मकवानपुर जिल्लाको हेटौंडामा कोरोना संक्रमणबाट आज एक वृद्धको मृत्यु भएको छ।
कोरोना पृष्टि भएको हेटौंडा उपमहानगरपालिका-४ स्थित कर्राका ७४ वर्षीय वृद्धको मृत्यु भएको हेटौंडा उपमहानगरपालिकाको जनास्वास्थ्य निरीक्षक भोला चौलागाईंले जानकारी दिए।
कोरोना संक्रमित भएपछि होम आइसोलेसनमा रहेका वृद्धको मृत्यु भएको चौलागाईंले बताए।
शव नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ। तराईको बारा र पर्सा जिल्लाको सीमासँग जोडिएको र सुरक्षाका मापदण्ड नअपनाउँदा कोरोनाको जोखिम बढेको छ।
मकवानपुरमा सम्भावित रोकथाम र बचावट
कोभिड-१९ को सम्भावित रोकथाम र बचावटका सन्दर्भमा संघीय सरकारले गरेको निर्णयबमोजिम मकवानपुर जिल्लामा पनि सोही बमोजिम पूर्ण पालना गराउन थालिएको छ।
मकवानपुर जिल्लामा कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार संघीय निर्देशन पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिए।
अब मकवानपुर जिल्लामा सिनेमा घर, दोहोरी साँझ, जिम क्लब, आमसभा, जुलुस, स्वीमिङ पुल, रंगशालामा दर्शकसहितको खेलकुद तथा भीडभाड हुने कार्यक्रम सबै वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको छ।
मेला, महोत्सव, जात्रा, विवाह आदिमा २५ जनासम्म मात्र उपस्थित हुन पाउने तथा विवाह, ब्रतबन्धको लागि पार्टी प्यालेसमा गर्नुपर्ने भए प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिनुपर्ने अनिवार्य गरिएको छ।
यस्तै, सिट क्षमताभन्दा बढी यात्रुु राख्न नपाउने तथा अनिवार्य मास्क लगाउनुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।
यसैबीच हेटौंडा उपमहानगरपालिकाभित्रको सार्वजनिक तथा निजी शैक्षिक संस्थाहरूमा वैशाख मसान्तसम्म भौतिक उपस्थिति नगराउने र अनलाइन तथा वैकल्पिक माध्यमबाट पठनपाठन गराउने निर्णय गरेको छ।
मकवानपुर जिल्लामा हेटौंडा उपमहानगरपालिका बाहेकका अन्य स्थानीय तहले भने जोखिमको मूल्यांकन गरेर जनस्वास्थ्यको मापदण्ड पूरा गरेर मात्र पठनपाठन गराउन पाउने भएका छन्।
विद्यालय र कलेजको पूर्वनिर्धारित परीक्षा भने तोकिएअनुसार नै हुने जनाइएको छ।
उपचारका क्रममा मृत्यु
वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित पुरूषको आज बिहान मृत्यु भएको छ। सर्लाहीको मलङ्गवा-३ निवासी ४२ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो।
श्वासप्रश्वासमा समस्या भएका पुरूषलाई वैशाख ७ गते मंगलबार अस्पतालमा भर्ना गराइएको र सोही दिन उनको एन्टिजेन किटबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएकोे नारायाणी अस्पतालका कोभिड कोडिनेटर डा सरोज रोशन दासले जानकारी दिए।
उनले पुरूष अस्पताल भर्ना हुँदा उनको दुवै फोक्सोमा कडा निमोनिया भएको थियो। रासस