कोरोना संक्रमित बढ्न थालेपछि बाँकेमा फेरि मानिसहरूको जमघट र भिडभाड हुने स्थान बन्द गर्न निर्देशन दिइएको छ।
बिहीबार साँझ बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले मानिसहरूको बढी भिडभाड हुने सिनेमा हल, जिम क्लब, स्वीमिङ पुललगायतका स्थान बन्द गर्ने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेतोपाटीलाई बताए।
विद्यालय बन्द गर्ने अधिकार स्थानीय पालिकाहरूमा रहेको हुँदा त्यसको निर्णय पालिकाहरूले नै गर्ने प्रजिअ गेलालले जानकारी दिए।
‘बैठकमा विद्यालय बन्द गर्नेबारे पनि कुरा उठेको हो,’ उनले भने ‘तर, त्यो निर्णय गर्ने अधिकार हामीलाई छैन।’
बाँके जिल्लाका कोरोना फोकल पर्सन तेज वलीले बाँकेस्थित नेपाल-भारत जमुना नाका लगभग बन्द गर्ने निर्णय भएको बताए।
‘इमर्जेन्सीबाहेक अरूलाई आवतजावतमा रोक लगाउने निर्णय भएको छ,’ उनले भने, ‘खुला आवतजावतका कारण बाँके र आसपासका जिल्लामा संक्रमण बढ्न थालेपछि यस्तो निर्णय गर्नु परेको हो।’
सीमा नाकामा स्वास्थ्य जाँचमा कडाइ गर्ने तथा प्रभावकारी रूपमा गर्ने पनि निर्णय बैठकले गरेको छ।
भेरी अस्पताल नेपालगञ्जमा ६५ बाट आइसोलेसन वार्ड बढाएर १०० पुर्याउने, कोहलपुर मेडिकल कलेजमा तत्काल ५० वार्डको आइसोलेसन स्थापना गर्ने, नेपालगञ्ज मेडिकल कलेजमा कोभिडको संक्रमण उच्च हुँदा सुरू गरी पछिल्लो समय बन्द भएको सेवा पुनः सञ्चालन गर्ने निर्णय बैठकले गरेको फोकल पर्सन वलीले बताए।
त्यस्तै, नेपालगञ्ज उपमहानगरपालिकाले होटल ह्वाइट हाउसमा १२० बेडको आइसोलेसन वेड निर्माण गर्ने निर्णय पनि गरेको वलीले जानकारी दिए।
‘एकाएक संक्रमित ह्वात्तै बढेपछि अस्पताल भरिभराउ हुन पुगे र थप संक्रमित भर्ना गर्न नसक्ने अवस्था नआओस् भन्नका लागि वार्ड थप्ने तथा निर्णय गरिएको हो,’ फोकल पर्सन वलीले भने, ‘प्रत्येक पालिकाहरूलाई पनि आइसोलेसन वार्डहरू निर्माण गर्न आग्रह गरेका छौं।’
आइतबारदेखि जिल्लाका सबै विद्यालय बन्द : उपमेयर थापा
कोरोना भाइरसको संक्रमण बढेको भन्दै नेपालगञ्ज उपमहानगरपालिकाले पुनः शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाले शिक्षा समितिसँगको बैठकपछि यसअघिको निर्णय सच्याउँदै आइतबारदेखि एक हप्ता विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
बिहीबार नै उपमहानगरपालिकाले शुक्रबारदेखि नगरभित्रका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको थियो।
‘जिल्ला शिक्षा समितिको बैठकले पछि हामीले यसअघि गरेको निर्णय पुर्नंविचार गरेका हौं,’ उपमेयर थापाले भनिन्, ‘शुक्रबार जिल्लाका सबै पालिकाहरूको बैठक बसेर आइतबारदेखि जिल्लाका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गर्ने सल्लाह अनुरूप त्यसो गरिएको हो।’
थापाले नेपालगञ्ज उपमहानगरपालिकाले मात्रै गर्नुभन्दा बाँके जिल्लाका सबै शैक्षिक संस्था एकै साथ बन्द गर्ने सल्लाह अनुसार आफूहरूले निर्णय पुर्नंविचार गरेको जानकारी दिइन्।
स्वास्थ्य मन्त्रालयले पनि बिहीबार नै बाँकेसहित मुलुकका १४ जिल्लालाई संवेनशील जिल्लाको रूपमा उल्लेख गरेको छ।