घोराही उपमहानगरपालिकाले सर्वसाधारणबाट फोहोर किन्न थालेको छ। उपमहानगरको सरसफाइ, वातावरण, विपद व्यवस्थापन महाशाखाका संयोजक शक्तिराम डाँगीका अनुसार नयाँ वर्षका दिनबाट घोराही बसपार्कदेखि फोहोर किन्ने अभियान सुरू भएको हो।
अभियानअन्तर्गत उपमहानगरले किन्ने फोहोर सामानको प्रकृतिअनुसार मूल्य तोकिएको छ।
- कपडा किलोको ५ रूपैयाँ।
- सूर्ति, पुकार लगायतका खोल र बज्ने प्लास्टिक २ रूपैयाँ किलो।
- कार्टुन लगायत गद्दा, कापी, किताब जस्ता वस्तुहरूको प्रतिकिलो १० देखि २० रूपैयाँसम्म।
- नरम खालको प्लास्टिक र प्लास्टिकका बोतलहरू १० रूपैयाँ किलो।
घोराहीका मेयर नरूलाल चौधरी, संयोजक डाँगीलगायत व्यक्तिहरूले सर्वसाधारणसँग फोहोर किनेर अभियान सुरू गरेका हुन्। घोराहीले नगरबासीबाट किनेको गल्ने फोहोरलाई घोराही-१६, करौती डाँडास्थित ल्यान्डफिल साइटमा निर्मित बायो ग्यासमा प्लान्टमा प्रयोग गर्ने संयोजक डाँगीले जानकारी दिए।
त्यस्तै नगल्ने फोहोरलाई उद्योगहरूसँग समन्वय गरेर बिक्री गरिनेछ।
फोहोरलाई मोहरमा परिणत गर्नुपर्छ भन्ने अभियानका साथ नगरबासीबाट फोहोर किन्न थालिएको उनको भनाइ छ, 'हिजोसम्म फोहोर उठाएबापत नगरबासीले पालिकालाई शुल्क तिर्नुपर्थ्यो। तर अब नगरबासीको फोहोर लिएवापत हामी पैसा दिने छौं।'
टोल विकास संस्थाको माध्यमबाट फोहोर संकलनको काम भइरहेको उनले बताए।
'हामीलाई फोहोर लिन आउनुस् भनेर खबर गर्नासाथ गाडी लिएर जानेछौं,' संयोजक डाँगीले भने, 'फोहोर किन्छौं र तुरून्तै पैसा दिन्छौं।'
फोहोर व्यवस्थापन धेरै सहर-बजारमा प्रमुख समस्या र टाउको दुखाइको कारण बनिरहेका बेला घोराहीले यो कदम चालेको हो। डाँगीका अनुसार फोहोरले वातावरणमा नकारात्मक प्रभाव पार्दै आएको छ। यसपटक चैत, वैशाखमा पनि प्रदूषणका कारण आकाश धुम्म छ।
'वातावरण प्रदूषणका कारण चैत, वैशाखमा घाम पनि देख्न पाइएन,' डाँगीले भने, 'त्यसकारण मानिसहरूले कुनै पनि फोहोर जलाउने काम अन्त्य गर्नुपर्छ। जहाँतहीँ फाल्दा वातावरणको सुन्दरता बिग्रिन्छ। रोग फैलिन्छ। यी सबै रोक्न हामीले फोहोर किन्न थालेका हौं।'
त्यस्तै ल्यान्डफिल साइटमा बायो ग्यास उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुगेको पनि उनले जानकारी दिए। करौंती डाँडाको तीन बिघा जग्गामा बायो ग्यास निर्माणका लागि प्लान्ट बनाउने काम लगभग पूरा भइसकेको छ। त्यहाँ धमाधम गाउँघरबाट गाईभैंसीको मल किनेर ल्याउने र मल पेल्ने काम भइरहेको छ।
यो पनि पढ्नुस्: दाङमा बन्दैछ बायो ग्यासप्लान्ट, एलपीभन्दा सस्तोमा ग्यास पाइने दाबी
त्यसरी उत्पादित बायो ग्यास ल्यान्डफिल क्षेत्रमा बसोबास गर्ने नागरिक र घोराही-१०, नारायणपुर बजारबासीका घर-घरमा पाइपमार्फत चुलो बाल्ने व्यवस्था गर्न लागिएको डाँगीले बताए। उनका अनुसार यो असार मसान्तसम्म नागरिकको घर-घरमै पाइप बिच्छ्याएर ग्यास पुर्याउने लक्ष्य लिइएको छ।
'हामीलाई जग्गा र स्रोतसाधनको अभाव छैन आनीबानी बदल्नुपर्ने चाहीँ छ। आफ्नो आनीबानी सुधार्नका लागि हामीले नगरबासीलाई जथाभावी रूपमा फोहर नफाल्न अपिल र अनुरोध गरेका छौं।'
यो कामले नगरको सुन्दरता बढाउने, आयआर्जन बढाउने, नागरिकको जीवनस्तर उकास्ने विश्वास उपमहानगरको छ। त्यस्तै पर्यटकीय र वातावरणीय स्वच्छताको विकासमा टेवा पुग्ने पनि उनले बताए।
'पर्यटकीय रूपमा विकास गर्न घोराही सुन्दर र सफा बनाउन आवश्यक छ,' डाँगीले भने, 'घोराही राम्रो छ, सुन्दर छ भन्ने देखाउन र घोराहीबासीको सभ्यतामा नै यसले महत्व राख्ने छ।'
नगल्ने फोहोरहरू, विशेषगरी प्लास्टिक र सिसाका वस्तुहरू बेच्न सम्बन्धित उद्योगहरूसँ सम्झौता गर्ने तयारी भइरहेको डाँगीले जानकारी दिए। घोराही-१७ मा हालसालै पूर्व-प्रधानाध्यापक वाल्मी केसीले फोहोर व्यवस्थापन प्रेस खोलेकी छन्। त्यो र यस्तै काम गर्ने उद्योगलाई नगल्ने खालका फोहोर बेच्न सकिने डाँगीले बताए।
नागरिकले आफूले उत्पादन गरेको फोहोर आफैं व्यवस्थापन गर्न सके धेरै सहज हुने डाँगीको भनाइ छ।
'हामीले पैसा खर्च गरेर फोहोर गाडेका थियौं, वार्षिक रूपमा फोहोर व्यवस्थापनका लागि मात्रै दुई करोडभन्दा बढी खर्च हुन्थ्यो,' संयोजक डाँगीले भने 'अब त्यस्तो हुने छैन भन्ने विश्वास हाम्रो छ। फोहोर व्यवस्थापनमा खर्च हुने पैसा अब आवश्यकताका आधारमा विकासमा खर्च गर्न सक्नेछौं।'
समग्र विकासका लागि फोहोरको उचित व्यवस्थापन अहिलेको आवश्यकता हो भन्ने आफूहरूको बुझाइ रहेको र त्यसलाई सबैले अनुशरण गर्नुपर्ने उनले बताए।
हाल घोराहीमा दैनिक करिब १७/ १८ टन जति फोहोर उत्पादन हुँदै आएको छ। डाँगीका अनुसार साविकको घोराहीमा ११ वटा मात्रै वडा थिए। हाल १९ वडा रहेको घोराहीमा तीव्र रूपमा सहरीकरण भइरहेको छ। फोहोर किन्न उपमहानगरले चालु आर्थिक वर्ष २०७७/०७८ मा छ लाख रूपैयाँ बजेट विनियोजन गरे पनि कोरोनाका कारण काम ढिलाइ भएको उपमहानगरले जनाएको छ।