बझाङको तलकोट गाउँपालिका-१ चौडामा मंगलबार बिहान साढे ७ बजे पानी ट्यांकी फुटेर दुई जनाको मृत्यु भएको छ।
५२ वर्षीय गोगल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवरको मृत्यु भएको हो। गोगलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए। त्यस्तै सुन्दरीदेवीको उपचारको क्रममा मृत्यु भएको हो। मृतकहरू छिमेकी हुन्।
ट्यांकी फुटेपछि सुन्दरीदेवीलाई अमिसा अस्पताल लगिएको थियो। उनको त्यही उपचारको क्रममा मृत्यु भएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बनेको ट्यांकीमा पानी जम्मा गर्ने क्रममा फुटेको हो। परियोजनाअन्तर्गत सेती नदीबाट लिफ्टिङ गरेर गाउँमा ल्याइएको थियो। पानी ट्यांकी चर्केर पानी चुहिन थालेपछि एक हप्ताअघि मर्मत गरिएको थियो।
मर्मत गरिएको ट्यांकीमा पानी जम्मा गर्न लागेका बेला एक्कासि ट्यांकी फुटेर घटना भएको स्थानीय गोपाल कुँवरले बताए।
अमिसा अस्पतालको लापरबाहीका कारण सुन्दरीको मृत्यु भएको आफन्तले आरोप लगाएका छन्।
सुन्दरीको खुट्टामा चोट लागेको थियो। थप उपचारको लागि अस्पताल ल्याएको तर डाक्टरले उपचारमा लापरबाही गर्दा श्रीमतीको मृत्यु भएको मृतकका श्रीमान गोपाल कुँवरले बताए।
उनले भने, ‘डाक्टरले श्रीमतीलाई सुइँ र स्लाइन लगाएर बाहिर गएको र पछि बिरामीको मृत्यु भइसकेपछि अस्पतालमा प्रवेश गरेकाले डाक्टरको लापरबाहीले श्रीमतीको मृत्यु भयो।’
अस्पतालमा कार्यरत डाक्टर महेश शाहका अनुसार बिरामीलाई सुइँ र स्लाइन दिएर बाहिर गएको र बिरामीको हेरविचारको लागि बीचमा आएर पल्स जाँच गर्दा पल्स मेन्टेन भएको थियो। पछि बिरामीको मृत्यु भएको उनले जानकारी दिए। साथै बिरामीका आफन्तले डाक्टरलाई कारबाहीको माग गर्दै अस्पताल क्षेत्र घेराउ गरेका छन्। रासस