कोरोनाभाइरसको संक्रमण भएर निको भएका तीन जनामध्ये एक जनालाई मानसिक र मस्तिष्कसम्बन्धी समस्या देखिएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
मंगलबार ल्यान्सेन्ट साइकीआट्री जर्नलमा प्रकाशित अध्ययन रिपोर्टमा अनुसन्धानकर्ताहरूले निको भएकाहरूमध्ये ३४ प्रतिशतले संक्रमित भएको ६ महिनाभित्र मस्तिष्कसम्बन्धी/ मानसिक समस्याको उपचार गरेको देखिएको उल्लेख गरेका छन्।
त्यसमध्ये सबैभन्दा धेरैलाई एन्जाइटी (डर/चिन्ता) भएको छ। कोरोनाबाट निको भएका १७ प्रतिशतलाई एन्जाइटी भएको देखिएको छ भने १४ प्रतिशतलाई मुड (मनोदशा) बदलिरहने समस्या भएको अध्ययनमा उल्लेख छ।
संक्रमणपछि अस्पताल भर्ना भएर उपचार गरेकाहरूलाई मस्तिष्कसम्बन्धी समस्या जटिल भए पनि घरमै बसेर निको भएकाहरूलाई पनि यो देखिएको छ।
'कोरोनाको असर जति बढी भएको थियो त्यहीअनुसार मानसिक समस्याको असर पनि बढेको छ। अस्पतालमा बसेर निको भएकाहरूमध्ये झन्डै ३९ प्रतिशतसम्मलाई त्यस्तो समस्या देखिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ता म्याक्सिम टाक्वेटले भने।
यो अनुसन्धानबाट देखिएको तथ्यांकले हाम्रो स्वास्थ्य प्रणालीले कोरोना निको भएकालाई कसरी सघाउनु पर्छ भन्ने कुरालाई देखाएको रिपोर्टमा उल्लेख छ।
'हाम्रो अनुसन्धानबाट आएको निष्कर्षले मस्तिष्कसम्बन्धी रोग र मानसिक समस्या अरू फ्लु र श्वासप्रश्वाससम्बन्धी रोग लागेकाहरू भन्दा कोरोना लागेकालाई धेरै हुन्छ भन्ने देखाउँछ। छ महिनापछि उनीहरूलाई के हुन्छ भन्ने अब हेर्नुपर्छ,’ टाक्वेटले भनेका छन्।
यो अनुसन्धानमा २ लाख ३६ हजार मानिसहरू सहभागी थिए। अनुसन्धानकर्ताहरूले कोरोना निको भएकाहरू र श्वासप्रश्वाससम्बन्धी संक्रमण भएका अन्य बिरामीहरूबीच तुलना गरेका थिए।
उक्त अध्ययनले कोरोना लागेर निको भएकाहरूलाई अरू फ्लुबाट निको भएकाहरूभन्दा ४४ प्रतिशत बढी मस्तिष्कसम्बन्धी र मानसिक समस्या हुने खतरा हुने देखाएको छ।