सोमबार औंसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औंसी आज बिहान मौन स्नान गरी मनाइएको छ।
सोमबार औंसी परेका दिन बिहान उठेर नबोलिकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ।
आज परेको सोमबारे औंसी यस वर्षको तेस्रो सोमबारे औंसी हो।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औंसी पर्ने गरेको बताउँछन्।
सोमबारे औंसी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उनले बताए।
औंसी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ।
सोमबार औंसी परेका दिन मातापिता हुने नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रूपमा उचित रहेको जनाइएको छ।
प्रत्येक महिनामा आउने औंसीलाई पनि विशेष पर्वका रूपमा मनाउने वैदिक परम्परा छ।
मातापिता नहुनेले भने औंसी पर्वका दिन श्राद्ध, तर्पण, सिदा दानलगायत गरी मनाउँछन्। यसका लागि पनि सोमबार परेको औंसी विशेष रूपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताए। यसअघि गत साउन ५ र मंसिर २९ गते पनि सोमबारे औंसी परेको थियो। रासस