बाँकेको नेपालगन्ज अहिले कोरोना दोस्रो लहरको हटस्पट बन्दै गएको छ। बिहिबार चार सय ८२ को परीक्षण हुँदा तीन सय ८८ पोजेटिभ भेटिएको बाँकेमा आजै मात्र दुई संक्रमितको मृत्यु भयो।
कोरोना संक्रमितको संख्या बढेसँगै गम्भीर विरामी पनि बढ्दै जान्छन्। सामान्य संक्रमितलाई जस्तो उनीहरूलाई घरमै आइसोलेसन राख्न मिल्दैन।
नेपालगञ्जमा भने गम्भीर संक्रमितले अस्पताल नपाउने अवस्था बन्दै गएको देखिन्छ।
बाँकेमा कोरोनाका बिरामीको उपचारको लागि सरकारी मान्यता पाएका जम्मा दुई अस्पताल मात्रै छन्, भेरी अस्पताल र कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल।
अहिले नै क्षमताभन्दा बढी कोरोनाका बिरामी आइसकेको दुवै अस्पतालले जनाएका छन्।
कोरोनाका लागि भेरीमा १ सय ४२ बेड छुट्याइए पनि १ सय ६३ विरामी भर्ना भएका छन्। ती मध्ये ७० जना अक्सिजन दिनुपर्ने विरामी छन्। नेपालगञ्ज शिक्षण अस्पतालमा सामान्य र आइसियु गरी ८० बेड छन्। उक्त अस्पतालमा ६५ जना अनिवार्य अक्सिजन लगाउनुपर्ने बिरामी भर्ना छन्। यो पनि सिकिस्त बिरामीलाई मात्र लिएकाले त्यति संख्या पुगेको हो।
यी दुवै अस्पतालमा आइसियुको संख्या सिमित छ। भेरी अस्पतालमा २१ र नेपालगञ्ज मेडिकल कलेजमा ३० वटा गरि जम्मा ५१ आइसियू बेड छन्। भेन्टिलेटरसहितका आइसियु भने जम्मा ७ वटा छन्।
बेड संख्या भन्दा बिरामी बढी राख्नु पर्दा अस्पताललाई सकस भएको छ। भेरी अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले अस्पतालको क्षमता भन्दा बढी बिरामी आएपछि डाक्टर मुकदर्शक भएर बस्नेबाहेक केही गर्न नसकिने अवस्थामा पुगेको भन्दै फेसबुक स्टाटस लेखेका छन्।
सेतोपाटीसँगको कुराकानीमा सोही अस्पतालका डाक्टर पारस पाण्डेले स्थिति अनियन्त्रित बन्न थालेको बताए।
‘कि अब कोभिड बाहेकका सबै बिरामी हटाउनु पर्छ अन्यथा अब बिरामी राख्नलाई कतै ठाउँ बचेको छैन,’ उनले भने ‘अबको केही दिन भित्रै अस्पतालमा ठाउँ नहुने हुँदा हरेकले घरमै सिलिण्डर राखेर बिरामीलाई अक्सिजन दिनुपर्ने अवस्था आउन सक्छ।’
भविश्यमा सामुदायिक हलहरू,ठूला होटेलहरू सबैलाई अस्पतालका रूपमा प्रयोग गर्नुपर्ने दिन आउन सक्ने हुँदा त्यसतर्फ स्थानीय प्रशासन, स्थानीय सरकारले ध्यान दिनुपर्ने डाक्टर पाण्डेको भनाइ छ।
नेपालगञ्ज शिक्षण अस्पताल पनि बिरामीको चाप धान्न सक्ने अवस्थामा छैन।
‘हामीले गम्भीर बाहेक अरू बिरामी राख्दै राख्दैनौं, अरूलाई राख्न सक्ने अवस्था नै छैन,’ उपनिर्देशक डाक्टर श्रेष्ठले भने गम्भीर बिरामीहरुलाई समेत गेटमा कुराउनु पर्ने बाध्यता छ।’
सिकिस्त विरामी बढ्दै गएपछि बिरामीलाई चाहिने अर्को महत्वपूर्ण कुरा अक्सिजन हो। नेपालगञ्जका दुवै अस्पतालमा हेर्दा अक्सिजन लगाउनुपर्ने बिरामी संख्या झण्डै १ सय ३० पुगेको छ।
अहिले तत्कालन धान्न सक्ने अवस्था भए पनि आउँदा दिनमा अक्सिजनको अभाव हुने आकलन डाक्टर पाण्डेले गरेका छन्।
बिहीबार राति अक्सिजन सप्लायर्सले मागेजति अक्सिजन दिन नसक्दा केही बेर तनाव सृजना भएको डा. पाण्डेले बताए।
'भविश्यमा थप अक्सिजनको माग बढ्दै जाने देखिन्छ अस्पतालमा अक्सिजन अभाव सृजना हुन सक्ने खतरा छ,' उनले भने।
भेरी अस्पतालले पहिले सामान्य अवस्थामा दैनिक १५ – २० सिलिण्डर अक्सिजन खपत गर्दथ्यो। कोरोनाका बिरामी बढेपछि दैनिक दुई सय भन्दा बढी सिलिण्डर अक्सिजन आवश्यक पर्ने गरेको डा. पाण्डेले जानकारी दिए ।
भेरी अस्पतालले प्राइभेट अक्सिजन प्लाण्टहरूबाट अक्सिजन खरिद गर्दै आएको छ।
‘यही दरमा संक्रमित थपिदै जाने हो भने आउँदा दिनमा त्यतिले पुग्दैन। भारतमा अक्सिजन अभावको जुन समस्या देखिएको छ, त्यो हामीलाई पनि आउन सक्छ,’ उनले भने।
शिक्षण अस्पतालमा पनि दुईदेखि तीन सयसम्म अक्सिजन चाहिन थालेको उपनिर्देशक श्रेष्ठले बताए।
'बिरामीको चाप बढेपछि दैनिक साढे दुई सयदेखि कम्तिमा पनि ३०० सिलिण्डर जति अक्सिजन आवश्यक पर्ने गरेको छ,' उनले भने, 'नेपालगन्ज मेडिकल कलेजले यसअघि इण्डियाबाट आवश्यक अक्सिजन खरिद गरेर ल्याउने गर्दथ्यो। तर, अहिले त भारतले अक्सिजन दिन बन्द गरिसक्यो।'
नेपालगन्जकै दुई वटा प्राइभेट कम्पनीबाट आवश्यक अक्सिजन उनीहरूले खरिद गर्छन्। त्यो बाहेक कलेजको आफ्नै प्लान्ट पनि छ।
यही दरमा संक्रमित थपिदै गए कम्पनीबाट ल्याइने र आफ्नै प्लान्टको अक्सिजनले नपुग्ने उनले बताए।
'निकट भविश्यमै अक्सिजनको समस्या उत्पन्न हुने चिन्ता हामीलाई छ,' उनले भने।
श्रेष्ठले कोरोना नियन्त्रण गर्न अब पूर्ण लकडाउन नै गर्नुपर्ने बताउँछन्।
‘हामी पूर्ण लकडाउनमा जानै पर्छ,’ उनले भने ‘कतै लकडाउन गर्ने र कतै नगर्ने गर्दा झनै समस्या आउन सक्छ। मानिसको आवतजावत कम भयो भने कोरोना नियन्त्रणमा आउँछ कि भन्ने हो।’
के गर्दै छ स्थानीय प्रशासन ?
स्थानीय प्रशासनले कोरोनाबाट जोगाउन भन्दै बिहीबारदेखि नेपालगन्जमा एक हप्ताका लागि लकडाउन गरेको छ।
बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले कोरोना संक्रमण फैलिन नदिन लकडाउनले महत्वपूर्ण भूमिका खेल्ने आशा व्यक्त गरे।
प्रजिअ गेलालका अनुसार बाँकेमा सक्रिय संक्रमितको संख्या हाल २००० पुगेको छ। त्यसमध्ये ४२ जना गम्भीर छन्। ७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए।
उनका अनुसार स्थानीय प्रशासन कोभिडसँग सामना गर्न संभव भएसम्मका हरेक उपायहरू खोजी गरिरहेको छ। संक्रमितलाई छुट्टै राख्न आइसोलेसन बेड निर्माण गर्न आग्रह गरिहेको छ। गेलालका अनुसार नेपालगन्ज उपमहानगरपलिकालाई १०० आइसोलेसन बेड र अन्य हरेक पालिकाहरुलाई ५० बेड निर्माण गर्न भनिएको छ। बाँकेमा कुल ८ पालिकाहरू छन्।
स्वास्थ्य संस्थाहरूमा अस्थायी भने पनि स्वास्थ्यकर्मीको संख्या थप्नुपर्ने उनले बताए।
‘यस्तो अवस्थामा अस्पतालहरूमा अस्थायी दरबन्दी थपेर पठाउन सकेको भए राम्रो हुने थियो,’ गेलालले भने ‘त्यसरी खट्ने जनशक्तिलाई समयमै रकम उपलब्ध भएपनि धेरै हौसला मिल्ने थियो।’
'प्रदेश र संघीय सरकार मुकर्दशक बने'
नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले सीमा नाका खुकुलो भएकै कारण नेपालगन्ज कोरोनाको हट स्पट बनेको बताइन्।
‘भारतबाट आउने जानेहरूकै कारण नेपालगन्ज कोरोनाको हटस्पट बनेको हो,’ उनले भनिन् ‘इण्डियामा कोरोना व्यापक बन्दा हामी अछुतो रहने कुरै थिएन र त्यो समयमै सिल गरेको भए यस्तो अवस्था आउने थिएन।’
नेपालकै एउटा प्रमुख सीमा नाका व्यवस्थापनमा नेपालगन्ज उपमहानरपालिकाले मात्रै नसक्ने हुँदा संभावित खतरा बारे आफुहरूले समयमै प्रदेश र संघीय सरकारलाई पत्राचार गरे पनि उनीहरूले त्यसको वास्ता नगरेको उनले बताइन्।
उपमहानगरले सीमा नाकामा एउटा हेल्प डेष्क स्थापना गरेको छ।
'त्यतिमात्र पर्याप्त हुन्न अझैंपनि सीमानाका सिल भएको छैन। हुनुपर्छ,' उनले भनिन्।
नेपालगन्जमा तीव्र गतिमा कोरोना संक्रमण बढीरहँदा प्रदेश र संघीय सरकार मुकदर्शक बनेर बसेको उनको गुनासो छ।
‘नेपालगन्ज जोखिममा हुँदा राज्यले माथिबाट राज्यले सहायता गर्नु पर्दैन? ’ उनले प्रश्न गरिन ‘आजको दिनसम्म कुनै सहयोग पाएका छैनौं, जति भएको छ त्यो जम्मै स्थानीय तहको प्रयासमा भइरहेको छ।’
नेपालगन्ज उपमहानगरपालिका र आठ वटा स्थानीय पालिकाहरु मिलेर भेरी अस्पतालमा १४२ बेडको कोभिड वार्ड निर्माण गरिदिएको हुँदा त्यसैमा उपचार भइरहेको उनले बताइन। त्यस्तै उनले स्थानीय तहहरू मिलेर सहयोग मागेर भेरी अस्पतालका कोभिड बिरामीलाई २० रूपैयाँ छाक खाना खुवाउँदै आएको जानकारी दिइन्।
‘यति ठूलो समस्या आउँदा स्थानीयतहले मात्रै समस्या समाधान गर्न मुस्किल पर्छ,’ उनले भनिन् ‘कर्मचारीले तीन महिनादेखि तलब नपाएको भन्ने कुरा छ र त्यो हामीले लेखेर पठाएको कुरापनि आजसम्म सम्बोधन भएको छैन।’