भारतका पूर्वप्रधानमन्त्री तथा कंग्रेसका वरिष्ठ नेता मनमोहन सिंहलाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ।
उनलाई सोमबार संक्रमण पुष्टि भएपछि अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको इन्डिया टुडेले जनाएको छ।
आइतबार मनमोहन सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कोरोना भाइरसको बढ्दो संक्रमणलाई नियन्त्रण गर्न पाँच सुझाव दिएका थिए।
उनले दुई पाने सुझावपत्र लेखेर प्रधानमन्त्री मोदीलाई बुझाएका थिए। भारतमा नयाँ प्रकारको कोरोना भाइरस आएसँगै कतिपय प्रदेशले लकडाउन घोषणा गरेको छ।
सोमबारमात्रै नयाँ दिल्ली सरकारले आउँदो सोमबारसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको थियो।
सोमबार पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७३ हजारमा कोरोना संक्रमण पुष्टि भएको टुडेले जनाएको छ।