा सेयर गरेका थिए।
त्यसरी अफवाह फैलिएपछि उनको नाममा कयौं फेक ट्विटर अकाउन्ट पनि बने।
बिबिसीसँग कुराकानी गर्दै उनले यसरी अफवाह कसले र किन फैलाएको भन्ने थाहा नपाएको बताइन्।
'म यो क्षेत्रमा सफल महिला हुँ। म इजिप्टकी भएकाले पनि मलाई निशाना बनाएको भन्ने लाग्छ। तर म दाबी साथ भन्न सक्दिनँ, यसो किन गरियो,' उनले भनिन्।
समुद्री पारवहन क्षेत्रमा पुरूषहरूको दबदबा भएकाले उनले यसअघि पनि तमाम चुनौती सामना गरेकी छन्।
मारवाले बच्चादेखि समुद्रसँग आकर्षित थिइन्। उनका दाजु अरब एकेडेमी फर साइन्स, टेक्नोलोजी एन्ड मरिटाइम ट्रान्सपोर्टमा पढ्न गएपछि उनलाई पनि पानीजहाज चलाउने रहर पलाएको थियो। तर एकेडेमीमा पुरुषलाईमात्र भर्ना लिन्थ्यो। त्यसलाई बेवास्ता गर्दै उनले भर्ना निवेदन दिइन्। इजिप्टका राष्ट्रपति होस्नी मुबारकको अनुमति दिएपछि उनले एकेडेमीमा पढ्न पाएकी थिइन्।
पढाइ सकेपछि मारवा आएडा-फोरको कप्तान बनेकी थिइन्। उनले सोही पानीजहाज स्वेज नहरमा चलाएकी थिइन्।
सुरूमा एभर गिभन पानीजहाज फसाएको अफवाहले आफूलाई तनाव दिएको भए पनि अहिले त्यसबाट आफूलाई हौसला मिलेको उनले बताएकी छन्।
धेरै मानिसहरूले गरेका सकारात्मक कमेन्टले उर्जा मिलेको उनको भनाइ छ।