२०५८ साल फागुन अन्तिमतिरको कुरा हो। उदपुरको चौदण्डीगढी नगरपालिका वडा नं. ५ सुन्दरबस्तीका विज्ञान कोइराला १४ वर्षका थिए।
घरमा सरसल्लाह गरेर ‘भारत जान्छु’ भन्दै उनी हिँडेका थिए।
देशमा माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो।
विज्ञानले उतिबेलै नाडेपानी विद्यालयबाट कक्षा ८ उत्तीर्ण गरिसकेका थिए। पढाइ राम्रै थियो।
भाइ सुवासका अनुसार विज्ञानलाई नेपाली सेना र माओवादी दुबै पक्षबाट त्रास थियो। उनी दुबै समूहको निगरानीमा थिए।
यस्तो बेलामा असुरक्षा देखेर आमा वेदकुमारीले उनलाई कलिलैमा भारत जान अनुमति दिएकी थिइन्।
बुवा भीम बितिसकेका थिए। घरायसी समस्या पनि टारुँला भन्ने उनलाई लागेको थियो।
‘ज्यान पनि जोगिएला भनेर आमाले पठाउनुभयो,’ सुवासले भने।
तर, त्यसपछि विज्ञान सम्पर्कविहीन भए।
विज्ञान ‘बेपत्ता’ भएपछि घरपरिवार आत्तिए।
सकेको जति खोजबिन गरे तर अत्तोपत्तो लागेन।
***
विज्ञान बेपत्ता भएको २० वर्षपछि र केही दिनअघि उनी बाँकेको नेपालगन्जमा फेला परेको खबर परिवारले थाहा पाए।
प्रहरीबाट त्यो खबर पाउँदा ३० वर्षीय भाइ सुवास हर्षविभोर भए।
दाजु फेला परेको भन्ने कुरा तत्कालै सुवासले ६५ वर्षीया आमालाई सुनाए। बिहे भइसकेकी दिदी मीना र बहिनी तुलसालाई पनि खबर गरे।
सोही दिन घर परिवारको सल्लाह लिएर सुवास दाजुलाई भेट्न बाँके गए।
बाँकेको सडकमा दयनीय अवस्थामा फेला परेका विज्ञानबारे सुरूमा स्थानीय पाठकले कालपृष्ठ पत्रिकाको कार्यालयमा सूचना दिएका थिए।
पत्रिकाका प्रकाशक/सम्पादक कमल खत्रीका अनुसार चैत २४ गते बेलुकीपख त्यहाँ पुग्दा विज्ञानको अवस्था निकै नाजुक थियो। दुई तीनदेखि खाना पनि नखाएको भन्ने थाहा पाएपछि उनलाई खाना खुवाइयो।
समाचारका लागि विज्ञानसँग पत्रिकाको टिमले कुरा गर्यो। त्यहाँ विज्ञानले आफ्नो घर उदयपुर भएको जस्तो लाग्ने गरेको बताएका थिए।
पत्रिकाले उनलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगायो। प्रहरीले नेपालगञ्जस्थित निल सागर असहाय अशक्त तथा ज्येष्ठ नागरिक केन्द्रमा पठाइदियो।
केन्द्रका संस्थापक उपाध्यक्ष नारायण सुवेदीका अनुसार विज्ञान मुस्किलले बोल्न सक्थे। उनको सरसफाइ र खानपानमा केन्द्रले ध्यान दियो।
अर्को दिन पत्रिकामा समाचार आयो। खबरले चर्चा पायो।
पत्रिकाको व्यवस्थापक टिम र जिल्ला प्रहरी कार्यालय बाँकेले उदयपुर प्रहरीलाई विज्ञानको घर-परिवार खोज्न आग्रह गरे। प्रहरीले बेपत्ता व्यक्तिको घर खोजी गर्दा सुवासको घरसम्म सूचना पुर्यायो।
सुवास बाँके आए। बाँकेमा पुगेर विज्ञानलाई भेटे। कुरा गरे। आफ्नै सहोदर दाजु भएको दाबी गर्दै घर लैजान खोजे।
त्यही समयमा झापा भद्रपुरका ७६ वर्षीय दलबहादुर कार्की र उनका ५५ वर्षीय छोरा घनश्यामले आश्रममा फोन गरे।
विज्ञान आफ्नो हराइरहेको छोरा हुन सक्ने दाबी प्रस्तुत गरे।
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर राना आफैंले विज्ञानसँग गएर लामो कुराकानी गरे।
कार्कीका बाबु-छोरा पनि सोमबार बाँके पुगेर विज्ञानसँग कुरा गरे।
संयोग कस्तो, कार्की परिवारमा पनि तुलसा नामक एक छोरी छिन्।
कार्कीका बाबु-छोराले आफ्नो छोरा ९ वर्षको उमेरमा हराएको र नाम राजु कार्की भएको बताए।
त्यस्तै,उनीहरूले हराइरहेका राजुको ‘बायाँ गालामा कोठी थियो’ भन्ने प्रमाण प्रस्तुत गरे। उनीहरूको कुराले मेल खाएन।
हेर्दा विज्ञानको गालामा हैन देब्रे कोखामा जन्मजात दाग (चिनो) फेला पर्यो।
कार्की परिवार विज्ञान आफ्नो छोरा नभएको निष्कर्षमा पुगे।
नेपालगञ्जस्थित निल सागर असहाय अशक्त तथा जेष्ठ नागरिक केन्द्रमा अर्का एक जना ३३ वर्षजतिका राजु कार्की नामकै युवा पनि बस्दै आएका छन्।
केन्द्रका संस्थापक उपाध्यक्ष सुवेदीले ती युवासँग कार्कीका बाबु-छोराको भेट गराइदिए। तर, ती युवाले आफू दैलेखको भएको बताए। उनको भाषा पनि पश्चिमेली नै रहेको हुँदा कार्की परिवारले ती युवा पनि आफ्नो नभएको बताए।
सुवासले बाँके पुगेर प्रत्यक्ष रूपमा आफैंले भेटेर कुराकानी गरे। विज्ञानले बहिनीको नाम तुलसा भएको बताए।
घर अगाडि सुन्तलाको बोट रहेको कुरा गरे। सुवासका अनुसार केही वर्ष पहिलेसम्म उनको घरको अगाडि सुन्तलाको रूख थियो।
त्यस्तै, विज्ञानले आफ्नो घर पश्चिमतर्फ फर्किएको थियो भन्ने कुरा गरे। कुरा मिल्दै गयो।
आमा वेदकुमारीले भनेझैं सुवासले विज्ञानको देब्रे कोखामा जन्म दाग (चिनो) पनि फेला पारे। त्यही क्रममा सुवासले बहिनी तुलसाको फोटो विज्ञानलाई देखाए। उनले बहिनी चिने।
उनले आफूले घर छोड्दा बहिनी पाँच वर्षकी मात्रै रहेको र अहिले यति ठूलो कसरी भई भनेर प्रश्न उठाए। सुवासका अनुसार विज्ञानको मानसिक सन्तुलन पनि ठिक छैन।
विज्ञानसँग सुवासले घरमा रहेका आमा वेदकुमारी र बहिनी तुलसासँग फोन संवाद गराए। सुवासले आफूसँग स्मार्ट फोन भए पनि आमासँग सामान्य फोन नरहेको हुँदा भिडियो संवाद भने सकेनन्।
‘कुरा गरेपछि आमाले तेरो दाजु हो, घर लिएर आइज भन्नुभएको छ,’ सुवासले भने, ‘त्यही भएर हामी मंगलबार नै बाँकेबाट उदरपुरस्थित घर जान लागेका छौं।’
बाँके प्रहरी प्रमुख एसपी रानाले विज्ञान र सुवासलाई घर पठाउन गाडीको प्रबन्ध गरिदिएको बताए।
आफूले पनि विज्ञानसँग पटक-पटक कुरा गरेको र विज्ञान सुवासकै दाजु हुन् भन्ने धेरै आधार देखिपछि पठाइएको उनले बताए।
यो बीचमा अरूले पनि विज्ञानमाथि दाबी गरेपछि प्रहरी प्रशासन उनको डिएनए परीक्षण गर्ने मनस्थितिमा पुगेको थियो।
‘हामीले कोइराला परिवारकै सदस्य ठानेर सुवासलाई विज्ञानको जिम्मा लगाएका छौं,’ एसपी रानाले भने, ‘विज्ञानले त्यहाँ पुगेर मेरो घर परिवार यो हैन भनेको खण्डमा फेरि सुवासले नै विज्ञानलाई झापास्थित कार्की घरपरिवारसँग पनि भेट्न लैजाने निर्णय तथा सहमति पनि गराएका छौं।’
झापाका कार्की परिवारले आफ्नो सदस्य नभएको स्पष्ट गरेपछि सुवासलाई साथ लगाएर पठाइएको रानाले बताए।
एसपी रानाका अनुसार सुवासले दाजु विज्ञानको अवस्थाबारे प्रहरीमा मंगलबार नै जाहेरी दर्ता गराएका छन्।
जाहेरी अनुसार यौन शोषणमा परेको हो वा हैन, हिंसामा परेको हो वा हैन भनेर अनुसन्धान थालिने उनले बताए।
एसपी रानाले विज्ञानको पाचन प्रणालीको एउटा अंग ‘फियो’ नरहेको भन्ने कुरा चिकित्सकले जानकारी दिएको बताए।
विज्ञानले आफूलाई लामो समयदेखि एउटै कोठामा बन्धक बनाएर राखेको र विदेशी महिलाले यौन शोषण गरेको कुरा आफूसँग गरेको सुवासले बताए।
‘उहाँले मलाई यतिका वर्षसम्म एउटै कोठामा बन्धक बनाएर राखी चरम यातना दिएको भन्ने खाले कुरा गर्नुभएको छ,’ सुवासले भने, ‘कुन ठाउँमा त्यसरी बन्धक बनाएर राखिएको थियो भन्ने खुल्न सकेको छैन, तर कुरा सुन्दा काठमाडौंमा हो कि भन्ने आशंका छ।’
विज्ञानले हिन्दी पनि बोल्ने गरेको हुँदा भारतमै कुनै समूहले बन्धक बनाएको हुन सक्ने वा नेपालमै पनि बन्धक बनाएको हुन सक्ने आशंका सुवासको छ।
‘यति वर्षसम्म एउटै कोठामा बन्धक बनाएर राखियो, त्यसमा बाथरुम थियो भन्ने कुरा गर्नुहुन्छ,’ सुवासले भने, ‘दाजु धेरै बोल्न सक्ने अवस्था हुनुहुन्न र शारीरिक अवस्था साह्रै कमजोर देखिएको छ। मानसिक समस्या पनि देखिन्छ।’
विज्ञानले त्यही बन्धक बनाएर राख्ने समूहले नै ३-४ वर्ष पहिले आफूलाई ढाडमा बेहोस हुने सुई लगाएर आफ्नो अंग (फियो) तानेर लगेको भन्ने कुरा गरेको सुवासले बताए।
‘त्यही समूहले नै केही दिनअगाडि मात्रै अब यो हाम्रो लागि युजलेस छ भनेका रहेछन्,’ सुवासले भने, ‘बेहोस हुने सुई लगाएर सडकमा छोडेपछि दाजुलाई कसैले ट्रकमा चढाइदिएको भन्ने कुरा उहाँले गर्नुभएको छ।’
बाटोमा झन्डै ३-४ वटा ट्रक परिवर्तन गर्दै आफू नेपालगञ्जसम्म आइपुगेको विज्ञानले बताउने गरेका छन्।
तर, उनी काठमाडौंबाट बाँके पुगे वा भारबाट भन्ने यकिन छैन।
कालपृष्ठ दैनिकका प्रकाशक/सम्पादक खत्रीले आफूहरूले कुरा गरेको आधारलाई विश्लेषण गर्दा विज्ञान काठमाडौंबाट आएको जस्तो देखिन्छ।
‘यतिका वर्षसम्म उहाँलाई काठमाडौंमै बन्धक बनाएको जस्तो महसुस मैले गरेको छु,’ खत्री भन्छन्।
हराइरहेका दाजू फेला पर्दा सुवास जति खुसी छन् अवस्था देख्दा उत्तिकै पीडा भइरहेको छ।
विज्ञानलाई तत्काल उपचारको खाँचो छ।
‘हाम्रो आर्थिक अवस्था निकै कमजोर छ,’ सुवासले भने, ‘यतिका वर्ष मेरो दाजुलाई बन्धक बनाई शोषण र अत्याचार गर्ने समूहको पहिचान गरिनुपर्छ। उहाँको उपचारको लागि राज्यले क्षतिपूर्ति उपलब्ध गराइदिए हुन्थ्यो।’
निकै अशक्त र कमजोर अवस्थामा फेला पर्दा आफूलाई सम्हाल्न गाह्रो भइरहेको भन्दै उनले भने, ‘यस्तो कमजोर अवस्थामा दाजुलाई म आमाका अगाडि लगेर कसरी उभ्याउन सकुँला भनेर चिन्ता लागिरहेको छ।’
सबै तस्बिरहरू सौजन्य: कालपृष्ठ दैनिक/नेपालगञ्ज।