दाङको तुलसीपुरस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीमा बेड अभावले शुक्रबार साँझ पाँच जना कोरोना संक्रमित बिरामीलाई अस्पताल बाहिरै अक्सिजन दिएर राखिएको छ।
उनीहरू तुलसीपुर उपमहानगरपालिका र घोराही उपमहानगरपालिकाका बिरामी रहेको बेलझुण्डी अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिए।
‘अघिसम्म ६ जनालाई अस्पतालबाहिरै राखेर अक्सिजन दिइरहेका थियौं,’ वलीले भने, ‘बेलुका ५ बजेतिर एक जनालाई भित्र लगेपछि अब पाँच जना बिरामीको बाहिरै अक्सिजन दिएर उपचार भइरहेको छ।’
व्यवस्थापक वलीले अस्पतालभित्र ४२ बेड रहे पनि ४३ जनालाई राखेर उपचार भइरहेको बताए।
‘अधिकांश बिरामी गम्भीर अवस्थामा आउनु हुन्छ, अक्सिजन नलगाई हुँदैन,’ वलीले भने, ‘बिरामी छटपटाएको र बिरामीका आफन्त रोइकराइ गरेको हेर्न नसकेर अस्पतालबाहिरै राखेर भए पनि उपचार थालेका हौं।’
अक्सिजन नै अहिलेका बिरामीको प्राण धान्ने उपाय भएको हुँदा बरू अस्पतालबाहिरै अक्सिजन दिएर भए पनि बचाउन आफूहरूले प्रयास गरिरहेको वलीले बताए।
यीबाहेक अन्य केही बिरामीले पनि बेडको लागि फोन गरेको भए पनि आफूले कुनै जवाफ दिन नसकेको उनले बताए।
‘बिरामी ल्याउनुहोस् भनौं बेड छैन, बेडमात्रै हैन अक्सिजन पनि पर्याप्त छैन,’ वलीले भने, ‘सिडिओसाप अघि आउनु भएको थियो। मैले उहाँलाई अक्सिजनको लागि पहल गरिदिन आचना गरेको छु।’
बिरामीको संख्या बढ्दै जान थालेपछि आफूले दैनिक कम्तीमा पनि ३०० सिलिण्डर अक्सिजन ग्यासको माग गरेको भए पनि नेपालगञ्जको सप्लायर्सले दैनिक एक सय २०/३० सिलिण्डरभन्दा बढी मात्रामा उपलब्ध गराउन नसक्ने बताएको हुँदा समस्या भइरहेको वलीले बताए।
‘तपाईं चार वटा सिलिण्डर झार्दिनुस् म थप एउटा बिरामी भर्ना गर्छु भनेर मैले सिडिओ सापलाई भनेको छु,’ वलीले भने, ‘अक्सिजन अभावमा अस्पतालभित्र बेडका गम्भीर बिरामीको अवस्था तलमाथि भए कसले जिम्मा लिने हो?’
बिरामीको अवस्था बुझ्न प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेल बेलझुण्डी अस्पताल पुगेका थिए। बाहिरै राखेर उपचार भइरहेको देखेपछि सोधपुछ गरेका थिए।
त्यसपछि प्रजिअ पौडेलले तत्कालै नेपाली सेनालाई सम्पर्क गरी अस्पतालमा बेड विस्तारका लागि बोलाएका थिए।
वलीले त्यसपछि ३० जना नेपाली सेना आएर बेड विस्तार गर्नका लागि काम गरिरहेको जानकारी दिए।
‘सकभर हामी रातिमा यी बिरामीलाई बाहिर नराख्नका लागि प्रयास गर्नेछौं,’ उनले भने, ‘हामीहरू निकै दबाब र अप्ठ्यारोमा रहे पनि बिरामीलाई बचाउन प्रयास गरिरहेका छौं।’
बाटोमै संक्रमितको मृत्यु
दाङमा शुक्रबार एक संक्रमितको बाटोमै मृत्यु भएको छ। तुलसीपुर १२ की ७० वर्षीया संक्रमित महिलाको उपचारका लागि बेलझुण्डी ल्याउने क्रममा बाटोमै मृत्यु भएको व्यवस्थापक वलीले बताए।
उनको दुई दिनदेखि घोराहीस्थित बुद्ध हस्पिटलमा उपचार भइरहेको र कोरोना पोजेटिभ भएपछि उक्त हस्पिटलले डिस्चार्ज गरेको हुँदा बेलझुण्डी ल्याउने क्रममा बाटोमै मृत्यु भएको वलीले जानकारी दिए।