जंगलको आगो बस्तीमा पुग्दा रोल्पामा ४१ घर गोठ जलेर नष्ट भएका छन्।
आगलागीबाट त्रिवेणी गाउँपालिका वडा नं. २ पिराले गाउँको बस्ती नै सखाप भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले सेतोपाटीलाई बताए।
‘एक दुइटा जस्तापाताको छानो भएका घरबाहेक त्यो गाउँका सबै घरगोठ आगोले सखाप भएको छ,’ उनले भने, ‘मानिसहरू बारीको पाटा र खुला आकाशमुनि बस्न बाध्य छन्।’
फुसको छानायुक्त घर क्षणभरमै आगोले खरानी भएपछि ३५ घरपरिवार खुला आकाशमुनि बसेका छन्।
पिराले गाउँमा फुसका छानायुक्त २६ वटा घर र १५ वटा जति गोठ आगोले सखाप पारेको डिएसपी सुवेदीले बताए।
‘सबै जलेर खरानी भयो,’ उनले भने ‘ स्थानीयले ज्यान जोगाउन सफल भए पनि घरभित्र रहेका अन्नपात, लत्ताकपडा, गरगहना तथा पैसाजस्ता चिज वस्तु बचाउन सकिएन।’
डिएसपी सुवेदीका अनुसार सोमबार दिउँसो वडा नं. २ को चेत्रे डाँडामा आगो लागेको थियो ।
त्यो आगो बस्तीमा जान नपाओस् भनेर बस्ती बचाउने प्रयास गरिरहँदा विपरीततर्फको अर्को अग्लो डाँडोमा आगो हावाको माध्यमबाट फैलिएको थियो। त्यही आगो पिराले बस्तीमा पुगेको डिएसपी सुवेदीले बताए।
‘मंगलबार बेलुका साढे ४ बजेदेखि आगो मानव बस्तीमै पुग्यो,’ डिएसपी सुवेदीले भने, ‘अग्लो भू-भाग रहेको हुँदा तीव्र गतिमा चल्ने हावाका कारण जति प्रयास गर्दा पनि बस्ती जोगाउने प्रयास सम्भव भएन।’
त्यही आगो पछिल्लो समय वडाका विभिन्न ५ वटा सामुदायिक वनमा फैलिएको उनले बताए।
पिराले गाउँबाहेक वडाकै बर्तिबाङ गाउँमा ९, चेत्रे गाउँमा ४ र ३ नम्बर वडामा ३ वटा घर गोठहरू जलेर नष्ट भएको पत्रकार पहलमान घर्तीले जानकारी दिए।
उनले तत्कालीन नुवागाउँ गाविसका १, २, ३, ४ वडामा आगो फैलिएको छ।
उक्त आगलागीबाट १६ वटा बाख्रा, ७ वटा गाई, एउटा बंगुर जलेर मरेको डिएसपी सुवेदीले जानकारी दिए।
आगलागी भएको बस्तीमा खानेपानी, बिजुली बत्ती अवरूद्ध भएको छ।
त्रिवेणी गाउँपालिकाबाट सुरू भएको आगलागी रुन्टीगढी गाउँपालिकाको ९ नम्बर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको हुँदा त्यहाँ बस्ती जोगाउनका लागि सुरक्षाकर्मी खटिएको डिएसपी सुवेदीले जानकारी दिए।
सर्पाल गुनाम लगायत ठाउँका ३ सय बढी घर आगलागीको उच्च जोखिममा रहेको हुँदा आगो नियन्त्रण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीय सर्वसाधारण समेत खटिएको जानकारी दिए।
नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले अग्नि पीडितलाई चिउरा, चाउचाउ, त्रिपालजस्ता राहत वितरण गरेका छन्।
बस्तीमा लागेको आगो नियन्त्रण आइसकेको र जंगलको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको डिएसपी सुवेदीले जानकारी दिए।
आगो ३ सय हेक्टरभन्दा बढी जंगल क्षेत्रमा फैलिएको अनुमान गरिएको छ।
आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको डिएसपी सुवेदीले सेतोपाटीलाई बताए।