दाङमा एकै दिन दुई दिदीबहिनीको झाडापखालाबाट मृत्यु भएको छ।
जिल्लाको राजपुर गाउँपालिका-६ देउखुरीमा का सहोदर दिदी बहिनी ११ वर्षीया रीता र १३ वर्षीया बिनिता बुढाको एकै दिन मृत्यु भएको हो।
प्रेम बुढाका दुई छोरीको झाडा पखालका कारण एकै दिन मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख, प्रहरी निरीक्षक राजकुमार भट्टले सेतोपाटीलाई जानकारी दिए।
‘शनिबार बेलुका स्थानीय खोलाबाट मारेर ल्याएको माछा पकाएर खाएपछि उनीहरूलाई पाखाला लागेको र उपचारकै क्रममा दुई दिदी बहिनीको मृत्यु भएको बुवा प्रेमले प्रहरीसमक्ष जाहेरी दिनु भएको छ,’ प्रहरी निरीक्षक भट्टले भने, ‘अहिले दुबै दिदी बहिनीको शव पोष्टमार्टमको लागि लमही अस्पताल लगिएको छ।
प्रहरी निरीक्षक भट्टका अनुसार दिदी बिनिताको आइतबार बिहान २ बजेतिर र बहिनी रीताको बिहान ६ बजेतिर स्थानीय स्वास्थ्य चौकीमा उपचारका क्रममा मृत्यु भएको हो।
राजपुर गाउँपालिका नेपाल–भारत खंग्रा सीमा क्षेत्रमा पर्छ। राजपुर वन जंगल र विकट भएकाले त्यहाँबाट लमहीमा उपचारका लागि ल्याउन निकै कठिन छ।
भारतमा जारी स्थानीय निर्वाचनका कारण आइतबार र सोमबार सीमा सिल भएपछि प्रेम बुढाले छोरीहरूलाई चाहेर पनि भारतका अस्पतालमा उपचारका लागि लैजान नपाएको प्रहरी निरीक्षक भट्टले बताए।
‘झाडा पखाला लागेपछि उपचारका लागि नेपाल–भारत सीमास्थित सामुदायिक स्वास्थ्य चौकीमा लगिएको रहेछ,’ बुवा प्रेमको भनाई उद्धृत गर्दे भट्टले भने, ‘त्यहीँ स्वास्थ्य चौकीमा उनीहरूको मृत्यु भएको रहेछ।’
समयमै राम्रो उपचार नपाएर आफ्ना दुई छोरीको एकै दिन मृत्यु भएको प्रेमले प्रहरीमा दिएको जाहेरीमा भनेका छन्।
जिल्लाकै विकट क्षेत्र मानिने खँग्रा नाकाबासी राज्यको आधारभूत आवश्यकताबाट वञ्चित हुँदै आएका छन्।