दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालका व्यवस्थापक द्रोण वलीको फोन अचेल दिनरात नभनी तारन्तार बजिरहन्छ। फोन गर्नेहरूले भन्छन्- बेड चाहियो, अक्सिजनसहितको बेड मिलाइदिनु पर्यो।
‘म रातभर सुत्न पाउँदिनँ, खाली फोन आउँछ मलाई एउटा बेड मिलाइदिनुस, अक्सिजनसहितको बेड मिलाई दिनु पर्यो भन्छन्। मानवताको हिसाबमा पनि फोन उठाउनै पर्छ तर भनेजति सबैलाई बेड मिलाउन सक्दिनँ,’ ओलीले भने।
कोरोनाभाइरसको संक्रमण तीव्र रूपमा फैलिएपछि यतिखेर अस्पतालमा बेड पाउन मुस्किल परिरहेको छ।
अस्पतालमा भएका सबै ४२ बेड अहिले भरिएका छन्। २२ जना बिरामी कहिले बेड खाली होला र अस्पताल गएर बसौंला भनेर कुरिरहेको वलीले जानकारी दिए।
तीन दिनअघि त्यसरी प्रतीक्षामा बसिरहेका दंगिशरण गाउँपालिका-२ का एक पुरुष अस्पताल आइपुगेका थिए। तैपनि उनलाई भर्ना गर्न सकिएन। अस्पताल बाहिरै राखेर उपचारको प्रयास भइरहेको थियो।
व्यवस्थापक वलीको अनुसार ती बिरामीको रगतमा अक्सिजनको मात्रा २५ प्रतिशतमात्रै थियो।
‘हामीले यस्ता बिरामीलाई आइसियूबिना बाहिरै राखेर कसरी बचाउन सकौंला र!,’ वलीले भने।
सोमबार अस्पतालमा पुग्दा ४२ मध्ये दुई जना बिरामीलाई गम्भीर समस्या थियो। केहीबेरमा उनीहरूलाई हलिकप्टरबाट काठमाडौं लगियो।
बेलझुण्डी अस्पतालमा ५ वटामात्रै आइसियू बेड छन्। अहिले आइसियू बेड पनि खाली छैनन्। अक्सिजनबिना ती दुई बिरामीलाई उपचार गर्न सक्ने अवस्था थिएन। त्यही भएर उनीहरूलाई काठमाडौं रेफर गरिएको वलीले बताए।
बेलझुण्डी अस्पतालमा अहिले अक्सिजन नभई नहुने ३५ बिरामी छन्। त्योबाहेक जनरल वार्डमा राखिएका थप सात बिरामीलाई पनि पटक-पटक अक्सिजन दिनु परिरहेको वलीले बताए।
अस्पतालले एउटा भेन्टिलेटर स्टकका रूपमा राख्दै आएको छ। ५ वटा आइसियु बेड सञ्चालन गरिरहँदा कुनै एउटा बिग्रिए राख्न सकियोस् भनेर जगेडाको रूपमा राख्ने गरेको वलीले बताए।
‘हाम्रो एउटा भेन्टिलेटर बिग्रियो भने बायोमेडिकल इञ्जिनियर यहाँ आइपुग्न तीन दिन लाग्छ,’ वलीले भने, ‘त्यस्तोमा बिरामीको ज्यान तल-माथि नहोस् भनेर एउटा बेड जगेडा राख्नु परेको हो।’
बेलझुण्डी कोरोना विशेष अस्पताल नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद अध्ययन संस्थान केन्द्रीय आयुर्वेद विद्यापिठको हो।
लुम्बिनी प्रदेश सरकारले गत वर्ष कोरोना बिरामीको उपचारका लागि भनेर विद्यापिठको भवनमा अस्पताल सञ्चालन गर्ने निर्णय गरेको हो।
गत वर्ष यो भवन पुरै कोरोनाको उपचारका लागि प्रयोग भएको थियो। त्यतिखेर यो अस्पतालमा १०० बेड थिए। तर, यो बीचमा (गत माघ-फागुन) कोरोना संक्रमित घटे। त्यतिपछि विद्यार्थीको मागबमोजिम भवनको दोस्रो र तेस्रो तलामा पुनः पढाइ सुरू भयो।
अहिले कोरोना उपचारका लागि भवनको भुइँ तलामात्रै प्रयोग गरिएको छ। उक्त तलामा २५ बेडमात्रै थिए। तिनैलाई बढाएर ३५-४० हुँदै पछिल्लो समय बिरामीको चाप बढेपछि ४२ बेड राखिएको व्यवस्थापक वलीले बताए।
संक्रमण दिनदिनै बढिरहेको भए पनि कोरोना विशेष अस्पताल पूर्ण क्षमतामा चलाइएको छैन। प्रदेश सरकार, स्थानीय सरकार र प्रशासनको लापरबाहीले गर्दा अस्पताल पहिलेजस्तै पूर्ण क्षमतामा चलाउन नसकिएको वलीले बताए।
‘तुलसीपुरका मेयरसाबले आजैदेखि दोस्रो र तेस्रो तलाको चाबी लिइहाल्नू, मैले संस्कृत विश्वविद्यालयका भिसीसँग कुरा गरिसकेको छु भन्नु त भएको हो,’ वलीले भने ‘तर, त्यहाँ विद्यार्थीका अभ्यास गर्ने कोठा र आवश्यक सामग्री छन्, ती हामीले कहाँ लगेर थन्क्याउने।’
लिखित रूपमा पत्र नआएसम्म कर्मचारीको तहबाट कुराकै भरमा पुरै भवन कोरोना उपचारका लागि प्रयोगमा ल्याउन कठिन हुने उनले बताए।
अर्को ठूलो समस्या अक्सिजनको अभाव हो। दाङमा अक्सिजन प्लान्ट छैन। घोराहीमा एउटा प्लान्ट रहे पनि त्यो हाल बन्द छ। बिरामीलाई आवश्यक अक्सिजन बेलझुण्डी अस्पतालले बाँकेबाट किनेर ल्याइरहेको छ। ४२ जना बिरामीका लागि दैनिक १२० सिलिन्डरसम्म अक्सिजन चाहिन्छ।
व्यवस्थापक वलीका अनुसार भनिएजस्तै गरी सबै भवन कोरोना उपचारकै लागि प्रयोग भए ७० बेड पुर्याउन सकिन्छ। तर, त्यसो गर्दा अक्सिजन सिलिन्डर दैनिक कम्तीमा २ सयसम्म आवश्यक पर्न सक्छ। यो कुरा उनले स्थानीय सरकार, प्रशासन र प्रदेश सरकारलगायत सरोकारवाला सबैलाई अवगत गराइसकेको भए पनि व्यवस्थापनका लागि कतैबाट पहल भएको छैन।
‘बेडमात्रै थपेर भएन, बिरामीका लागि अति आवश्यक अक्सिजनको व्यवस्थापन कसरी गर्ने भन्ने समस्या छ,’ वलीले भने, ‘हामी हार-गुहार गरिरहेका छौं, हाम्रो आवाज कसैले सुनिरहेको छैन।'
कोरोना बिरामीका लागि अति नै आवश्यक मानिने अक्सिजनको व्यवस्थापन हुन नसक्ने र अस्पतालमा बेड पनि नथप्ने हो भने आफूहरूजस्ता व्यवस्थापनमा खटिएका कर्मचारी मोबाइल स्वीच अफ गरेर भाग्नु पर्ने अवस्था आउन सक्ने उनले बताए।
‘धमाधम आइरहेका संक्रमित छटपटाइरहेको हाम्रो आँखाले देख्न सक्दैन,’ उनले भने, ‘बरू मोबाइल अफ गरेर भाग्नु सजिलो।'
अस्पतालको कम्पाउन्डमा कम्तीमा हजार वटा अक्सिजन सिलिन्डर स्टक भए काम गर्न सजिलो हुने उनले बताए।
‘बेलझुण्डी अस्पतालमा बेड छैन, अक्सिजन छैन भन्ने परिस्थिति आउनु पहिले स्थानीय, प्रदेश र संघीय सरकार गम्भीर बन्न जरुरी छ,’ वलीले भने।
प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पताल सुरूमा १०० बेडको थियो। वलीका अनुसार अब त्यति नै क्षमताको अस्पताल बनाउन सम्भवन छैन।
अहिलेका बिरामी पहिलेभन्दा फरक किसिमले आउने गरेको उनले बताए।
‘हिजोका बिरामी खासै लक्षण नभएका, सामान्य प्रकृतिका र आइलोसनमा बस्ने गरी आउथे,’ वलीले भने, ‘यसपालि आउने बिरामी गम्भीर हुन्छन्। अक्सिजनबिना उपचार गर्न सकिन्न, एउटा बिरामीलाई दुइटा सिलिन्डर अक्सिजन चाहिन्छ।’
दाङमा अक्सिजन प्लान्ट नहुनु र नेपालगञ्जबाट ल्याउनु पर्ने बाध्यताले गर्दा आउने दिनमा अक्सिजनको हाहाकार हुन सक्ने वलीको चिन्ता छ।
गत वर्ष अस्थायी दरबन्दीका भए पनि अस्पतालमा एक सय ७१ जना स्वास्थ्यकर्मी थिए। उनीहरू सबैको दरबन्दी कटौती भइसकेको छ। अहिले अस्पतालमा १८ स्टाफ नर्स र सात चिकित्सक छन्।
जनशक्ति अभावारे चैत २४ गते नै प्रदेश सरकारलाई पत्राचार गरिसकेको भए पनि हालसम्म सुनुवाइ नभएको वलीले गुनासो गरे।
‘१८ जना नर्सले ४२ जना बिरामीलाई हेरचाह गर्न निकै कठिन छ,’ वलीले भने ‘ एउटा नर्सले औषधी दिन थाल्यो भने ४२ जनालाई ३ देखि ४ घन्टासम्म लाग्ने गर्छ। त्यसले गर्दा स्वास्थ्यकर्मीले एक समय आरामसमेत गर्न पाएका छैनन्।’
उनले स्वास्थ्यकर्मीलाई खानपिनको व्यवस्थापन नभएको पनि गुनासो गरे।
‘यहाँ कार्यरत स्वास्थ्यकर्मी खाना खान घर जानुपर्ने अवस्था छ,’ वलीले भने ‘ स्वास्थ्यकर्मी खानाकै लागि घरमा ओहोर दोहोर गर्दा त्यसले संक्रमणको जोखिम झनै बढाएको छ।’
उनले आफूहरू अहिलेको कठिन परिस्थितिमा दैनिक १८ देखि २४ घन्टा सम्म पनि काम गर्न तयार रहेको तर त्यसका लागि राज्यले आवश्यक कुरा पूरा गरिदिनु पर्ने बताए।