डोटीको शिखर नगरपालिका-१ अन्तरगतको तेछाडा गाउँ सिल गरिएको छ।
केही दिन पहिले छिमेकी मुलुक भारतबाट काम गरी गाउँ फर्किएकी २८ वर्षीया जानकी नागरिकको मृत्यु भएपछि कोरोनाका कारण मृत्यु भएको हुनसक्ने भन्दै उक्त गाउँ सिल गरिएको हो।
वडाध्यक्ष खडकबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्ति प्रकाशित गरी सो गाउँको पूर्वतिरको गणेश नेगीको पसल, पश्चिम ढल्कना, उत्तरतीर चौपाता पिपल तथा दक्षिणतीर धौल्याल खोलासम्म सिल गरिएको जनाइएको छ।
यसैगरी, उक्त गाउँबाट अर्को गाउँ जान तथा अर्को गाउँबाट उक्त गाउँमा आवतजावत गर्नमा यही २० गतेसम्म बन्देज गरिएको छ।
जिल्लामा पछिल्लो समय भारतबाट काम गरी घर फर्किएका नागरिक आउने क्रम बढ्नुका साथै उनीहरू क्वारेन्टिन नबसी सिधै गाउँ जान थालेका कारण गाउँमा कोरोना संक्रमण बढ्ने भन्दै स्थानीयबासीमा त्रास फैलिएको छ।
जिल्लामा कम्तीमा पनि एक हजारभन्दा बढी नागरिक भारतबाट रोजगारी गरी घर फर्किएको बताइएको छ।
सुपमा १८६ औलो रोगी फेला
सुदूरपश्चिम प्रदेशमा १८६ जना औलो रोगका बिरामी फेला परेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो।
निर्देशनालयका अनुसार यहाँका छ जिल्लामा चालु आर्थिक वर्षमा करिब १८६ जना औलोरोगका बिरामी फेला परेका छन्। औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहे पनि यहाँका छ जिल्लामा अझै औलो रोग पूर्णरूपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मी बताउँछन्।
प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज अवस्थीकाअनुसार औलोका बिरामी सबभन्दा बढी प्रदेश राजधानीसमेत रहेको कैलाली जिल्लामा फेला परेका छन्।
उनका अनुसार कैलालीमा चालू आर्थिक वर्षमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन्।
जिल्लामा स्थानीयभन्दा पनि आयातित औलोका बिरामी बढेको निर्देशनालयको दाबी छ।
चालु आर्थिक वर्षमा ११५ आयातित औलोका बिरामी रहेको जनाइएको छ।
प्रदेशमा आर्थिक वर्ष २०७६/७७ मा ३२० औलोका बिरामी थिए। जसमध्ये २५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए। प्रदेशमा आयातित औलोका सबभन्दा बढी बिरामी कैलालीमा पाइएको छ।
यहाँका जिल्लामा आयातित औलोका बिरामीको सङ्ख्या भने क्रमिकरुपमा कम हुँदै गएको छ। रासस