कोरोनाभाइरसको संक्रमण तीव्र भएपछि सोमबार रातिदेखि भारतको राजधानी नयाँदिल्लीमा एक साताका लागि लकडाउन गरिएको छ। मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउनको घोषणा गरेको केही घन्टापछि नयाँदिल्लीको आनन्द विहार बस स्टेशनमा मानिसहरूको घुइँचो लागेको थियो।
आफ्नो काम पनि गुम्ने र घर पनि जान नपाइने डरले हजारौं आप्रवासी मजदुरहरू घर फर्किन बस स्टेशन पुगेका थिए।
गत वर्ष मार्चमा कोरोनाभाइरसको पहिलो लहर रोक्न भारतले देशव्यापी रूपमा लकडाउन गरेको थियो। सोमबारको दृश्य एक वर्षअघिको जस्तै थियो।
अहिले एक हप्ताका लागिमात्र लकडाउन भनिएको भए पनि पछि यो बढ्दै जाने त्रासले धेरै आप्रवासी मजदुरले दिल्ली छोडेका हुन्।
भारतमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र गतिमा फैलिरहेको छ। सोमबारमात्रै त्यहाँ थप २ लाख ५६ हजारमा संक्रमण पुष्टि भएको छ। यो संख्या आइतबारकोभन्दा झन्डै २० हजार कम हो।