कोरोना महामारीको समयमा अग्रपङ्क्तिमा काम गरेका बागलुङका स्वास्थ्यकर्मीले एक वर्षदेखि जोखिम भत्ता पाएका छैनन्।
सरकारले पहिलो लाइनमा बसेर काम गर्ने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र दोस्रो लाइनमा खटिनेलाई ५० प्रतिशत जोखिम भत्ता दिने निर्णय गरेको थियो।
धवलागिरि अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र पोखरेलका अनुसार आइसोलेसनमा लगातार तीन/चार महिनासम्म खटिएका चिकित्सक र नर्समात्रै २५ जनाले जोखिम भत्ता पाएका छैनन्।
प्रयोगशालामा खटिने १०/१० पालिकामा स्थापना भएका कोभिड अस्पतालका पाँच जनाको दरले ५० जना, १० चालक र स्वास्थ्य संस्थामा कार्यरत थप १०० गरी झण्डै २०० जनाले अहिलेसम्म भत्ता नपाएको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए।
गत वर्ष क्वारेन्टिन सञ्चालनमा खटिएका स्वास्थ्यकर्मी र अन्य कर्मचारीले पनि भत्ता पाएका छैनन्।
‘संक्रमणदर बढिरहँदा पनि क्वारेन्टिन र आइसोलेसन थप गर्ने विषयमा चासो बढ्न सकेको छैन’, उनले भने, ‘काम गरेको केही पाइँदैन भनेर धेरै साथी सुस्ताएका छन्।’
‘गत आर्थिक वर्षको असार महिनाको भत्ता पाएका छैनौं, यसपछि संक्रमण बढेर चौबीसै घण्टा खटिनेलाई पनि केही राहत भएन’, कार्यालयका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, ‘कार्यालयको नियमित कामबाहेक जोखिममा खटिँदा केही नपाएपछि निराशा बढेको हो।’
जोखिम मोलेर काम गर्दा अग्रपंक्तिमा खटिने ५० बढी स्वास्थ्यकर्मी, केही एम्बुलेन्स चालक र सहयोगीलाई कोरोना सङ्क्रमण भएको थियो।
उनीहरू अहिले नियमित खटिन डराएको कार्यालय प्रमुख गुरौले बताए। जोखिम भत्ताका लागि स्वास्थ्य मन्त्रालयसम्म पत्राचार गरे पनि भत्ता नआएको उनको भनाइ छ।
अस्पताल विकास समितिले पनि जोखिममा खटिएकाको सेवासुविधाका लागि पहल गरिरहेको अध्यक्ष केवी रानामगरले बताए।
गत वर्ष जोखिम भत्ताका लागि एक करोड बजेट आयो भनेर चर्चा भए पनि त्यो व्यवस्थापकीय काममा मात्रै खर्च भएको उनको भनाइ छ।
बीमा रकम संस्कृत पाठशालालाई
सहकारीमा काम गर्ने एक कर्मचारीले कोरोना बीमामार्फत् पाएको रकम सामाजिक क्षेत्रमा सहयोग गरेका छन्।
जिल्लाको सिवाइसी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत कवि न्यौपानेले कोरोना बीमामार्फत् पाएको रकममध्ये २५ हजार जिल्लाको जैमिनी नगरपालिका–२ स्थित जैमिनी संस्कृत आधारभूत पाठशालालाई सहयोग गरेका हुन्।
पाठशालामा आयोजित कार्यक्रममा सहयोग रकमको रु २५ हजार बराबराको चेक न्यौपाने र सहकारीका अध्यक्ष चण्डीप्रसाद शर्मा पौडेलले पाठशाला व्यवस्थापन समितिका अध्यक्ष टङ्कप्रसाद सापकोटा र पाठशालाका प्रअ दीपक न्यौपानेलाई हस्तान्त्रण गरे।
सिवाइसी बचत तथा ऋण सहकारीका अध्यक्ष पौडेलले नेपाली भाषाको जननीका रूपमा संस्कृतलाई लिने गरिएकाले संस्कृत भाषाको संरक्षण गर्नुपर्ने बताए।
सहयोगदाता न्यौपानेले कोभिड बीमामार्फत प्राप्त गरेको रमक कोरोनाबाट प्रभावित क्षेत्रलाई सहयोग गर्ने उद्देश्यले पाठशालामा सहयोग गरेको बताए।
देशका विभिन्न जिल्लाका २३ विद्यार्थीले आवासीय सुविधासहित अध्ययन गर्ने विद्यायमा अक्षयकोष निर्माणमा सघाउने उद्देश्यले सहयोग गरेको बताए।
उत्पादन बढाउन रूख काट्ने अभियान
खेतीपातीको उत्पादन बढाउने र गाउँको झाडी हटाउने अभियानस्वरूप बागलुङको काठेखोला गाउँपालिका–५ र ६ मा रूख काट्ने अभियान सुरू भएको छ।
अघिल्लो वर्षदेखि सुरू भएको अभियानलाई यो वर्ष तीव्रता दिइएको हो। खेतबारीका छेउ कुनामा रहेका रूखको तप्केनीले उत्पादनमा असर गरेको भन्दै किसानकै सल्लाहमा रूख काट्ने अभियान थालिएको हो।
यहाँका बासिन्दाले घर वरिपरिको बारीमा सुन्तला, अदुवा र बेसार खेती गर्दै आएका छन्।
उत्पादन बढाउन वडा कार्यालयकै अगुवाइमा रूख काट्ने अभियान थालिएको हो।
गत वर्षदेखि थालिए पनि पूरा नभएको कामलाई यो वर्ष सक्ने लक्ष्य राखिएको वडा नं ५ का अध्यक्ष शिवप्रसाद कँडेलले जानकारी दिए।
‘काम नलाग्ने ठूला रुख काट्न चुनौतीपूर्ण नै रहेछ’, वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले भने, ‘काटेका रूखको व्यवस्थापन गर्ने कामले पनि लामो समय लियो।’
अग्ला र अनुत्पादक रूखले उत्पादनमा असर गरेको कुरा बुझेपछि उपभोक्ता समितिमार्फत् रूख काट्ने अभियान गरेको समितिका अध्यक्ष ऋषिराम कँडेलले बताए।
‘किसानको उत्पादनमा दोब्बर वृद्धि गर्ने र सबैलाई व्यवसायिक बनाउने लक्ष्य छ’, उनले भने, ‘जथाभावी रूख ढाल्दा घर र सुन्तला नष्ट हुने भएपछि मेसिनमार्फत् काम गरेका छौं।’
वडा कार्यालयले लगानी गरेर मेसिन खरिद गरिदिएपछि पालैपालो अग्ला रूख काट्ने अभियान थालिएको उनले जानकारी दिए।
यो अभियानले जङ्गली जनावरको समेत डर हटेको स्थानीयपबासीले बताए।
ठूला रूख कटान गर्दा काठका रूपमा प्रयोगसमेत भएको छ।
स्याउला भने कम्पोस्ट मलको रूपमा प्रयोग गरिएको छ। वडा ५ र ६ को बिहुँ गाउँबाट मात्रै बर्सेनि रु दुई करोडभन्दा धेरै मूल्यको सुन्तला बजारमा जाने गर्छ।
घरघरका किसानले सडक छेवैमा बसेर पनि लाखौंको सुन्तला बेच्छन्।
सिङ्गो गाउँ नै सुन्तला गाउँका रूपमा परिचित बन्दै गएपछि अन्य अवरोध हटाएर किसानलाई व्यावसायिक बनाउन थालिएको वडा नं ६ का अध्यक्ष युक्तप्रसाद कँडेलले बताए।
यहाँका किसानले व्यावसायिक पशुपालन गरेर दूधको समेत विक्री गर्छन्। दुधालु पशु चौपायका लागि आवश्यक घाँससमेत रुख काटेपछि आफ्नै खेतबारीमा उत्पादन हुने किसान रुद्रप्रसाद कँडेलले बताए।