भारतको नियामक निकायले रूसमा बनेको कोरोनाभाइरसविरूद्धको भ्याक्सिन स्पुतनिक-५लाई अनुमति दिन सिफारिस गरेको छ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार सोमबार सब्जेक्ट एक्पर्ट कमिटीका विज्ञहरूले स्पुतनिक-५लाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस गरेको हो।
भारतले यसअघि अक्सफोर्ड विश्वविद्यालय र अष्ट्राजेनेकाले उत्पादन गरेको भ्याक्सिन र भारतमै बनेको अर्को भ्याक्सिनलाई प्रयोग अनुमति दिएको थियो।
रूसको गामालेया रिसर्च इन्स्टिच्युट अफ एपिडेमियोलोजी एन्ड बायोलोजीले बनाएको स्पुतनिक-५ भ्याक्सिन दुई डोज लगाउनु पर्छ।
यो भ्याक्सिनको मुख्य चुनौती भनेको यसलाई -१८ डिग्रीमा स्टोर गर्नुपर्छ। रूसी अधिकारीहरूले भ्याक्सिनको प्रभावकारिता ९१ प्रतिशत रहेको र ५९ देशमा प्रयोग अनुमति पाइसकेको बताएका छन्।
पछिल्लो समय भारतमा कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको छ। आइतबारमात्रै त्यहाँ १ लाख ७० हजार नयाँ संक्रमित थपिएका छन्। संक्रमण बढ्दै गए पनि भारतमा खोपको भने अभाव देखिएको छ।
संसारकै ठूलो खोप उत्पादक सेरम इन्स्टिच्युट अफ इन्डियाले विभिन्न कारणले मागअनुसार खोप उत्पादन गर्न सकेको छैन।