इन्डोनेसियाको नौसेनाले बुधबार बिहानदेखि हराइरहेको एउटा पनडुब्बीको खोजी तीव्र पारेको छ।
बाली टापुको उत्तरमा पानीभित्र ड्रिल गरिरहेको पनडुब्बी सम्पर्कविहीन भएको हो।
जर्मनीमा बनेको केआरआई नान्गाला-४०२ पनडुब्बीमा ५३ जना मानिस चढेका थिए। पनडुब्बी सम्पर्कविहीन भएपछि इन्डोनेसियाले छिमेकी अष्ट्रेलिया र सिंगापुरलाई खोजीमा सघाइदिन अनुरोध गरेको छ।
'हामी अहिले पनि बालीदेखि ९६ किलोमिटर उत्तरको पानीमा खोजी गरिरहेका छौं,’ इन्डोनेसियाली सेना प्रमुखले भनेका छन्।
हराइरहेको पनडुब्बी सन् १९७८ मा जर्मनीमा बनेको हो। सन् २०१२ मा दक्षिण कोरियामा दुई वर्ष लगाएर यसको मर्मत गरिएको थियो।