उनी आफू धेरै पढेका थिएनन् तर किताबप्रति उनको मोह यति धेरै थियो कि दैनिक ज्यालादारीबाट कमाएको पैसाले उनी किताब किन्थे। ज्ञान बाँड्ने अभिलाषाले उनले एउटा पुस्ताकालय बनाएका थिए। त्यहाँ झन्डै ११ हजार पुस्तक राखेका थिए।
भारतको कर्नाटकाको माइसुरका ६३ वर्षीय सयद इसाकले जिन्दगीभरि दु:ख गरेर जम्मा पारेका ती पुस्तक शुक्रबार खरानी भएका छन्। राजिब नगरका स्थानीयले पढून् भनेर उनले बनाएको पुस्तकालयमा अज्ञात समूहले आगो लगाइदिएको छ।
भारतीय समाचार पत्र द हिन्दुका अनुसार दैनिक ज्यालादारी गरेर जीवन गुजारिरहेका इसाकले आफ्नो पुस्तकालयमा कन्नाडा भाषामा अनुदित भागवत् गीता, बाइबल र कुरान राखेका थिए। उनको पुस्तकालयमा सामान्य ज्ञानदेखि विभिन्न भाषाका अरू किताब पनि थिए। उनले यो पुस्तकालय १० वर्षअघि स्थापना गरेका थिए।
'आफू मजदुरी गर्ने भए पनि उनी २२ वटा दैनिक पत्रिकाका ग्राहक बनेका थिए र स्थानीयहरूले पढ्न सकून् भनेर सबै पत्रिका पुस्तकालयमा राख्थे,’ उनको पुस्तकालयमा गइरहने पत्रकार खैसर सफदारले भनेका छन्।
इसाक हरेक दिन पुस्तकालय जान्थे, सफा गर्थे र आगन्तुकहरूको विवरण पनि राख्थे।
इसाकलाई आफ्नो पुस्तकालय जलाउनेहरू कन्नाडा भाषाका विरोध भएको आशंका छ। उनले त्यही आधारमा उदयगिरि प्रहरी चौकीमा उजुरी पनि हालेका छन्।
उनको उजुरीपछि प्रहरीले घटनाबारे छानबिन थालेको छ। प्रहरीको अनुसन्धानबाट केही मानिसहरूले इसाकको पुस्तकालय बनाउने काम मन नपराएको देखिएको छ। उनीहरूले यसअघि पनि पुस्तकालय जलाउन खोजेको प्रहरी अनुसन्धानमा खुलेको छ।
युनिभर्सिटी अफ मसुरको राजनीतिशास्त्र विभागका प्रमुख मुजाफर असादीले ज्ञान बाँड्ने हिसाबले एक गरिबले खोलेको पुस्तकालय जलाउनु निन्दनीय भएको बताए।
'मैले मानिसहरूलाई इसाकलाई पैसा होइन पुस्तक दिन अनुरोध गरेको छु ताकि आगो लगाउनेहरूले थाहा पाऊन्-ज्ञान नष्ट गर्न सकिन्न,’ उनले भनेका छन्।