साउदी अरबका एक जना राजकुमारले बेलायतको कट्सवल्डमा रहेको आफ्नो सम्पत्ति बहराइनका राजालाई बेचेका छन्।
बेलायती समाचार पत्र द गार्डियनका अनुसार साउदी राजकुमार बन्डर बिन सुल्तानले ग्लिम्पटन पार्क स्टेट बहराइनका राजा हमाद बिन इसा अल खालिफा र उनका छोरा सलमान बिन हमाद बिन इसा अल खालिफालाई १६ करोड ६८ लाख अमेरिकी डलरमा बेचेका हुन्।
७२ वर्षीय राजकुमार सुल्तान अमेरिकाका लागि साउदी अरबका पूर्वराजदूत र साउदी इन्टेलिजेन्स एजेन्सीका महानिर्देशक थिए।
उनले गत फेब्रुअरीमा ग्लिम्पटन पार्क स्टेट बेचेको खुलेको छ। यो स्टेटमा १८ औं शताब्दीको एउटा घर, ३९ वटा कटेज, एउटा चर्च र पार्क छन्। उनी यहाँ प्राय: आफ्नो प्राइभेट जेटमा जाने गर्थे।
सुल्तानले सन् १९९० को दशकमा यो स्टेट एक जना अष्ट्रेलियनसँग १ करोड ११ लाख डलरमा किनेका थिए। त्यसको पुनर्निर्माणका लागि उनले झन्डै ६ करोड डलर खर्च गरेका थिए। अहिले बेच्दा उनले आफूले लगानी गरेभन्दा दोब्बर बढी पैसा लिएको समाचारमा जनाइएको छ।
अघिल्लो वर्ष कोरोनाभाइरसको महामारी फैलिएपछि संसारका धनाढ्यहरू यस्ता स्टेटहरूमा बढी आकर्षित हुन थालेका छन्।
स्टेटहरू किनबेच गर्ने साभिल्स संस्थाका अनुसार गत वर्षमात्रै बेलायतमा २१ वटा स्टेटको किनबेच भएको थियो। जबकी सन् २०१९मा १ वटामात्रै स्टेटको कारोबार भएको थियो।