महोत्तरीको गौशाला नगरपालिका-५ बस्ने हजारी साहको अहिले दैनिक २ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ।
उनीजस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४/१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २/३ घण्टा बिताउने गरेको बताए।
पशु हाट बजारको लागि प्रख्यात महोत्तरीको गौशाला नगरपालिका केही वर्षदेखि साइबेरियन बकुल्लाको बास स्थान बनेको छ। खास गरेर नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा रहेका दर्जनौं रूख अहिले साइबेरियन बकुल्लाले गर्दा सेताम्मे बनेका छन्।
सात समुन्द्रपारिबाट विगत १०/१२ वर्षदेखि निरन्तर प्रत्येक चैत महिनाको अन्तिम तथा वैशाखको सुरूआतसँगै इलाका प्रहरी कार्यालय गौशालामा हजारौको सङ्ख्यामा ती बकुल्ला आउने गरेको स्थानीय रविन्द्र उप्रेतीले बताए।
गर्मीको अवसर पारेर प्रजनन तथा बच्चा कोरल्न सही र उपयुक्त स्थान ठान्दै ती बकुल्ला यहाँ ५/६ महिनासम्म बस्ने गरेको उनले बताए।
जताततै सेतासेता र लामा चुच्चो भएका बकुल्ला देख्दा गौशालामा जोकोहीको मन लोभिने र घण्टौं बिताएर जाने गरेको शिक्षिका सुनिता महतोले बताइन्।
उनले ती बकुल्ला इलाका प्रहरी कार्यालय गौशालाका अग्ला-अग्ला मसला, आँप, साल, सिसौंका बोट नै छोपिने गरी बस्ने र २४ सै घण्टा विभिन्न आवाज निकालेर सबैलाई आफूतिर आकर्षित गर्ने गरेको बताइन्।
साना, ठूला बकुल्लाको झुण्ड चैत वैशाखमा यहाँ आएर गर्मीभर प्रजनन् र बच्चा कोरलेपछि असोज कात्तिकतिर जाडो सुरूआतपछि साइबेरियातिर फर्किने गरेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताए।
मेयर महतोले नेपालमा कतै पनि नभएर गौशाला नगरपालिकामा नै प्रत्येक वर्ष आउने यी बकुल्लाले गौशालालाई पर्यटन र पंक्षी विशेषज्ञलाई आकर्षित गर्न सफल भएको बताउँछन्। साथै ६ महिनाको बसाइमा बकुल्लाले यहाँको वातावरणलाई मधुर र रमणीय बनाइदिने गरेको उनको बुझाइ छ।
उनले ती बकुल्लालाई थप बास स्थान र पर्याप्त चाराका लागि गौशाला नगरभरि नै विशेष प्रकारका बिरूवा रोप्ने र खाली चौरमा विभिन्न प्रजातिका बोट बिरूवा लगाउने अभियानको थालनी गर्न लागेको बताए।
बकुल्लाले स्थानीय मानव एवम् अन्य पशुपंक्षी तथा बालीनालीमा कुनै प्रकारको क्षति र हानी नगर्ने हुनाले सबैले यसलाई मन पराउने गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताए।
स्थानीय समाजसेवी दिनेश महतोले बर्सेनि आउने यी बकुल्लालाई गौशालामै टिकाउन पर्याप्त बास स्थान र चाराको व्यवस्थापन गरी यसको संरक्षण र संवर्द्धन गर्नुपर्ने धारणा राखे।
उनले यसको संरक्षण, संवर्द्धनले गौशालाको पर्यटन बढाउन साथै विज्ञको शोधखोजको गन्तव्य बन्ने धारणा राखे।