कास्कीको विकट क्षेत्र मानिने मादी गाउँपालिका-१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा सुरू भएपछि स्थानीयबासी उत्साहित भएका छन्।
सो प्राथमिक स्वास्थ्य केन्द्रमा अहिले तीन जना एमबिबिएस चिकित्सकले उपचार सेवा प्रदान गर्न सुरू गरेसँगै १२ वडा रहेको गाउँपालिका र छिमेकी जिल्ला लमजुङको उत्तर पश्चिमी क्षेत्रका नागरिकले समेत स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
विसं २०७२ देखि आधारभूत स्वास्थ्य सेवा दिइँदै आइएकामा यस वर्षदेखि गाउँपालिकाले स्रोत व्यहोर्ने गरी एक र नेपाल सरकारको छात्रवृत्तिबाट दुई गरी तीन जना चिकित्सकले सेवा दिन सुरू गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद सापकोटाले बताए।
हालैमात्र नेपाल सरकारको रु सात करोड ७१ लागतमा प्राथमिक स्वास्थ्य केन्द्रको सुविधासम्पन्न भवन निर्माण भएर सोही भवनबाट सेवा सुरू भएसँगै उपचार सेवा प्रवाहमा सहज भएको बताइन्छ। यसअघि भाडाको घरबाट सेवा दिइएको थियो।
सडक पूर्वाधार र पोखरासँगको पहुँचका हिसाबले विकट गाउँमा चिकित्सकसहितको स्वास्थ्य सेवा प्रवाह भएपछि स्थानीयबासी खुसी छन्।
स्थानीय महिला सञ्जालका अध्यक्ष सिर्जना अर्यालले जिल्लाको दुर्गम भेग भनेर चिनिएको ठाउँमा सुविधासम्पन्न अस्पतालको सेवा सुरू भएसँगै उपचार अभावमा अकालमा ज्यान गुमाउनुपर्ने दुःखद् अवस्थाको अन्त्य भएको बताइन्।
विगतमा गाउँमा स्वास्थ्य सेवा नहुँदा बिरामीलाई पोखरासम्म पुर्याउन सास्ती व्यर्होनुपरेकामा हाल गाउँमै उपचार भएपछि आफूहरू लाभान्वित बनेको उनी बताउँछिन्।
उनले भनिन्, ‘सामान्य उपचार नआउँदा विगतमा हाम्रा दिदीबहिनी दाजुभाइले ज्यान गुमाउनुको पीडा हाम्रा आँखै अगाडि ताजै छ। अब गाउँमै अस्पताल बनेपछि हामी औधी खुसी भएका छौं, मादीको मुहार नै परिर्वतन भएको छ।’
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गोपालचन्द्र बरालले ४६ कोठाको स्वास्थ्य केन्द्रमा दुई प्राइभेट र १२ जनरल गरी १४ शय्या सञ्चालनमा रहेको जानकारी दिए।
उनका अनुसार स्वास्थ्य केन्द्रबाट एक्सरे, इसिजी, प्रयोगशाला सुविधा उपलब्ध भइरहेकामा केही महिनाभित्रमा भिडियो एक्सरे सेवा सुरू गर्ने तयारी छ।
सो स्वास्थ्य केन्द्रमा हाल तीन एमबिबिएस चिकित्सक, अहेव तीन, स्टाफ नर्स एक, प्रयोगशाला प्राविधिक एक र कार्यालय सहयोगी तीन जना कार्यरत छन्।
गाउँपालिका अध्यक्ष बेदबहादुर गुरूङ (श्याम) ले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गरिने उपचार सेवालाई विस्तार गर्दै लगिएकाले पूर्वी मादीका जनतालाई सहज भएको बताए।
नेपाल सरकारको ‘एक स्थानीय तह एक अस्पताल’को योजनाअनुसार मादीकै वडा नं ७ को छाचोक (खन्टारी) मा १५ शय्याको स्वास्थ्यचौकी निर्माणको शिलान्यास भइसकेकाले मादीका सबै वडाका नागरिकलाई सहजरूपमा गाउँमै स्वास्थ्य उपचार सेवा उपलब्ध हुने अध्यक्ष गुरुङको भनाइ छ।
उनले भने, ‘पछाडि परेको गाउँपालिकामा अहिले विकासले गति लिएको छ। स्वास्थ्य संस्थासहित पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरेका थियौं। यसको परिणामसमेत देखिँदै गएको छ, जनताले परिर्वतनको अनुभूति गरेका छन्।’
गाउँपालिकाले यसै वर्ष दुइटा एम्बुलेन्सको व्यवस्था गरेको छ।
एउटा गाउँपालिकाको आन्तरिक स्रोतबाट खरिद गरिएको र अर्को भारतीय राजदूतावासको सहयोगमा एम्बुलेन्स सेवा गाउँमा सुरू गरिएको प्रशासकीय अधिकृत सापकोटाले जानकारी दिए।
उनले भने, ‘जनतालाई अस्पतालसम्म पुर्याउन सहज होस् भनेर यसै वर्ष दुइटा एम्बुलेन्सबाट सेवा दिन सुरू गरेका छौं। एउटा गाउँपालिकामा र अर्को प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको छ। आवश्यकतानुसार जनताको सेवामा सहुलियत दरमा प्रयोग गर्ने गरिएको छ।’ (रासस)