डाक्टर जितेन्द्रराज कोइराला दाङको कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा गत वर्षदेखि कार्यरत छन्।
उनले मेडिकल अधिकृतको काम थालेको ११ महिना बढी भइसकेको छ।
महामारीको रूपमा फैलिएको कोरोनाभाइरसको संक्रमणका कारण अहिलेको अवस्था झनै नाजुक छ।
गत वर्ष सुरूमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि उनीहरूलाई छात्रवृत्ति करार सेवामा नियुक्ति दिएर बेलझुण्डी पठाइएको थियो।
त्यतिबेला पनि उनले खटेर काम गरे। बीचमा कोरोना हरायो भन्ने भएको थियो। फेरि, पछिल्लो एक महिनायता संक्रमित बढेका बढ्यै छन्। जसले गर्दा बिरामीलाई अस्पतालमा बेड पाउनै मुस्किल पर्न थालेको छ। त्यसैले पहिलेभन्दा यतिखेर कामको चाप धेरै छ।
बेलझुण्डी अस्पतालमा गत वर्ष कर्मचारी, चिकित्सक र स्वास्थ्यकर्मी एक सय ७१ जना थिए। गत फागुनदेखि त्यो संख्यामा धेरै कटौती गरियो। यखिखेर बेलझुण्डी जम्मा १७ नर्सिङ स्टाफ र ७ जना चिकित्सकमात्रै छन्।
अहिले अस्पतालमा ६ मेडिकल अधिकृत छन्।
२/२ जनाले सिफ्ट बाँडेर तीन सिफ्टमा बिरामीको उपचार र हेरचाह गर्दै आएका छन्।
एउटा सिफ्ट कहिले २४ घन्टाको हुन्छ, कहिले ४८ घन्टाकै पुर्याउँछन्।
'कहिलेकाहीँ कोही बिदामा भए अर्कोले ७२ घन्टासम्म काममा खट्नु परेको अनुभव हामीसँग छ,' डाक्टर कोइरालाले भने।
त्यस्तोमा उनीहरू आराम त के सुत्नसम्म पनि पाउँदैनन्। अस्पतालमा आउनेबिरामीमध्ये अधिकांश गम्भीर अवस्थाका हुने भएकोले रातदिन रेखदेखमा खटिनु पर्छ।
डाक्टर कोइरालाका अनुसार पहिला अलि राम्रो सिस्टम थियो। १४ दिन बिरामीको उपचारमा खटिएर काम गरे पनि उनीहरु अस्पतालमै बस्थे र त्यहीँ खान्थे। १४ दिनपछि चिकित्सक पनि अनिवार्य आइसोलेनमा बस्थे।
'अहिले सरकारले सुविधा कटौती गरेको छ,' उनले भने, 'चिकित्सकका लागि आइसोलेसनको व्यवस्था हटाइएको छ।'
चिकित्सक तथा स्वास्थ्यकर्मी ड्यूटी सकेर खान र बास बस्नका लागि घरै जान्छन्।
त्यसरी आवत-जावत गर्दा उनीहरूको सम्पर्कमा आउने व्यक्तिलाई संक्रमणको जोखिम उच्च रहन्छ।
आफ्नै सवारी साधन नभएका कतिपय स्वास्थ्यकर्मी र चिकित्सक सार्वजनिक सवारीमार्फत् घर जान्छन्। कोठादेखि अस्पतालसम्म उनीहरू आवत-जावत गर्दा पनि संक्रमणको जोखिम उच्च छ।
अस्पतालभित्र बिरामीको एकदमै कहालीलाग्दो अवस्था भएको उनी बताउँछन्। घरमा बसिरहेका सर्वसाधारणले अस्पतालभित्र संक्रमितको छटपटी र चित्कार देख्न र सुन्न पाउँदैनन्।
'कोरोनाले दिने पीडा जति चिकित्सकलाई थाहा हुन्छ, त्यति सर्वसाधारणलई थाहा हुँदैन,' उनले भने, 'अस्पतालभित्र हामी जानेबित्तिकै बिरामी बचाउनुस् भन्दै रूने गर्छन्।'
त्यो पीडादायी क्षण देख्दा उनलाई निकै नरमाइलो लाग्ने गर्छ। बिरामीलाई बचाउन हरेक चिकित्सक मेहनत गर्छन। सम्भव भएसम्म उपलब्ध स्रोत साधन प्रयोग गर्छन्। तै पनि कति बिरामी उपचारका क्रममा मृत्युको मुखमा पुग्छन्।
मानिस आफ्नोसामुन्ने मेरेको देख्दा डाक्टर कोइरालाई पनि मैले केही गर्न सकिनँ कि! भन्ने अनुभूति हुने गर्छ।
बिरामीले डाक्टरलाई भगवान ठान्छन्।
‘आफूले जानेको, पढेको, सिकेको सीप सबै कुरा गर्दागर्दै पनि बिरामीको अवस्थामा सुधार नआउँदा नमज्जा लाग्छ,’ उनले भने।
त्यस्तै बिरामीका आफन्तले अवस्था बुझ्न खोज्दा बिरामीको अवस्था राम्रो छैन भन्न पनि गाह्रो हुने उनी बताउँछन्।
यो बीचमा एक जना ६० वर्षीय पुरुषले उनको हात समातेरै प्राण त्यागे। त्यो पलले अहिले पनि उनलाई बिथोलिरहन्छ।
‘त्यो मेरो जीवनकै नमिठो घटना हो, जसलाई म चाहेरै पनि भुल्न सक्ने छैन,’ उनले भने ‘उहाँ बलियो अठोट भएका व्यक्ति हुनुहुन्थ्यो। गम्भीर हुनुभन्दा पहिलासम्म म कोरोना जितेर घर फर्किन्छु भन्ने गर्नु हुन्थ्यो।’
डाक्टर कोइरालालगायत अन्य स्वास्थ्यकर्मीले पनि उनलाई सकारात्मक रूमपा ढाडस दिँदै आएका थिए।
तर उनको अवस्था एकाएक बिग्रियो र मृत्यु भयो।
कोरोना विशेष अस्पतालमा बिरामीको उपचार गर्दागर्दै ६ जना मेडिकल अधिकृतमध्ये ५ जना संक्रमित भइसकेका छन्।
अस्पताल र बिरामीमात्र होइन उनलाई घरको पनि चिन्ता छ। टाढा भएकाले घरको न्यास्रो लागिरहन्छ। पोखराका उनी पछिल्लो समय घर नगएको पनि चार महिना भयो। कोरोना संक्रमितको उपचारमा दिनरात खटिएका डाक्टर कोइरालालाई परिवारका एक्ला छोरा हुन्। पोहोर साल नै आमाबुवाले कोरोना विशेष अस्पतालमा नजान आग्रह गरेका थिए। नियुक्ति पत्र बनेपछि पनि खान लाउन नपुग्ने छैन। दुई-चार वर्ष काम नगरे पनि केही हुन्न भनेका थिए।
‘थाहै नभएको रोग छ। खतरा हुन्छ रे भन्ने गर्नुहुन्थ्यो। डराउनुभएको थियो,’ उनले भने।
अहिले पनि कोइरालाका बुवाआमा बिदामा घर आउन आग्रह गरिरहन्छन्।
यस्तो अवस्थामा बिदा बस्न उनको मनले मानिरहेको छैन। चिकित्सक र स्वास्थ्यकर्मीजस्ता दक्ष जनशक्तिको चरम अभाव रहेको बेला बिदा लिएर आफू र घर परिवारको लागि घर जानु उपयुक्त होइन भन्ने उनी ठान्छन्।
‘घर परिवारभन्दा पनि अहिले मेरो आवश्यकता अरू बिरामीलाई छजस्तो लाग्छ,’ कोइरालाले भने, ‘त्यही भएर घर गएको छैन, ४/५ महिना भयो। म यही अस्पतालमै खटिँदै आएको छु।’
देश र बिरामीको सेवा गर्नको लागि डाक्टरी पढ्नेले अप्ठेरो आइलाग्दा डाक्टर, स्वास्थ्यकर्मी घरमा बस्न नमिल्ने उनको भनाइ छ।
एक सिफ्टमा ४८ घन्टादेखि ७२ घन्टासम्म काममा खटिनु पर्दा, सुत्न नपाएर अस्पतालबाट निस्कनु पर्दा कहिलेकाहीँ उनको विश्वास डगमगाउन खोज्छ। उनी फेरि सम्हाल्निछन्।
व्यक्तिगत स्वार्थभन्दा बिरामीको अवस्था हेरेर काममा खटिने गरेको उनी बताउँछन्।
‘घर गएर आरामले मम्मीले पकाएको खाएर सुत्न पाए कस्तो हुँदो हो? भन्ने सोच कहिलेकाहीँ आउने गर्छ,’ उनले भने, 'तर छटपटाइरहेका बिरामी सम्झेर सम्हालिन्छु।'
डाक्टर कोइरालाई कोरोना विशेष अस्पताल बेलझुण्डीमा दक्ष जनशिक्तको अभाव भएको छ। बिरामीको संख्या दिनहुँ बढ्दै गएको हुँदा जनशक्ति थप गर्नु पर्ने आवश्यकता उनले औंल्याए। त्यस्तै उनले बिरामीको मागअनुसार अक्सिजन पनि भनेको समयमा नआउने गरेको गुनासो गरे।
स्थिति निकै नाजुक छ। तर साथीभाइको सकारात्मक टिप्पणीले उनलाई सन्तोष मिल्छ/उर्जा थप्ने गर्छ।
‘यस्तो बेलामा खटेर काम गरिराखेको छस, तैंले राम्रो गरेको छस् भन्ने कुरा सुन्दा राम्रो लाग्छ,’ उनले भने।
भाग्यवस अहिलेसम्म उनी संक्रमित भएका छैनन्। त्यसमा उनले आफूलाई भाग्यमानी ठान्छन्।
‘हुन त सावधानीपूर्वक काम गरेको छु,’ डाक्टर कोइरालाले भने ‘मेरो रोग प्रतिरोधात्मक क्षमता पनि राम्रै थियो सायद, तर म त्यसमा घमण्ड गर्दिनँ। यसमा सबैले सर्तकता अपनाउनै पर्छ। अनिमात्र बचिन्छ।’
भाग्यले आफूलाई अहिलेसम्म साथ दिएको ठान्ने उनले भविष्यमा पनि संक्रमित नभएरै बिरामीको सेवा गरिरहन पाउँ भन्ने कामना गरे।
उनले कोरोनालाई खेलाँचीका रूपमा नलिन आग्रह गरे।
‘घरमा बसेकोलाई थाहा हुँदैन,’ उनले भने ‘हामीले अस्पतालभित्र दैनिक सास फेर्नैका लागि बिरामी तड्पिरहेको देखेका छौं, बिरामी छट्पटाइरहेका देखेका छौं त्यसैले यसलाई कसैले खेलाँची ठान्नुहुन्न।’