मालपोत कार्यालय धुलिखेल काभ्रेपलाञ्चोकले बुधबारदेखि बारअनुसारको सेवा दिने भएको छ।
कोरोना भाइरसको संक्रमण फैलिरहेका अवस्थामा सेवाग्राहीको बढी भीडभाड हुने भएकाले बारअनुसार सेवा दिने तयारी गरिएको कार्यालयले जनाएको छ।
मालपोत कार्यालय धुलिखेलका निमित्त प्रमुख टङ्प्रसाद चौलागाईंले कार्यालयबाट एकै पटक सेवा प्रवाह गर्दा कोभिड-१९ संक्रमणको बढी जोखिम हुन सक्ने अवस्थालाई ध्यानमा राखी संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी जिल्लास्तरीय कमाण्ड पोष्टको समन्वयमा स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै सेवा प्रवाह गर्न लागिएको बताए।
मालपोत अधिकृत चौलागाईंका अनुसार बनेपा र नमोबुद्ध नगरबासीले आइतबार र बुधबार, पनौती र मण्डनदेउपुर नगरबासीले सोमबार र बिहीबार तथा धुलिखेल र पाँचखाल नगरबासीले मंगलबार र शुक्रबार सेवा लिन पाउने व्यवस्था गरिएको छ।
गाउँपालिकाका सेवाग्राहीले भने हरेक दिन सेवा लिन पाउने व्यवस्था गरिएको चौलागाईंले बताए। यसअघि पनि कार्यालयले कोरोना संक्रमण फैलन सक्ने अवस्थालाई ध्यानमा राख्दै बारअनुसार सेवा प्रवाह गरेको थियो। रासस