दाङमा कोरोना भाइरस संक्रमित एक जना १५ वर्षीय विद्यार्थीको मृत्यु भएको छ।
गढवा गाउँपालिका वडा नं. ६ घर भई लमहीस्थित आदर्श माविमा कक्षा ९ मा अध्यनरत् विधान आचार्यको भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो।
विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेलले कक्षा ९ (ए) अध्यनरत् विधानले वैशाख ६ गते कक्षा कोठामै टाउको दुख्यो भनेपछि घर पठाइएको बताए।
विधान आफ्नी आमासँगै लमहीमा बसिरहेका थिए।
‘विद्यालयले आमालाई भनेर अस्पताल जानु भनेर पठाएको हो,’ प्रअ पौडेलले भने, ‘आमा छोराको उपचारका लागि भनेर वैशाख ७ गते मात्रै बुटवल गएका रहेछन्।’
बुटवलमा उपचार गराउँदा पनि स्वास्थ्य सुधार नभएपछि स्वास्थ्यकर्मीकै सल्लाहमा उनीहरू भैरहवा पुगे। त्यहाँ पिसिआर परीक्षणका लागि स्वाब दिए। वैशाख ८ गते रिपोर्ट आएपछि आमा लक्ष्मीले छोरा विधानलाई भैरहवा लगेर भर्ना गरिन्।
उनको शुक्रबार बिहानै त्यहीँ निधन भइसकेको थियो।
विधानको पढाइ राम्रो थियो। उनी कक्षाका अब्बल विद्यार्थी रहेको प्रअ पौडेलले जानकारी दिए। विधानलाई त्यसअघि कुनै स्वास्थ्य समस्याबारे जानकारी नरहेको उनले बताए ।
विधान परिवारका एक्ला छोरा हुन्। उनीकी बहिनी विधाता छिन्। बुवा विष्णु रोजगारीको सिलसिलामा दुबईमा छन्।
एक्लो छोरोको मृत्युको शोकमा आमा लक्ष्मी बोल्न सक्ने अवस्थामा नरहेको प्रअ पौडेलले बताए।
‘मैले बिहान विद्यालय पुगेर फोन सम्पर्क गर्दा फोन उठेन,’ प्रअ पौडेलले भने।
प्रअ पौडेल र घर परिवारकै आफन्तका अनुसार विधानका माइला बुवाकी छोरीको शुक्रबार नै बिहे थियो।
‘बिहे प्रभावित नहोस् भनेर पनि आमा लक्ष्मीले छोराको मृत्युको कुरा सार्वजनिक गर्न नखोज्नु भएको बुझिएको छ,’ एक आफन्तले भने, ‘विधान त बिहान १ बजेतिर नै बितिसकेको रहेछ, तर उहाँले त्यो कुरा लुकाउनुभयो र जन्ती हिँडिसकेपछि मात्रै छोराको मृत्युबारे खबर दिनुभयो।’
एउटै घर परिवारमा एकातिर जन्ती र अर्कोतिर मलामीको नरमाइलो स्थितिले आफू वाक्क भएको ती आफन्तले बताए।
विधानका माइला बुवा गोटुराज र नन्दकली आचार्यकी छोरी सुजाताको शुक्रबार नै बिहे भएको छ।
शुक्रबार बेहुलीलाई घर पठाएपछि आमाले मृत्युको खबर सार्वजनिक गरेकी थिइन्।