कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले बाँकेमा वैशाख ९ गतेदेखि विमानस्थल र राजमार्गबाहेक सबै कुरा बन्द गरिने भएको छ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले संक्रमणको दर उच्च बनेपछि ९ गतेदेखि पुनः लकडाउनजस्तै प्रतिबन्ध लगाउने निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सेतोपाटीलाई बताए।
तीव्र रूपमा संक्रमण फैलिन थालेपछि त्यससँग जुध्न कडा प्रतिबन्धको विकल्प तत्काल नदेखिएकाले ९ गतेदेखि एक साताका लागि त्यस्ता प्रतिबन्ध लगाउनेे निर्णय भएको उनले जानकारी दिए।
‘जिल्लाभर नै लकडाउन गर्ने कि कुन-कुन क्षेत्रमा गर्ने भनेर भोलि टुंगो लगाउँछौ,’ गेलालले भने।
विमानस्थल र राजमार्ग खुला राख्ने र जमुनाहा नाकाबाट आउने नेपालीलाई सम्बन्धित ठाउँमा पुर्याउने व्यवस्था मिलाउने उनले बताए।
बाँकेमा सोमबार एकैदिन ३ सय २२ जना नयाँ संक्रमित थपिएका थिए। संक्रमितको संख्या ह्वात्तै बढेपछि बाँकेका अस्पताल बिरामीले भरिएका छन्।