गएको हिँउदसम्मै बेलझुण्डी रंगशाला देख्नेहरू टक्क उभिएर नियाल्थे।
बीचमा हरियो दुबो र वरिपरि गुलाबी रंगको सेन्थेटिक ट्रयाकले जो कोहीलाई लोभ्याउँथ्यो।
तारबार बेरिएको भए पनि तुलसीपुर-घोराही सडक खण्डमै रहेको रंगशालाले सबैका आँखा तान्थ्यो।
पहिलो पटक देख्नेहरु भन्ने गर्थे- ‘वाउ! क्या दामी रंगशाला।’
कलकत्ताबाट ल्याएर रोपिएको बरमुडा दुबो आकाशबाट पानी पर्दासम्म रंगशालामा हराभरा थियो।
कच्ची सडक, माटोको ट्रयाक र घाँसे मैदानमा अभ्यास गर्दै आएका खेलाडीहरू जिल्लामै सेन्थेटिक ट्रयाकसहितको रंगशाला निर्माण भएपछि त्यहाँ खेल खेल्न र अभ्यास गर्न उत्साहित थिए।
गर्मी दिनमा दुबोमा पानी छर्न मैदानको वरिपरि सातवटा च्याम्बर निर्माण गरिएको छ। त्यहाँ पानी पुर्याउन नजिकै एक लाख लिटर क्षमताको अन्डग्राउन्ड पानी ट्याङ्की निर्माण गरिएको छ।
त्यो अन्डरग्राउन्ड ट्याङ्कीमा पानी भर्न मैदानको एउटा कुनोमा डिप बोरिङ गरिएको कुरा स्थानीयले थाहा पाएका थिए। त्यसैले यो रंगशालाको दुबो कहिल्यै सुक्न पाउने छैन, हराभरा भइरहने छ भन्ने उनीहरूलाई विश्वास थियो।
अचेल भने रंगशालको गेटमा ताल्चा झुन्ड्याइएको छ। सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ।
यो वर्ष हिउँदमा राम्रोसँग पानी परेन। त्यसैले त्यो सुन्दर रंगशाला भित्रको खेल मैदान भित्रको दुबो सबै सुकिसकेको छ। दुबो सुकेपछि रंंगशाला उजाड र निरश लाग्ने भइसकेको छ।
सुन्दर रंगशाला उजाड बनेको देखेर स्थानीय पनि निराश छन्।
दाङको बेलझुण्डी रंगशालाको चर्चा तयार नहुँदै सुरू भइसकेको थियो ।
निर्माणकै चरणमा रहे पनि रंगशालामा २०७५ चैत २६ देखि ८ औं राष्ट्रिय महिला फुटबल प्रतियोगिता भयो। १५ दिन प्रतियोगिता चल्यो। एथ्लेटिक्सका सबै इभेन्ट यसैमा भए। त्यो सबै नियालेका दंगाली दंग थिए।
तुलसीपुर उपमहानगरपालिका-१७ बेलझुण्डीमा अवस्थित यो रंगशाला परिसरमा प्रदेश सरकारले २०७६ मा प्रदेश एक्स्पो लगायो।
त्यसपछि झनै नेता र मन्त्रीहरू यो रंगशालालाई दाङको सान र प्रतिष्ठासँग तुलना गर्न थाले। उनीहरू जिल्लाको गौरव बढाउने एउटा महत्वपूर्ण संरचनाका रूपमा यो रंगशालालाई अर्थ्याउने गर्छन्।
अहिले रंगशाला उजाड देखिन थालेको छ। लाखौंमा किनेर ल्याएको सबै दुबो सुकिसकेको छ।
जिल्ला खेलकुद विकास समितिका पूर्वअध्यक्ष डिल्लीबहादुर डाँगीका अनुसार सरोकारवाला निकायकै लापरबाहीका कारण बेलझुण्डी रंगशाला उजाड बनेको हो।
‘मेरै पालामा रंगशाला भित्र सिंचाइका लागि डिपबोरिङ पनि भइसकेको छ ,ट्रान्सफर्मर पनि ल्याइसकिएको हो,’ डाँगीले भने ‘सबै संरचना तयारी छ भने खेल मैदानको दुबोमा सिंचाइ नगर्नु ठूलो लापरबाही हो।’
रंगशाला तयार भए पनि ठेकेदार कम्पनीले हालसम्म हस्तान्तरण नगरेको हुँदा त्यसमा ताल्चा लगाएर प्रवेश निषेध गरिएको भन्दै उनले आपत्ति जनाए।
‘स्थानीय खेलाडीलाई रंगशालामा प्रवेश गर्न र खेल्न पनि प्रतिबन्ध लगाइँदै आइएको छ,’ डाँगीले प्रश्न गरे, ‘खेल्न नदिने भए करोडौंको रंगशाला किन बनाएको हो?’
करोडौंका खेल संरचना तयार भइसक्दा पनि स्थानीयले हेरेर बस्नु पर्ने परिस्थितिको अन्त्य गर्न राखेपले सक्रियता देखाउनु पर्ने उनको सुझाव छ।
‘हाम्रो कार्यकाल सकिएपछि फेरि नयाँ समिति व्यवस्थापनमा लागेको देखिएन,’ उनले भने ‘ भएका कर्मचारीले रंगशाला उजाड बनेको टुलुटुलु हेरेर बस्दै तलब भरिरहनु दुर्भाग्य हो।’
राखेप दाङ शाखाकी कार्यालय प्रमुख पद्मा चौधरीले सिंचाइ नभएका कारण दुबो सुकेको बताइन्।
‘डिप बोरिङ त छ, तर बिजुली बत्तिको लाइन काटेको छ,’ चौधरीले भनिन्, ‘झन्डै १ लाख ३२ हजार जति बक्यौता बुझाउन पर्ने भएको हुँदा सिंचाइमा समस्या भएको छ ।’
उनले आफू तीन दिनअघि मात्रै प्रशासनिक प्रमुख भएर आएको हुँदा आर्थिक हिसाबकिताब सबै हेरेर केन्द्रमा बक्यौता तिर्नका लागि ताकेता गर्ने बताइन्।
राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले शाखा प्रमुखले काम नगरेको हुँदा हालसालै शाखा प्रमुख परिवर्तन गरिएको र अब दुबोमा सिंचाइको व्यवस्था पुग्ने बताए।
‘बिजुलीको समस्या भएर हो। अहिले क्लियर भएको छ,’ उनले भने ‘बत्तीले पानी नतानेर समस्या भएको रहेछ। अब त्यो समस्या रहँदैन।’
रंगशालाका इञ्जिनियर दीपक बरालले राखेपको लापरबाहीले दुबै सबै सुकेको बताए।
‘दुबोमा पानी हाल्नु पर्ने, मेन्टेन गर्नुपर्ने काम त राखेपको हो नि,’ उनले भने, ‘बिजुलीको पैसा नतिरेको हुँदा विद्युत काटिएको छ र पनि राखेप चुपचाप बसेको छ।’
किन रंगशालामा ताल्चा लगाएर राखिएको हो? भन्ने प्रश्न गर्दा उनले त्यो प्रश्न राखेपलाई सोध्न आग्रह गरे।
निर्माण कम्पनीले रंगशाला अझै हस्तान्तरण गरेको छैन।
हस्तान्तरणबारे सोधिएको प्रश्नमा बरालले रंगशालामा प्रतियोगिता सम्पन्न भइसकेको भन्दै अब फेरि हस्तान्तरण गर्न जरूरी नभएको दाबी गरे।
‘राष्ट्रिय प्रतियोगिता भइसकेपछि हस्तान्तरण गरिरहनु पर्दैन,’ उनले भने, ‘हाम्रो त्यस्तै सम्झौता भएको थियो।’
त्यसो भए किन रंगशालामा ताल्चा लगाएर राखेको हो?
उनले रंगशाला निर्माण भइसकेको डेढ वर्ष बित्दासमेत रकम नपाएको गुनासो गरे।
‘हामीले काम गरेबापत पाउनु पर्ने ८/९ करोड जति रकम पाएकै छैनौं,’ उनले भने, ‘पैसा दिएकै भोलिपल्ट रंगशाला खुलिहाल्छ नि!’
उनले पैसा नपाएकै कारण आफूहरूले रंगशाला बन्द गरेर भने नराखेको बताए।
‘कुनै पनि गेम, इभेन्ट गर्ने भए गरे हुन्छ,’ उनले भने, ‘राखेपसँग समन्वय गरेर पनि स्थानीयले खेलकुदका गतिविधि रंगशाला भित्रै गर्दै आएका छन्।’
उनले राष्ट्रको सम्पत्ति जोगाउन सरोकारवाला निकाय र स्थानीय सर्वसाधारण सबै लाग्नु पर्ने सुझाए।
राखेपका इञ्जिनियर अरूण उपाध्यायले काम भइसक्दा पनि भुक्तानी दिन नसकेको बताए।
‘दुबोमा पानी त हाम्रै कर्मचारीले छरेको भए पनि हुने,’ उनले भने, 'हाम्रा कर्मचारीले लापरबाही गरेको देखियो।’
राखेपका विभागीय प्रमुख कुलबहादुर थापाले भने औपचारिक रूपमा रंगशाला हस्तान्तरण भइ नसकेकाले खेल मैदानको दुबोमा सिंचाइ गर्ने दायित्व रंगशाला निर्माण कम्पनीको रहने बताए।
‘निर्माण कम्पनी पनि यसरी गैरजिम्मेवार बन्न पाउँदैन,’ उनले भने, ‘हामीलाई रंगशाला हस्तान्तरण गर्दा हराभरा खेल मैदान चाहिन्छ।’
रकम भुक्तानीमा ढिलाइ भयो भन्दैमा निर्मित संरचना बिग्रिसकेको अवस्थामा बुझ्न नसकिने उनले बताए।
बेलझुण्डी रंगशाला २४ करोड २४ लाख बढी लागतमा दिवा एमए प्रतिष्ठा जेभीले निर्माणको जिम्मा पाएको भए पनि काम भने एमए कन्स्ट्रक्सनले गरेको हो।
निर्माण कम्पनीका प्रतिनिधि प्रकाश पोखरेलका अनुसार रंगशालामा पश्चिमतर्फ भिआइपी प्याराफिट र पूर्वमा पब्लिकका लागि प्याराफिट निर्माण गरिएको छ।
रंगशालामा फूटबल ग्राउन्डका साथै सेन्थेटिक ट्रयाक पनि निर्माण गरिएको छ। नेपालमा दशरथ रंगशाला पछि मोफसलमा सेन्थेटिक ट्रयाक भएको रंगशाला यहीमात्र हो।
पछिल्लो समय पोखरामा पनि यस्तै सेन्थेटिक ट्रयाकसहितको रंगशाला निर्माणको काम भइरहेको छ।
भिआइपी प्याराफिटभित्र खेलाडीका लागि चेञ्जिङ रूम, अफिस रूम, कन्फरेन्स हल, रेफ्रीका लागि छुट्टै रूम बनाइएको छ।
रंगशालाको पश्चिमतर्फ निर्माण गरिएको भिआइपी प्याराफिटमा ४ सय १२ जना बस्ने मिल्ने सिट छन्। रंगशालाको पूर्वी भागमा भने आमदर्शकका लागि भनेर नर्मल प्याराफिट निर्माण गरिएको छ।
भिआइपी प्याराफिटका लागि आवश्यक धातु तथा दर्शक बस्ने सिट मलेसियाबाट ल्याइएको सापकोटाले जानकारी दिए। ती जडान गर्न फ्रान्सका कालिगढ ल्याइएका थिए। रंगशाला वरिपरि लगाइएको तारबार पनि विदेशबाटै ल्याइएको उनले बताए।
रंगशालाका साइट इञ्जिनियर आशकुमार राईले फुटबल ग्राउन्ड फिफा स्ट्यान्डर्डअनुसार निर्माण गरिएको जानकारी दिए।जसको लम्बाई १०५ मिटर र चौडाई ६८ मिटर रहेको उनले बताए।
रंगशालामा एक राउन्डमा ४ सय मिटर पुग्ने एथलेटिक ट्रयाक (सेन्थेटिक ट्रयाक) निर्माण गरिएको छ। सेन्थेटिक ट्रयाक निर्माण गर्न आवश्यक सामाग्री र कालिगढ पनि चीनबाट ल्याइएको साइट इञ्जिनियर राईले बताए।
सेन्थेटिक ट्रयाकभन्दा बाहिर वरिपरि ३ मिटरको फुटपाथ निर्माण गरिएको छ। वरिपरि तारजाली पनि छ। रंगशालामा अन्डरग्राउन्ड नाला पनि निर्माण गरिएको छ।
यो रंगशालामा फुटबल सटफुट, ज्याभ्लिङ थ्रो, ह्यामरिङ, लङ जम्प, हाइजम्प, त्रिपल जम्पलगायत एथेलेटिक्सका समेत गरी १४ वटा खेल खेल्न सकिन्छ।