नेपालसँग सीमा जोडिएको भारतको उत्तर प्रदेशमा अब आइतबार लकडाउन हुने भएको छ।
बढ्दो कोरोना भाइरसको संक्रमणलाई नियन्त्रणमा लिन प्रदेश सरकारले सप्ताहन्त (आइतबार) मा लकडाउन गर्ने निर्णय गरेको हो। शुक्रबार मुख्यमन्त्री योगी आदित्यनाथले प्रदेशका हरेक जिल्लामा आइतबार लकडाउन गर्ने घोषणा गरेका हुन्।
त्यस्तै मास्क नलगाउनेलाई एक हजार रुपैयाँ जरिवाना तिराउने निर्णय पनि भएको छ।
पहिलो पटक मास्क नलगाउनेलाई एक हजार रुपैयाँ, दोस्रो पटक पनि मास्कबिना सोही मान्छे भेटिए १० गुना बढी जरिवाना तिराइने टाइम्स अफ इन्डियाले जनाएको छ।
बिहीबार मात्रै उत्तर प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट एक सय ४ जनाले ज्यान गुमाएका थिए। २२ हजार ४ सय ३९ नयाँ कोरोनाका संक्रमित थपिएका थिए।
मुख्यमन्त्री आदित्यनाथलाई गत बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो।