चैत २५ मा नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न देशैभर निर्वाचन भयो। दाङ शाखामा २६ गते मतगणना हुँदैथियो।
निर्वाचनको ताजा परिणाम सुन्न अन्य पेशाकर्मी र संघ-संगठनका मानिसहरू पनि महासंघको घोराहीस्थित कार्यालय पुगेका थिए।
भिडभाड थियो। जहाँ भिड, त्यहाँ फोहोर। महासंघ परिसरमा फोहोर बढ्यो। पानीका बोत्तल, कागजका टुक्राटाक्री यत्रतत्र छरपस्ट थिए।
सरसफाइको क्षेत्रमा कलम चलाउँदै आएका पत्रकार गोविन्द खड्कालाई घोराही कवाड व्यवस्थापन प्रेसमा फोन गरे।
केहीबेरमै घोराही उपमहानगरपालिका वडा नं. १७ पनौरास्थित कवाड व्यवस्थापनका कर्मचारी फोहोर लैजान गाडीसहित महासंघ आए।
महासंघ परिसरबाट २९ किलोजति फोहोर संकलन गरी लगे।
घोराहीको धारापानीस्थित पाण्डवेश्वर महादेव मन्दिरमा शिवरात्रीको अवसरमा हरेक वर्ष ठूलो मेला लाग्छ। मेलापछि कवाड व्यवस्थापन प्रेसले त्यहाँबाट पनि ठूलो परिमाणमा फोहोर संकलन गरी ल्यायो।
घोराहीस्थित बाह्रकुने दहमा हरेक दिन माघ १ गते मेला लाग्छ। त्यो मेलापछि पनि उनीहरूले त्यसैगरी फोहोर उठाएर लगे। उनीहरूको कामले धार्मिक र पर्यटकीयस्थल सफा र सुन्दर बने।
चैत ३० गते कवाड उद्योगमा पुगेको दिन उद्योगको गाडी बाहुनडाँडास्थित तेरौटे विद्यालयबाट कापी किताब लिएर आइपुग्यो। यी केही उदाहरण हुन्।
कवाड व्यवस्थापन प्रेसका कर्मचारी फोहोर ल्याउन सूचना पाएसम्म जिल्लाका विभिन्न यस्ता ठाउँहरूमा जाने गर्छन्। उनीहरूको कामले एकातर्फ सहर, बजार, सार्वजनिकस्थल, मठ-मन्दिर तथा पर्यटकीयस्थल क्षेत्र सफा सुग्घर बन्न थालेका छन् भने अर्कोतर्फ उद्योग सञ्चालकहरूले फोहोरबाट मोहर आर्जन गर्न सफल भएका छन्।
सबै संरचना तयार भएपछि गत पुस १६ गतेदेखि उद्योगले फोहोर संकलन सुरू गरेको हो।
यो कवाड उद्योगको नेतृत्व ६१ वर्षीया वाल्मी केसीले गरेकी छन्। उनी पूर्वप्रधानाध्यापक हुन्।
अवकाश लिनुपूर्व उनी घोराहीकै बराहा क्षेत्रमाथि सेवार वनगाउँमा प्रअ थिइन्। उनले साढे ३४ वर्ष शिक्षण पेशामा बिताइन्।
केसीका श्रीमान जितबहादुर थापा पनि प्रधानाध्यापक हुन्। उनी हाल तुलसीपुर-१२ कपडादेवीस्थित महेन्द्र माविमा प्रअ छन्। केसीको घर तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ पर्सेनीमा छ।
शिक्षण पेशामा आवद्ध रहँदा केसीको कार्यक्षेत्र घोराही क्षेत्रमै बित्यो। त्यसैले, उनले घोराहीमा पनि घर छ।हाल केसी प्राय: घोराही १५ मिलन चोकस्थित घरमा बस्छिन्।
भनिन्, ‘म श्रीमानका लागि खाना पकाएर मात्रै घरमा बस्न सक्दिनँ र बस्न पनि हुन्न भन्ने सोचकी महिला हुँ। सक्दासम्म सबैले क्षमता अनुसार गरेर खानुपर्छ।’ उनले यसअघि घोराहीमै कापी उद्योग खोलेकी रहिछन्।
उनका दुई छोरीहरू पढाइको सिलसिलामा बाहिर छन्।
केसी पहिले-पहिले आफ्नो घरअगाडि ढलमा अड्किएका प्लाष्टिकका बोत्तल देखेर सधैं वाक्क हुन्थिन्।
सहर बजारमा हिँडडुल गर्ने क्रममा बसपार्कजस्ता सार्वजनिक स्थानहरूमा जथाभावी फालिएका प्लाष्टिक, पानीका बोत्तल, कागजका टुक्राटाक्री देख्दा उनको टाउको दुख्थ्यो। खिन्न हुन्थिन्।
ती फोहोरले नाला पुरिएर सडकभरि पानी भरिएको हुन्थ्यो। जसले गर्दा वरपरको वातावरण दुर्गन्धित बनाएको हुन्थ्यो। बजारको सुन्दरता र शोभामा धावा बोलिरहेको उनले महसुस गर्थिन्।
उनी नगरपालिकाको दृष्टि नालाको फोहोरमा नपुगेको होला भनेर सोच्थिन्। र, आफैं त्यो फोहोर उठाउन के गर्न सकिन्छ भनेर मनमनै योजना बनाउन थाल्थिन्।
वाल्मीका देवर जीवन थापा विभिन्न स्थानमा गएर वातावरण सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने गर्थे। उनले पनि भाउजू वाल्मीलाई कवाड पेल्ने मेसिन खरिद गर्नसके फोहोरलाई मोहरमा बदल्न सकिने सल्लाह दिए।
जीवनको सम्पर्क नेपालगञ्जका एक जना कवाडवाला व्यक्तिसँग थियो। देवरकै सल्लाहले वाल्मी सलाउदिन हलवाई कवाडी उद्योग अवलोकन गर्न गइन्।
त्यहाँ पुगेपछि उनले उद्योगको महत्व बुझिन्। त्यस्तो उद्योग भए टोल, बस्ती, मठ मन्दिरको फोहोर व्यवस्थापन गर्न सजिलो हुन्थ्यो।
‘ती ठाउँहरूबाट फोहोर उठाउँदा एकातिर सामाजिक सेवाजस्तो पनि हुने, अर्कोतर्फ त्यसबाट पैसा पनि आर्जन गर्न सकिन्छ भन्नेमा म निश्चिन्त भएँ,’ वाल्मीले थपिन्, ‘त्यति मात्रै हैन, अरुका लागि रोजगारी सिर्जना गर्न पनि सजिलो हुने मैले देखें।’
त्यसपछि आफू फोहोर उद्योग सञ्चालन गर्ने मनस्थितिमा पुगेको पूर्वप्रअ वाल्मीले बताइन्।
सोच मात्रै भएर केही हुन्नथियो। उद्योगका लागि लगानी पनि आवश्यक थियो। उनी एक्लै कवाड उद्योगका लागि गर्न लगानी गर्न सक्ने अवस्थामा थिइनन्।
त्यसपछि पार्टनर खोजेर उद्योग सञ्चालन गर्ने योजना बनाइन्। पार्टनरका बारेमा घोत्लिन थालिन्।
आफ्नै भदाहा २९ वर्षीय सचिन केसी र उनका साथी २९ वर्षकै गणेश गिरीलाई पार्टनरका लागि प्रस्ताव गरिन्। सचिन र गणेश क्लासमेट पनि हुन्। दुबै मिलेर घोराहीमा विगत केही बर्षयता फूटसल ग्राउन्ड सञ्चालन गरिरहेका थिए।
त्यही सोचका साथ वाल्मीले सचिन र गणेशलाई पार्टनरसिपका लागि प्रस्ताव गरिन्।
उनीहरूलाई वाल्मीको प्रस्ताव रचनात्मक र सकारात्मक लाग्यो। तीन जनाको सल्लाहमा पनौंरामा साढे पाँच कठ्ठा जग्गा दस वर्षका लागि भाडामा लिए।
अनि उनीहरूले पुनः प्रयोगमा आउने खालका सेतो काँच, पानी, वियर, जुस, क्यानका बोत्तलहरू, प्लाष्टिक, गत्ताजस्ता जम्मै कुराहरू आफूहरूले संकलन गर्न थाले।
वाल्मी आफैं पनि फोहोर संकलन गर्ने ठाउँमा पुग्छिन्। फोहोर बोक्ने गाडीमै हिँड्छिन्।
पूर्वप्रअको पिकअपभरि फोहोर देखेर कतिपय दंग पर्छन्। खुबै हेर्छन्। मानिसहरूले हेरेको देख्दा आफूलाई खुसी लाग्ने गरेको उनले बताइन्। भनिन्, ‘म त लौ है, नेपाली कवाडी आयो भन्दै कराउँदै फोहोर माग्ने गर्छु।’
चिन्नेहरू उनको कामको प्रशंसा गर्छन्। नचिन्नेहरू यति राम्री चिटिक्क परेकी महिला किन फोहोर बोक्ने गाडीमा बसेको होला भन्ने ठान्छन्।
अप्ठ्यारो काम गर्दा आफूलाई आनन्द लाग्ने उनी बताउँछिन्।
भनिन्, ‘म ६१ वर्षकी भइसकें। म सँग भएको ऊर्जा जे जति छ, म घरमा फाल्तु गफ गरेर बस्ने मेरो विचार छैन। हात खुट्टा लाग्दासम्म अब म यसैमा लाग्ने छु।’
यसअघिसम्म जिल्लामा कवाडी संकलन गर्नेहरू प्राय: मधेसी मूलका मानिस मात्रै हुन्थे। उनीहरू नै टोल-टोल र गाउँ घरमा कवाडी संकलन गर्न जान्थे।
जसलाई भारतीय साहू-महाजनले पैसा दिएर नेपालका गाउँ घरमा कवाडी संकलन गर्न पठाएका हुन्छन्। उनीहरू फोहोरबाट ठूलो रकम भारत लैजान्छन्। सुरूमा उद्योगले उनीहरूसँगै संकलित कच्चापदार्थ खरिद गर्न नखोजेको होइन।
वाल्मीले भनिन्, ‘उहाँहरूले हामीलाई कवाडी दिन्छौं त भन्नुभयो, तर, कहिलै दिनु भएन।’
सधैंभरि मधेसी समुदायकै भरमा कवाडी संकलन हुने र निरन्तरता हुने अवस्था वाल्मीले देखिनन्। अनि बल्ल उनले आफ्नै ठाउँका मानिसहरू कवाडी संकलकका रुपमा राख्ने योजना बनाइन्।
अन्य समुदायका मानिसहरू फोहोर संकलन गर्न गाउँघरमा गएको देखेर मानिसहरू पनि आश्चर्य मानेर हेर्न आउने गर्थे।
घोराही-१४ का वडाध्यक्ष शक्ति डाँगीले वाल्मीलाई फोहर देख्नासाथ सम्पर्क गरिहाल्छन्।
‘अध्यक्ष डाँगीलाई पनि मलाई जस्तै प्लाष्टिक र फोहरदेखि एलर्जी छ। उहाँको सोच र हाम्रो सोच मिल्छ,’ वाल्मीले भनिन्, ‘अध्यक्षज्यूले आफ्नो वडामा जहाँ पनि सार्वजनिक कार्यक्रम हुनासाथ हामीलाई फोहर उठाउन आउनुहोस् भनेर खबर गर्नुहुन्छ।’
वाल्मीले वडा नं. ५ का अध्यक्ष रमेश पाण्डेलाई पनि टोल-टोलमा फोहर संकलन गर्ने वातावरण निर्माण गरिदिन आग्रह गरिरहेको बताइन्। पाण्डे पनि वाल्मीलाई कहिलेकाहीँ फोहोर लैजानका लागि बोलाउने गर्छन्।
घोराहीका मेयर नरुलाल चौधरीलाई समेत भेटेर वाल्मीले टोलहरूलाई भनेर फोहोर व्यवस्थापनको काम गरिदिन धेरै पटक आग्रह गरेकी छन्। तर, वाल्मीको कुरामा एक दुई जना वडाध्यक्षबाहेक कसैले वास्ता गरेका छैनन्।
उनी चाहन्छिन्- उपमहानगरपालिकाले फोहर व्यवस्थापनका बारेमा सार्वजनिक सूचना जारी गरोस्।
‘फोहोर जथाभावी नफालिदिन र एक ठाउँमा राखिदिनुहोस् भनेर माइकिङ गरिदिए पनि धेरै हुने थियो नि,’ उनले भनिन्, ‘प्लाष्टिक बोतल, प्लाष्टिक, झोला र कागज जुठोसहितको फोहोरमा फाल्दा ती संकलन गर्दा हामीलाई निकै अप्ठेरो हुने गरेको छ।’
त्यसो हुनसके भनेकै दिन बारमा फोहर संकलन गर्न जोन उनले बताइन्।
उनले हरेक व्यक्तिलाई घरमा भएका कागजहरू च्यातिएका भए पनि सफा गरेर राख्नसमेत नगरपालिकाले आग्रह नगरेको हुँदा फोहर संकलन गर्दा समस्या हुने गरेको बताइन्।
नगरका हरेक वडाध्यक्षले टोलका मानिसलाई भेला गरी फोहर मिलाएर निश्चित ठाउँमा राख्न आग्रह गर्नसके वडा सफा-सुग्घर बन्ने तर्क गर्छिन्।
आफूहरूसँग नगरपालिकाले हातेमालो गरेमा फोहर व्यवस्थापन गर्ने उसको बोझ पनि कम हुने उनको विश्वास छ।
‘हामी फोहोरबाट मोहर संकलन गर्ने अभियानमा लाग्न जरुरी छ,’ उनले भनिन्।
यदि, कसैलाई फोहोर बेचेको पैसा पनि के लिनु भन्ने लाग्छ भने त्यो पैसा खुत्रुकेमा जम्मा गरेर कुनै संघ-संस्था वा समाजिक कार्यमा लगाउन उनको सुझाव छ।
तीन जना पार्टनर मिलेर खोलेको कवाड उद्योगमा हालसम्म ३० लाख लगानी पुगेको वाल्मीले जानकारी दिइन्।
उनले १५ लाखको एउटा प्रेस मेसिन किनेको बताइन्।
हाल घोराहीलाई क्षेत्र मानेर फोहर उठाउने काम गर्दै आएको भए पनि भविष्यमा त्यसलाई विस्तार गर्दै लमही, नारायणपुर, तुलसीपुरका साथै छिमेकी जिल्ला सल्यान र रोल्पा जिल्लासम्म जाने सोच बनाएको उनले बताइन्।
घोराही कवाड व्यवस्थापन प्रेस २०७६ माघ ९ गते दर्ता गरिएको छ। उद्योगका लागि आवश्यक कवाड पेल्ने मेसिन नेपालमा पाइँदैन थियो। भारतबाट उक्त मेसिन ल्याउन फागुनमा उद्योगले पैसा पठायो।
तर, त्यसपछि एकाएक कोभिड-१९ को कहर सुरू भयो। चैत ११ देखि नेपालमा पनि लकडाउन भयो।
त्यसले यातायात र आवतजावात सबै ठप्प बन्यो। साउन अन्तिममा मात्रै भारतबाट मेसिन दाङ आइपुग्यो। कोरोनाको त्रासदी कायमै थियो। तैपनि उद्योगले विस्तारै आवश्यक संरचना निर्माण सुरू गर्यो।
सुरूमा घोराहीदेखि २४ किलोमिटर पश्चिमको तुलसीपुरमा पुगेर उद्योगले पानीका बोत्तल र प्लाष्टिकका झोला संकलन गर्यो।
घोराही कवाड प्रेसले पुनःनिर्माण गर्न सकिने हरेक वस्तु उद्योगले खरिद गर्छ। घोराही उपमहानगरपालिकाको ल्याण्डफिलसाइटबाट पनि यो उद्योगले आवश्यक फोहर उठाउने गरेको छ। हाल यो उद्योगले मासिक लाखौंको कवाडीको कारोबार गरिरहेको छ।
उद्योगले नेपालगञ्ज, बुटवल, भैरहवा, वीरगञ्ज र छिमेकी देश भारतसम्म फोहोर पठाउँदै आएको एक जना सञ्चालक गणेश गिरीले बताए।
हाल उद्योगले स्थानीय १० जनालाई काम दिएको छ। उनीहरूको मासिक ८ हजारदेखि १२ हजारसम्म तबल दिएको छ। ती कर्मचारीले विभिन्न स्थानबाट संकलन गरेर ल्याएको फोहोर वर्गीकरण गर्ने काम गर्छन्।
जस्तै, गत्ता, प्लाष्टिक झोला, पानीका बोत्तल, सलाइनका बोत्तल लगायतलाई मेसिनमा अलग-अलग गरी पेलेर राखिन्छ।
अनि ती सामानको छुट्टाछुट्टै बन्डल तयार हुन्छ। मेसिनमा पेल्नुको कारण त्यसको आकारप्रकार घटाउनु हो। मिलाएर राख्नु हो। त्योबाहेक उद्योगका कर्मचारी आवश्यकता अनुसार बाहिर फोहोर उठाउन पनि जाने गर्छन्।